भुकम्प प्रभावित जुनीचाँदेमा औषधी अभाव

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भुकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाँउपालिकामा औषधीको अभाव भएको छ । भुकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुुनीचाँदे गाँउपालिकाका बासिन्दा विरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् । स्वास्थ्य संस्था औषधी विहिन हुँदा पनि सम्बन्धित निकाय यस बारे वेखवर जस्तै छन् । पालिकाको गंभिर लापरवाहीका कारण औषधी अभाव भएको हो ।

दिनप्रतिदिन चिसो बढिरहेको छ । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या लिएर विरामीहरु स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा विरामी रित्तो हात फर्कन बाध्य छन् । औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयमले बताएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा विरामी संख्या बढ्दै गएको भएपनि औषधी नभएको बताईन । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको स्वासप्रस्वास सम्बन्धि समस्या बढ्दै गएको भएपनि औषधी नहुँदा उपचार गर्न नसकिएको बताईन । स्वास्थ्य संस्थामा सिटामोल समेत छैन । विरामीले निशुल्क पाउने औषधी समेत दिन सकेका छैनौ । उनीहरु रित्तो हात फर्किन बाध्य छन् उनले भनिन ‘भुकम्प पछि चिसोका विरामीको संख्या बढ्दै गएका छन तर लामो समय देखि औषधी आएको छैन ।’

जुनीचाँदे गाँउपालिका ६ दहकरुवा आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमला कुमारी शाहीले पनि औषधी अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताईन । उनले गाँउपालिकामा औषधीको माग गरेपनि आउन नसकेको बताईन । उनले भनिन–‘चिसोका विरामी दैनिक १०÷१२ जना आउँछन् तर औषधी नहुँदा उपचारमा समस्या परेको छ । चिसोले सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित भएका छन् । औषधी नहुँदा कतिपय विरामीहरु स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेका छन् ।’
दादुरा–रुबेला र टाइफाईड विरुद्धको खोप कार्यक्रमको लागि अभिमुखिकरण कार्यक्रमका लागि छेडागाड नगरपालिकाको मनघाटमा आएका जुनीचाँदे गाँउपालिकाका अधिकाँश स्वास्थ्यकर्मीले औषधीको अभाव रहेको बताएका छन् ।

जुनीचाँदे १ मजकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले औषधीको अभाव रहेको बताईन । उनले निमोनिया र दमका विरामी बढेको बताईन । दैनिक २०÷२५ जना चिसोका विरामी स्वास्थ्य संस्था आउने गरेको उनले सुनाईन । तर औषधी नहुँदा विरामीहरु रित्तो हात फर्कन बाध्य हुने गरेका छन् उनले भनिन–‘चिसोले विरामी पर्न थालेपछि त्रिपालमा बस्दै आएका धेरैजसो भुकम्प पिडित जोखिम मौलेरै भएपनि घर भित्र बस्न थालेका छन् ।’

जुनीचाँदे गाँउपालिकाका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव रहेको छ । जुनीचाँदे गाँउपालिका सदरमुकाम खलंगाबाट सवैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो । यहाँ अत्याधिक चिसो हुने गर्दछ । जुम्ला, कालिकोट र दैलेख सँग सिमाना जोडिएको यो गाँउपालिकाका विभिन्न वडाहरुमा पुग्न यातायातको असुविधा रहेको छ । यस बर्ष गाँउपालिकाले अहिले सम्म औषधी खरीद नगरेको र जिल्लाले औषधी नपठाएका कारण समस्या भएको हो ।

चिसो बढेसँगै भुकम्प पिडित विरामी भएर स्वास्थ्य संस्था पुग्दा पनि औषधी नपाएर रित्तै फर्कनु नागरिकको स्वास्थ्य प्रति गंभिर खेलवाड भएको जुनीचाँदे गाँउपालिका २ का सर्पराज रावतले बताए । गाँउमा चिसोका विरामी बढेका छन् । कतिपयको ज्यानै गईसकेको छ तर यस्तो अवस्थामा पनि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले भुकम्प पिडित जनताको स्वास्थ्य समस्याबारे संवेदनशील हुन सकेका छैनन् । एकले अर्कालाई दोष लगाएर आफु जिम्मेवारीबाट उम्कने प्रयास गरिरहेको तर स्थानियले सामान्य सिटामोल समेत नपाउने अवस्था रहेको उनको भनाई छ ।

संघ सरकार अन्र्तगतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले खरीद गरेको औषधी स्वास्थ्य सेवा कार्यालय मार्फत पालिकामा पठाउने, पालिका आफैले पनि औषधी खरीद गर्ने र त्यसपछि स्वास्थ्य संस्थामा जाने प्रणाली कायम गरिएको छ तर कहाँ औषधी सकियो । कहाँ माग गर्ने कति बेला माग गर्ने यी कुराहरुमा समन्वय नहुँदा औषधी अभाव हुने गरेको छ । पालिकाले औषधीका लागि पहल नै नगरेको स्थानियको भनाई छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले माग गरेका पालिकामा औषधी गइरहेको तर जुनीचाँदेले औषधी नै माग नगरेको बताईन । औषधीको स्टक सकिएको भए माग गरेर लैजान निर्देशन दिने उनको भनाई छ । जिल्लाभर चिसोका विरामी बढेको उनको भनाई छ । चिसोकै कारण जाजरकोट र रुकुम पश्चिममा गरि तीन बालबालिका सहित ३४ जनाको ज्यान गैसकेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad