राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका ४ का चन्द्रबहादुर रावलको घर भुकम्पले क्षतिग्रस्त भएपछि उनको परिवार डेढ महिना देखि त्रिपालमा बस्दै आएको छ । सरकारले रकम दिएपछि अस्थायी आवास बनाउने भनेर कुर्न थालेको पनि महिना दिन विति सक्यो । वडा कार्यालय सँग सम्झौता गरेकै हप्ता दिन विति सक्यो तर अनुदान कुर्दा कुदै हिउँद जाला जस्तो भैसक्यो । त्रिपालको चिसोले निकै गाह्रो भैसक्या उनले भने पहिलो किस्ताको अनुदानका लागि नगरपालिकामा धाउन थालेको दुई हप्ता भैसक्यो । माथिबाटै पैसा आएको छैन भनेर झुलाई रहेका छन् । कि पैसा दिदैनौ भनिदिएको भए हामी आफ्नो मेसो गर्ने थियौ । पैसाको आस देखाएर समयमा किन नदिएको होला ?’
त्यस्तै सोही वडाका प्रदीप रावलले पनि अस्थायी आवासका लागि अुनदान कुर्न थालेको धेरै भैसक्यो । अनुदान आउला र अस्थायी टहरा बनाउला भनेको अहिले सम्म आएको छैन । वडा कार्यालयमा निवेदन दिएर अस्थायी आवासको अनुदानका लागि सम्झौता समेत भैसकेको छ तर रकम नआउँदा उनले काम थाल्न सकेका छैनन् । आर्थिक अभावका कारण रकम नआउँदा घर बनाउन सकेका छैनन् । आफु सँगै पैसो छैन । पेट कसरी पाल्ने समस्या छ । घर कसरी बनाउनुु ? उनले भने ‘सरकारले पैसा देला र घर बनाउला भनेको पैसै आउँदैन ।’
उनीहरु जस्तै नलगाडका ८ हजार ९७ जना लाभग्राहीले हाल सम्म पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । उक्त पालिकाले ७ हजार ३ सय ९१ जना सँग सम्झौता नै गरिसकेको छ । सरकारले सम्झौता गर्ने वित्तिकै रकम दिने भनेपनि उनीहरुले पाउन सकेका छैनन् । रकम नपठाउँदा पिडित परिवारले रकम पाउन नसकेका हुन् । रकम माग गरिरहेका छा्रै तर अहिले सम्म आएको छैन नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले भने ‘लाभग्राही कायम गरि सम्झौता समेत गरिसक्दा पनि पैसा पाईएन । जसका कारण अस्थायी टहरा बनाउने कामले गति लिन सकेन ।’ त्यस्तै जुनीचाँदेका दुई हजार ५ सय ६३ लाभग्राहीले पनि रकम पाउन सकेका छैनन् भने जिल्ला भरका करीब २८ हजार परिवारले अझै पहिलो किस्ता पाउन सकेका छैनन् ।
डेढ महिना विति सक्दा पनि सरकारले भुकम्प पडितलाई त्रिपालबाट अस्थायी आवासमा सार्न सकेको छैन । जाजरकोटमा भुकम्प पिडित लाभग्राहीको संख्या हाल सम्म ३३ हजार ५५ पुगेको छ । लाभग्राही कायम गरि सक्दा पनि रकम अभावमा जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाले लाभग्राहीलाई रकम दिन पाएका छैनन् । रकम लिईसकेका केही पालिकाहरुको ढिलासुस्तीका कारण उनीहरुको खातामा पैसा होल्ड भएर बसेको छ ।
हाल सम्म ४ हजार ६ सय २४ परिवारको खातामा पहिलो किस्ता बापतको २५ हजार रुपैया निकासा भएको छ । भेरी नगरपालिकाले ५ सय ९२ परिवार सँग सम्झौता गरि लाभग्राहीको खातामा निकासा दिएको छ । बारेकोटले एक हजार ६५ परिवारलाई पहिलो किस्ताको रकम निकासा गरेको छ । शिवालयले २ हजार ८ सय ७१ परिवारको खातामा अनुदान दिएको छ । छेडागाडले ९६ जनाको खातामा रकम निकासा दिएको छ । हाल सम्म ११ करोड ५६ लाख रुपैया मात्र पिडित ब्यक्तिका खातामा रकम गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अरु बाँकी ३९ करोड रुपैया पालिकाको खातामा होल्ड भएको छ । रकम लिई सकेका स्थानिय सरकारले समयमा सम्झौता लगायतका काम नसक्दा रकम निकासा दिन नसकेका हुन् ।
रकम निकासा लिएका शिवालय, भेरी, छेडागाड, कुशे र बारेकोट गाँउपालकिाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा ढिलाई गरेका कारण पिडित परिवारले रकम पाउन नसकेका हुन् । पिडितहरु त्रिपालको चिसोले विरामी परेर ज्यान गईरहेको छ तर प्रक्रियागत झन्झटका कारण भुकम्प पिडितले अस्थायी आवासका लागि अनुदान रकम लिन पाएका छैनन् ।
भुकम्पले घरबार विहिन भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार गरि प्रतिपरिवार ५० हजारका दरले अनुदान दिने सरकारले निर्णय गरेको डेढ महिना पुगिसकेको छ । जिल्ला विपद ब्यवस्थापन कोषमा रकम नहुँदा उनीहरुले निकासा पाउन नसकेका हुन् ।
पहिलो किस्ताका लागि अपुग ५० करोड रकम माग गरेर पठाएको दुई साता वितिसकेको छ । तर सरकारले मंगलवार चार करोड रकम मात्र पठाएको छ । पहिलो किस्ताको अपुग र दोस्रो किस्ताको सवै रकम हिसाव गरेर माग गर्न राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले निर्देशन दिए बमोजिम मंगलवार ९६ करोड २७ लाख ५० हजार रकम माग गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनले भने–‘बुधवार ५० करोड पठाईएको जानकारी आएको छ तर खातामा आएको छैन । कोष तथा लेखा नियन्त्रक कार्यालय तिर अड्केको हो कि हामी बुझ्दै छौ । रकम आउने वित्तिकै पहिलो किस्ताको माग अुनसारको रकम हामी पालिकाको खातामा पठाउँछौ ।’
लाभग्राही सँग सम्झौता गर्दा आवश्यक पर्ने कागजात समयमा जुटाउन नसक्दा त्रिपालबाट अस्थायी आवासमा सार्ने योजनामा ढिलाई भएको उनको भनाई छ । वडा कार्यालयमा दक्ष र प्रयाप्त जनशक्ति नहुँदा अनुदान पाउन ढिलाई भएको पिडितहरुको गुनासो छ । भुकम्प पिडितलाई त्रिपालबाट अस्थायी आवासमा सार्न ढिलाई हुँदा पिडितहरुको चिसोले ज्यानै समेत जान थालेको र धेरै विरामी पर्न थालेका छन् । हाल सम्म चिसोकै कारण जाजरकोट र रुकुम पश्चिममा गरी ३४ जनाको ज्यान गैसकेको छ ।