July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

जाजरकोटमा अस्थायी आवासको रकम केही पालिकाले बाँड्नै सकेनन, केहीले पाउनै सकेनन्

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

एक सय ५४ जनाको ज्यान जाने गरी जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भुकम्प गएको डेढ महिना विति सक्दा पनि सरकारले भुकम्प पिडितको ब्यवस्थापनमा ठोस काम गर्न सकेको छैन । पिडित परिवारहरु अहिले पनि त्रिपालमै बस्न बाध्य छन् । त्रिपालबाट मंसिर भित्र अस्थायी आवासमा सार्ने सरकारी योजना स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको तालमेल नमिल्दा र समन्वय नहुँदा पिडितहरु चिसोले थलिएका छन् । त्रिपालमै भुकम्प पिडितको चिसोले ज्यानै जान थालेको छ । चिसो दिन प्रतिदिन बढिरहेको छ ।
भुकम्पले घरवारविहिन बनाएपछि त्रिपालमा बस्दै आएका जाजरकोटका भुकम्प पिडितलाई मंसिर भित्र अस्थायी आवासमा सार्ने भन्दै संघिय सरकारले पठाएको ५० करोड रुपैया केही पालिका खातामा गएर थन्किएको छ भने केही पालिकाले रकम नै पाउन सकेका छैनन् । सरकारले माग गरे अनुसारको रकम नपठाँउदा नलगाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाले अस्थायी आवासका लागि रकम पाउन नसकेका हुन् ।

रकम निकासा लिएका शिवालय, छेडागाड, कुशे र बारेकोट गाँउपालकिाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा भैरहेको ढिलाई गरेका कारण पालिकाको खातामा रकम थन्किएको हो । जिल्लाका कुशे, शिवालय, छेडागाड, बारेकोट र भेरी नगरपालिकाले २० हजार ३ सय ९५ लाभग्राही कायम गरि ५० हजार ५० करोड ९८ लाख ७५ हजार रुपैया सम्बन्धित पालिकाको खातामा पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । तर केही पालिकाले सवै लाभग्राहीलाई अस्थायी आवासका लागि रकम बाँड्न सकेका छैनन् । थोरै लाभग्राहीको खातामा मात्र रकम निकासा गरिएको छ ।

स्थानिय सरकारको ढिलासुस्तीका कारण भुकम्प गएको डेढ महिना पुग्न लाग्दा पनि संघिय सरकारले पठाएको रकम वितरण हुन नसकेको हो । पिडितहरु त्रिपालको चिसोले विरामी परेर ज्यान गईरहेको छ तर प्रक्रियागत झन्झटका कारण भुकम्प पिडितले अस्थायी आवासका लागि अनुदान रकम लिन पाएका छैनन् ।
खाता नभएकालाई नगदै रकम दिने सरकारले निर्णय गरेपनि स्थानिय सरकारले सवै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् । खाता खोल्न बैक जानु पर्ने , कतिपयको नागरिकता नभएको, घर भत्किएको प्रहरी मुचुल्का चाहिने लगायतका प्रक्रियागत झन्झटका कारण अस्थायी आवासका लागि रकम पाउन निकै सास्ती भएको भेरी नगरपालिका ३ का भुकम्प पिडित सन्जीब श्रेष्ठले बताए । घर भत्किएको प्रहरी मुचुल्का, जिल्ला बाहिर अन्य ठाँउमा कतै पनि घर नभएको स्व घोषणा फारम, बैक खाता लगायतका काम समयमा हुन नसक्दा लाभग्राहीले समयमा अनुदान पाउन ढिलाई भएको हो ।

भुकम्पले घरबार विहिन भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार गरि प्रतिपरिवार ५० हजारका दरले अनुदान दिने सरकारले निर्णय गरेको महिना दिन पुग्न लागिसकेको छ । शिवालय गाउँ पालिकाले तीन हजार तीन सय ९ लाभग्राहीहरुलाई अस्थायी आवास निर्माण अनुदान अन्तर्गत प्रथम किस्ता वापतको रकम २५ हजारका दरले हुन आउने ८ करोड २७ लाख २५ हजार रकम लिएकोमा हाल सम्म ६ सय ४० लाभग्राहीको खातामा एक करोड ६० लाख रुपैया मात्र निकासा भएको छ । त्यस्तै हचुवाको भरमा रकम निकासा लिएका कुशे र छेडागाडले पनि अझै लाभग्राही कायम गरि सम्झौता गर्न नसक्दा रकम बाँड्न सकेका छैनन् । छेडागाडले ३ हजार ६ सय ६४ घरधुरीको ९ करोड १६ लाख रुपैया निकासा लिएको स्थानिय प्रशासनले जनाएको छ ।

त्यस्तै बारेकोटले ५ हजार ५ सय ८६ घरधुरीका लागि १३ करोड ९६ लाख ५० हजार रुपैया निकासा लिएको छ । बारेकोटले अस्थायी आवासका लागि ९३ लाभग्राहीका खातामा २३ लाख २५ हजार रुपैया हालेको जनाएको छ । कुशेले ५ हजार २ सय ८७ घरघुरीका लागि १३ करोड २१ लाख ७५ हजार रुपैया निकासा लिएको छ । धेरै क्षति भएको भेरी नगरपालिकाले २ हजार ५ सय ४९ लाभग्राही पहिचान गरि ६ करोड ३८ लाख २५ हजार रकम निकासा लिएको छ । भेरीले हाल सम्म २ सय ३२ जनाको खातामा ५८ लाख रुपैया जम्मा भएको जनाएको छ । धेरै क्षति भएको अर्को नगरपालिका नलगाडले ८ हजार ९७ लाभग्राही कायम गरि अस्थायी आवासका लागि रकम माग गरेको भएपनि रकम प्राप्त गर्न सकेको छैन । जुनीचाँदे गाँउपालिकाले २ हजार ५ सय ६३ लाभग्राही कायम गरि रकम माग गरेपनि रकम पाउन सकेको छैन । कार्यविधि अनुसार भेरी नगरपालिकाले बाहेक अन्य पालिकाले लाभग्राहीको सुची पेश गर्न सकेका छैनन् । भेरीले पनि लाभग्राही कायम गदै रकम माग गरिरहेको छ तर सरकारले रकम निकासा दिन सकेको छैन । जिल्ला विपद ब्यवस्थापन कोषमा रकम नहुँदा उनीहरुले निकासा पाउन नसकेका हुन् । सरकारले पठाएको ५० करोड रुपैया सवै पालिकाको खाता गैसकेको छ । नलगाड, भेरी र जुनीचाँदे गाँउपालिकाका लागि आवश्यक पर्ने ५० करोड रुपैया माग गरेको हप्ता दिन भैसक्दा पनि सरकारले रकम पठाउन नसकेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । विपद जोखिम पुर्ननिर्माण प्राधिकरणलाई अर्थ मन्त्रालयले रकम निकासा नदिदा अस्थायी आवासका लागि पालिकाले रकम पाउन नसकेका हुन् ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले रकम निकासा लिएपनि वडाहरुले लाभग्राहीको विवरण संकलनको काम नसकेकाले रकम वितरणमा ढिलाई भएको बताए । अस्थायी आवास निर्माण कार्यविधि २०८० अनुसार स्व घोषणा सहितको अनुसुची फारम १, २ र ३ भर्नु पर्ने भएकोले ढिलाई भएको बताए ।
संघिय सरकारले अस्थायी आवासका लागि जिल्ला विपद ब्यवस्थापन समिति मार्फत पठाएको ५० करोड रकम सवै पालिकाको खातामा पठाईसकिएको छ । अरु लाभग्राही कायम भएर आउने क्रम जारी रहेकाले थप ५० करोड रुपैया माग गरेका छौ तर प्राप्त भएको छैन सहायक प्रमुख जिल्ला अधिकारी शर्माले स्थानिय सरकारले लाभग्राही सँग सम्झौता गर्न ढिलाई गर्दा समस्या देखिएको बताए । लाभग्राही सँग सम्झौता गर्दा आवश्यक पर्ने कागजात समयमा जुटाउन नसक्दा त्रिपालबाट अस्थायी आवासमा सार्ने योजनामा ढिलाई भएको उनको भनाई छ । वडा कार्यालयमा दक्ष र प्रयाप्त जनशक्ति नहुँदा अनुदान पाउन ढिलाई भएको पिडितहरुको गुनसो छ । भुकम्प पिडितलाई त्रिपालबाट अस्थायी आवासमा सार्न ढिलाई हुँदा पिडितहरु चिसोले ज्यानै समेत जान थालेको र धेरै विरामी पर्न थालेका छन् ।

सामाजिक सुरक्षा खाता अन्य प्रयोजनमा प्रयोगमा बन्देज

बैकमा सामाजिक सुरक्षा खाता भत्ताका लागि खोलिएका बैक खातामा अस्थायी आवासको रकम निकासा गर्न नमान्दा लाभग्राहीले अर्को खाता खोल्न बाध्य भएका छन् । बैकमा रहेको सामाजिक सुरक्षा खाता अन्य प्रयोजन प्रयोग गर्न नपाईने बैकहरुले बताएपछि भुकम्प पिडितहरु पुनः अर्को खाता खोल्न बाध्य भएका छन् । बैकमा खाता खोल्न लाग्ने समय र झन्झटका कारण अनुदान वितरणमा ढिलाई भैरहेको स्थानियको भनाई छ । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कानुनी र ब्यवहारिक प्रक्रिया बुझ्ने बताए । मिल्ने भए लाभग्राहीको सामाजिक सुरक्षा खाता प्रयोग गर्न आबश्यक सहजीकरण गरिने बताए । कतिपय लाभग्राहीले सामान्य खालका अस्थायी टहरा बनाएर पनि रकम लिने दाउमा रहेका छन् । सरकारले १५ वाई ९ फिटको टिन सहितको न्यानो अस्थायी आवास बनाउनु पर्ने, पहिलो किस्ता लिई सकेपछि घर भत्काउनु पर्ने लगायतका नितिगत कुराहरु गरेपनि केही नेताहरुले तत्काल घर पनि भत्काउनु नपर्ने र अस्थायी टहरा जस्तो भएपनि ५० हजार पाउने भनेर नागरिकमा भ्रम समेत सिर्जना गरिहेको भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । कतिपय पिडितले भने अस्थायी टहरा बनाएपनि मालसमान राख्न र पशुचौपाया बसाल्न जोखिममै रहेको भएपनि तत्काल नभत्काउने जिकिर गरेका छन् ।
३६ हजार घरमा क्षति

गत कार्तिक १७ गते गएको भुकम्पले जाजरकोटमा करीब ३६ हजार घरधुरीमा क्षति पुगेको छ । नेपाल रेडक्रस सोसाइटी जाजरकोटले गरे अनलाईन डेटा संकलन अनुसार भुकम्पले १९ हजार ९ सय २६ घर पुर्ण क्षति र १६ हजार १६ घरमा आँशिक क्षति गरी ३५ हजार ९ सय ३२ घरमा क्षति पुगेको हो । यी सवै परिवार त्रिपालमा बस्दै आएका छन् ।
१५४ सिकाई केन्द्र बन्न बाँकी
जाजरकोटमा अझै एक सय ५४ सिकाई केन्द्र बन्न सकेका छैनन् । ४ सय ४७ सिकाई केन्द्र निर्माण गर्नु पर्नेमा २ सय ९३ ओटा मात्र सिकाई केन्द्र बनेको सामाजिक विकास कार्यालयल जाजरकोटले जनाएको छ । अस्थायी सिकाई केन्द्र बन्न नसक्दा पठनपाठन प्रभावित भएको छ । सिकाई केन्द्र बन्न नसकेका विद्यालयमा खुला चौरमा पढाई हुने गरेको छ ।


त्रिपालको चिसोले भुकम्प पिडितलाई पखाला

भेरी नगरपालिका १ घुयलनेटाकी धर्मशिला विकलाई केही दिन अघि पखाला लाग्यो । पखाला उनलाई मात्र लागेन उनका ६ बर्षका छोरालाई पनि पखालाले सतायो । औषधी खाएपछि बल्ल उनलाई विशेक भएको छ । उनले आफुलाई पटक पटक दिसा गर्न मन लाग्ने , दिसा पातलो हुने, उल्टी आउला जस्तो हुने, मुटु दुख्ने, चक्कर आउला जस्तो हुने र स्वास फेर्न समेत गाह्रो हुने बताईन । उनका आमाछोराका साथै गाँउका ५० जना भन्दा बढीलाई पखाला देखियो । हैजाको आशंका गदै स्वास्थ्य सेवा कार्यालय र नगर स्वास्थ्य कार्यालयले आरडिटी विधिबाट ६ जनाका नमुना परिक्षण गर्दा हैजाका जीवाणु नभएको पाईयो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतिक्षा भारतीले वडा नम्बर १ का घुयलनेटा, डौरीकाँडा लगायतका गाँउमा पखालाका विरामी देखिएको खवर आएपछि ल्याव टेक्निसियन सहितको स्वास्थ्यकर्मीको टोली गएर ल्याव परिक्षण गर्दा पखालामा हैजाका किटानु नभेटिएको बताईन । चिसोका कारण भएको सामान्य खालको पखाला रहेछ । त्रिपालको चिसोमा बसाई र खानपान नमिल्दा यतिवेला कोल्ड डायरियाको समस्या देखिएको हो । विरामीहरुलाई आवश्यक औषधीको ब्यवस्था गरेका छौ । विस्तारै ठिक हुँदै गएको छ उनले भनिन् ‘आत्तिहाल्नु पर्ने अवस्था छैन तर सचेत हुन आवश्यक छ । ति गाँउका मानिसले प्रयोग गर्ने खानेपानीको पनि नमुना संकलन गरेर ल्याएका छौ । खानेपानीको रिपोर्ट अझै आइपुगेको छैन ।’

चिसोले तीन बालबालिका सहित ३४ भुकम्प पिडितको ज्यान लियो

कुसे गाउँपालिका–१, स्याग्रीका सुनिल बादीकी तीन वर्षीया छोरी रक्षाको १३ कार्तिकमा मृत्यु भयो । भूकम्पले घर भत्किएपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो ।
चारैतिर हावा छिर्ने त्रिपाल, गतिलो आढ्ने–ओछ्याउने नहुँदा शीत चुहिएर कपडा भिज्ने हुँदा छोरी बिरामी परेको रक्षाकी आमा मीना बादीले बताइन् । चिसोले गर्दा रुघाखोकी लागेको थियो । ज्वरो पनि आईरहेको थियो । घरेलु उपचार गर्यौ ठिक भैहाल्ला भन्ने लाग्यो तर रोग बल्झिदै गयो । धेरै गाह्रो भएपनि स्थानिय स्वास्थ्य संस्था लग्यौ त्यहा जाँच गर्दा निमोनिया देखिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै ज्यान गयो आमा मीनाले भनिन भुकम्पमा बाँचे पनि छोरीलाई चिसोले लियो । बचाउन सकेनौ । मीनालाई छोरी गुमाउँदाको पिडा एकातिर छ भने आफुहरु र अर्की ६ बर्षकी छोरी कसरी बचाउने भन्ने पिरोलो छ । न खाने अन्न छ न चिसो छल्ने बास नै उनले भनिन ‘हामी गरीबलाई चिसोले थप समस्यामा पारेको छ ।’ चिसोमा त्रिपालमुनि निदाउने प्रयास गरिरहेका तिनका आँखामा निद्रा पटक्कै पर्दैन । उल्टो छोरीको मृत्युले उनलाई वेला बेला झस्काइरहन्छ ।
निमोनिया र ज्वरो आएर थलिएका जुनीचाँदे ५ सिलिङ्गेका १ बर्षका निरज शाहीको मंसिर ८ गते ज्यान गयो । भुकम्प पछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो । त्यस्तै छेडागाड ८ रुवाका १२ बर्षका दीपक सार्कीको पनि निमोनियाले गत मंसिर १४ गते ज्यान लियो । जिल्लाका विभिन्न ठाँउमा निमोनियका विरामी बढ्दै गएका छन् धेरै बालबालिका निमोनियाको जोखिममा रहेका छन् । भेरी नगरपालिका ४ रानागाँउकी उर्मिला नेपालीले त्रिपालको चिसोले आफ्नो बच्चालाई पटक पटक निमोनिया भैरहेको बताईन । भुकम्प पछि दुई पटक निमोनिया भैसक्यो । उपचार गरेर अलि ठिक भएको छ । चिसो निकै छ । कसरी रात कटाउने भन्ने समस्या छ । त्रिपालबाट चुहिने सितले झन् वेहाल बनाउँछ उनले भनिन । जिल्लाभर बालबालिकामा निमोनियाको समस्या देखिएको छ । धेरै बालबालिकालाई चिसोले गर्दा निमोनिया भैरहेको र स्वास्थ्य संस्थामा उपचारको लागि आउनेको संख्या पनि बढिरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतिक्षा भारतीको भनाई छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा. प्रतिक्षा भारतीले चिसोले धेरै बालबालिका विरामी पर्न थालेको बताउँदै उपचारको ब्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताईन ।
जिल्लाका विभिन्न ठाँउमा पखाला, निमोनिया र स्वासप्रश्वास सम्बन्धी रोगका विरामी बढ्दै गएका छन् । प्रहरीका अनुसार जिल्लामा भुकम्प पछि चिसोका कारण ३ बालबालिकालाई निमोनिया र अन्य दम तथा दिर्घरोगी गरि २९ जनाको ज्यान गएको छ । भने रुकुम पश्चिममा ५ जनाको ज्यान गएको छ । त्रिपालको चिसोले भुकम्प पिडितलाई निकै सकस परिरहेको छ ।
‘जाजरकोटका करीव ३५ हजार र रुकुम पश्चिममा २० हजार मानिसहरु घरवाहिर छन् । शौचालयहरु भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवति, बृद्धबृद्धा र बालबालिका विरामी पर्न थालेका छन् उपचारको ब्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाँउमा शौच गर्न थालिएको छ । धेरै मानिसहरु मानसिक रुपमा डराईरहेको अवस्था छ । धेरैलाई मनोसामाजिक परामर्श दिनुपर्ने अवस्था छ’ महिला अधिकारकर्मी हजारी नेपालीले भनिन्–‘गर्भवति, सुत्केरी र बालबालिकाको स्वास्थ्यमा तत्काल ध्यान दिन आवश्यक छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad