चिसोले भुकम्प पिडित सुत्केरीको बिजोग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज १२ दिन मात्र भएको छ । उनीलाई चिसो थेग्न निकै मुस्किल परेको छ । मंगलबार धेरै बर्षा हुन नसकेपनि हल्का बर्षातका कारण चिसो निकै बढेको छ । चिसो निकै समस्यामा परेको विमलाले बताईन । चिसोले राती निन्द्रा नपरेपछि दिउसो घाममा सुत्ने गरेको तर तीन दिन यता भईरहेको बदलीले गर्दा समस्या भएको उनको भनाई छ । चिसोले गर्दा होला रातभर बच्चा रोईरहन्छ । म पनि सुन्निएकी छु उनले भनिन ‘बाँच्न गाह्रो भो हजुर त्रिपालको बसाई र चिसोले गर्दा निकै सतायो ।’
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले यसरी कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईनन् । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखीमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य छन् ।
माथिबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफु र शिशुलाई कसरी जोगाउने भन्ने चिन्ताले मोतिकलालाइ निकै पिरोल्न थालेको छ । मोतिकलाले शिशुलाई चिसोबाट जोगाउन निकै सकस भएको बताईन । टेन्टभित्र आगो बाल्न नमिल्दा समस्या भएको छ मोतिकलाले भनिन्–‘टेन्ट भित्र आगो बाल्न मिल्ने भए आफु र बच्चालाई सेक्न हुन्थ्यो, आगो बाल्न मिल्दैन, चिसोले निकै सतायो । बच्चा विरामी छ । चिसोले गर्दा विहान उठ्दा मेरो मुख सुनिएको हुन्छ । कसरी बाँच्ने हो । चिसोले बाँच्नै मुस्किल भैसक्यो ।’
केही दिन अघि चिउरी गाँउकी लक्ष्मी महरले गाँउमै बच्चा जन्माउन नसकेपछि नगर स्वास्थ्य अस्पताल दल्ली गईन । अस्पतालले उनको सुत्केरी गराएपनि बच्चा बनाउन नसकिएको चिउरीकी महिला स्वास्थ्य स्वयमसेविका सितला विकले जानकारी दिईन् ।
२ सय भन्दा बढि घरधुरी रहेको चिउरी गाउँमा ४५ जना सुत्केरीसंगै १२ जना गर्भवति महिला भएको स्वयमसेविका विकले बताएकी छन् । चिउरीकी सुत्केरी र गर्भवति महिलाहरुलाई टेन्ट मात्र नभएर न्यानो कपडा, पोषणयुक्त खाद्यन्नको अभाव भइरहेको स्वयसेविका विकको भनाई रहेको छ । अधिकाँश दलित बस्ती रहेको चिउरीमा भुकम्पले १३ जनाको ज्यान लिएको थियो । विपन्न बर्गका समुदायका बाहुल्यता रहेको यस गाउँमा लत्ताकपडा र खानेकुराको समेत अभाव देखिएको छ ।
नलगाड नगरपालिका ४ बाउसेखोलाकी २० बर्षिया पवित्रा बोहरा सुत्केरी भएको महिना दिन भयो । त्रिपालमुनि बस्नुपर्दा उनलाई पनि चिसोले सताउन थालेको छ । बच्चा पनि विरामी छ । रुघाखोकी लागेको छ । म आफै पनि विरामी छु उनले भनिन ‘निकै कष्ट छ । रात काट्न मुस्किल भो । त्रिपालको चिसोले बाँचिएला जस्तो लाग्दैन ।’ कठ्याङ्ग्रिने चिसो सुत्केरीलाई निकै सताईरहेको छ ।
यी सुत्केरी केही प्रतिनिधी उदाहरण मात्र हुन ।जाजरकोट भूकम्प पीडितहरुले त्रिपालमा रात कटाउन थालेको एक महिना भएको छ । दिनहुँ बढ्दो चिसोले उनीहरुको रात कष्टकर बन्दै जाँदा अस्थायी टहराका लागि सरकारले दिने भनेको सहयोग रकमको पहिलो किस्ता समेत पाउन सकेका छैनन् ।
अस्थायी आवासको अनुदानका लागि कार्यविधि संसोधन गरेर सहज बनाईएको सरकारले दावी गरेपनि स्थानिय तहले बैक खाता खोल्नु पर्ने, प्रहरी मुचुल्का चाहिने लगायतका झन्झटका कारण पिडित परिवारले अहिले सम्म अनुदान पाउन सकेका छैनन् । जसका कारण अस्थायी आवासमा मंसिर भित्र सार्ने सरकारी योजना अलपत्र पर्ने देखिएको छ भने त्रिपालको लामो बसाईले पिडित परिवार र जोखिम समुहमा रहेकाहरुको चिसोले विजोग भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ ।
यतिवेला सुत्केरी र बालबालिकालाई न्यानो कपडाका साथै पोषिलो खानेकुराको आवश्यकता रहेको छ । महिला अधिकारकर्मी पार्वती विकले भुकम्प पछि त्रिपालमा बस्नुपर्दा सुत्केरी र बालबालिकालाई प्रभावित भएको बताईन । चिसोले विभिन्न रोग लाग्न थालेको छ । उनीहरु विरामी परिरहेका छन् । सम्बन्धित निकायले चिसोबाट जोगाउन पहल गर्नु पर्ने उनको भनाई छ ।
जाजरकोट र रुकुम पश्चिममा यतिवेला चिसो बढेपछि भुकम्प पिडितहरु निकै समस्यामा परेका छन् । भुकम्पले घरमा क्षतिपुगेपछि ६० हजार घरधुरी त्रिपालमा बस्ने गरेका छन् । दिनुहँ बढ्दै गएको चिसोले धेरै बालबालिका, सुत्केरी, दिर्घरोगी र जेष्ठनागरिक विरामी पर्न थालेका छन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतिक्षा भारतीले चिसोका विरामी बढ्दै गएको बताईन । चिसोले गर्दा सुत्केरी बालबालिका, बृद्धबृद्धा र दिर्घरोगी समस्यामा परको उनको भनाई छ । उनले भनिन्–‘चिसोले जिल्लाभर एक हजार भन्दा बढी भुकम्प पिडितहरु विरामी परेका छन् । धेरैजसोलाई रुघाखोकी लागेको छ । ज्वरो, निमोनिया, दम र पखालाका विरामी पनि स्वास्थ्य संस्था आउने गरेका छन् ।’
चिसोका कारण जोखिम समुहमा रहेका जाजरकोट र रुकुम पश्चिमका ३४ हजार ४ सय ७३ नागरिकलाई ज्यान जोगाउन समस्या पर्न थालेको छ । त्यस्तै एक हजार ८ सय १५ भर्खरका सुत्केरी त्रिपालको चिसोमा बस्न बाध्य छन् । चिसोकै कारण जाजरकोटमा २० जना र रुकुम पश्चिममा तीन जना गरी ८ जनाले ज्यान गुमाईसकेका छन् । एक हजार भन्दा बढी विरामी परेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad