December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

भुकम्प पिडितको तिहार खल्लो

राजेन्द्र कार्की । जाजरकोट
सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ बर्सिया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको आठविसकोट नगरपालिका वडा नम्बर १४ ज्यामिरकोट स्थित मामा घर मृत्यु भएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए । तिहारको दिन दाई लक्ष्मण शाही त्यही घटना सम्झेर दिनभर भक्कानिरहे । रेडियोमा बजिरहेका तिहार सम्बन्धी देउसी भैलीका गितले उनको मनमुटु झनै छियाछिया भयो । टीका लगाउन आएकी बहिनी मात्र गुमाएनन् लक्ष्मणले आमा, दुई भान्जा र माईजु समेत गुमाउन पुगे । उनले भने ‘यसपालीको तिहार हाम्रो लागि दशा भयो । सवै गुमेपछि को तिहार आउनु र नआउनुको के नै अर्थ छ र ? । खुसी लुटेर लगेको तिहार ।’

भुकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा तिहारको कुनै रौनक देखिएन । प्रभावित क्षेत्रमा देउसी भैलो भएन । पिडितले न त सेल रोटी नै पकाए । पिडितलाई त्रिपाल मुनी कसरी बाँच्ने भनेर चिन्ता परिरहेको बेला आएको तिहारको कुनै रौनक भएन । न बादल बजे न त डेक र अन्य संगित साधन नै । गाँउहरु सुनसान छन् ।
बस्ने घर भत्किएपछि भेरी नगरपालिका १ रिम्नाकी मनिसा चलाउने खुला चौरमा त्रिपाल टाँगेर गुजरा चलाउन बाध्य छन् । उनी आफ्नो ज्यान कसरी जोगाउने भन्ने पिरोलोमा छन् । ५ जनाको जहान घरवारविहिन भएको छ । ‘श्रीमान कालापार(भारत) जानु भएको छ । चार छोरा छोरीको लालनपालन गदै आएकी उनको भुकम्पले घर भत्कियो । भएको लत्ताकपडा र खाद्यन्न सवै पुरियो । कमाई छैन । छोराछोरी साना छन् । के खाएर बाँच्ने हो’ उनले भनिन ‘जेठी छोरी चिसोले विरामी छ । चिसोले १७ बर्षकी छोरीलाई ज्वरो आउन थालेको छ । यस्तो अवस्थामा कसरी तिहार मनाउनु । भुकम्पले हामी सवैको सातो लगेको छ । फेरी पनि हल्लाईरहेको छ । छोराछोरी त्रासमा छन् । यस्तो अवस्थामा आएको तिहारले हामीलाई उल्टै गिज्याईरहेको जस्तो लागिरहेको छ ।’

पश्चिम रुकुम आठविसकोट नगरपालिका १४ छेपारेकी ६० बर्षिया सरस्वती जैसी यतिवेला शोकमा छन् । तीन नाती नातिना र बुहारी गुमाएकी उनी गहिरो पिडामा छन् । तिहारको कुनै रौनक छैन । त्रिपाल मुनी वास छ । घर भत्किएर काठ र ढङ्गाको भग्नावशेष मात्र छ । छोरो कालापार भारत गएको थियो । ८ बर्षकी नातीनी र म सँगै सुतेको थियौ । बुहारी र अरु नातीनातिनी अर्को कोठा सुतेको थिए । १७ कार्तिकमा मध्यरातमा एक्कासी आएको भुकम्पले चार जनाको ज्यान एकै चिहान बनायो । म काठले छेकेर बाँचे । साना लालावाला मरेर म बाँच्नुको के नै अर्थ छ र उनले भनिन ‘यस्तो बेला कसरी तिहार मनाउनु । मन धरधरी रुन्छ । के गर्नु पापी दैवले हाम्रो सवै खुसी खोस्यो ।’
भुकम्पमा घर भत्किएपछि नलगाड नगरपालिका १ पालीकी १६ बर्षिय भुमिका पुन घरमै पुरिईन । गाँउलेले उद्धार गरेर बचाए । सँगै सुतेकी बहिनी विनिताको मृत्यु भयो । अहिले पनि भुमिकालाई त्यही घटनाले पछ्याईरहेको छ । बहिनी गुमाउँदाको पिडा एकातिर छ भने आफै पनि घटनामा परेकोले उनी बेलाबेला त्यही घटना सम्झेर झस्किने र बर्वराउने गर्छिन । बहिनीको शोकमा उनीहरुले तिहारमा टीकाटालो गरेनन । उनको गाँउमा तिहारको कुनै रौनक छैन । बहिनी सहित यसपाली उनीहरु देउसी खेल्ने तयारी गरिरहेका थिए । तर देउसी खेल्ने सपना पुरा नहुँदै भुकम्पले बहिनीलाई निल्यो । ‘मन विरक्तिएको छ । बहिनीको सम्झनाले सताईरहन्छ’ । उनले भनिन ‘यसपाली तिहार आए न आएको केही मतलब भएन ।’ उनका साथीभाई पनि पिडामा छन् ।

यी त केही प्रतिनिधी पात्र मात्र हुन् । जाजरकोट र रुकुम पश्चिममा गरी करीब ६० हजार बढीले घर छोडेर त्रिपालमा बसेका छन् । केहीले त्रिपालमै टिकाटालो गरेका छन् । सदरमुकाम खलंगा स्थित कस्तुरी बोडिङ्गको चौरमा त्रिपालमा बसिरहेकी कल्पना खत्रीले भाईलाई बोलाएर त्रिपालमै टीकाटालो गरेको बताईन । जताततै शोक छ । मनमा शान्ति छैन । पिडा लुुकाएर भए पनि आफ्नो परम्परालाई निरन्तरता दिन त्रिपालमै टीका लगायौ कल्पनाले भनिन ।

जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएकोले धेरैले यसपालि टीकाटालो गरेनन् । देउसी भैलो खेलेनन् । बाजा बजाएनन् । भुकम्पका कारण जिल्ला नै शोकमा परेकाले यसपालिको तिहार शोकमै विताएको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले बताए । बाँचेकाले तिहार त अर्को साल मनाउला यसपाली जिल्ला नै शोकमा छ । धेरै मानिस घरबार विहिन भएका छन् । धेरैले आफन्त गुमाएका छन् यस्तो अवस्थामा कसरी तिहार मनाउनु अशलशासन क्लब जिल्ला समन्वय समितिका अध्यक्ष बालकुमार शर्माले भने ‘जाजरकोट र रुकुम पश्चिममा घर जस्तै धेरैका मन फाटेका छन् । भुकम्पले सवैका मन छियाछिया पारेको छ यस्तो विपत्तिमा कसरी तिहारको रौनक हुनु । जता ततै सुनसान मात्र छ । मानिसहरु शोकमा छन् । हामी पनि शोकमै छौ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad