राजेन्द्र कार्की । जाजरकोट
२५ बर्षपछि बेलायति नागरिक क्रिस इभान्स जाजरकोट कुशे गाउँपालिका–५ खुर्पा गाँउमा पुग्दा खुसियाली छाएको छ । हर्ष बढाईमा नाचिने मौलिक नाँचका रुपमा रहेको खाँडो नाँच नाचेर गाँउलेले बाजागाजा सहित उनको भब्य स्वागत गरे । उनले पनि हातमा ढाल र तरवार समातेर नाचिने खाँडो नाच नाचेर रमाए ।
खुर्पा पुगेका क्रिसलाई बाजागाजा र फुलमालाले भव्य स्वागत गरिएको छ । वडा अध्यक्ष हरि बहादुर सिंह, बाल, युवा र जेष्ठ नागरिकले क्रिसलाई भव्य स्वागत गरेका हुन् । वडा अध्यक्ष सिंहले बेलायति नागरिक क्रिस इभान्सलाइ खुसियालीमा नाचिने खाँडो नाच नाच्नका लागि ढाल र तरवाल हातमा थमाएर स्वागत गरेका गरे । २५ बर्ष अघि क्रिसले गाँउको विकासका लागि गरेको योगदान सम्झदै उनको भब्य स्वागत गरिएको वडाध्यक्ष हरिबहादुर सिंहले बताए ।
२०५५ साल भन्दा पहिला केही बर्ष जाजरकोट बसेका क्रिसले त्यतिवेलै त्यो नाच सिकेका थिए । लामो समय पछि आएका क्रिस इभान्स स्थानीयसंग ढल्की–ढल्की खाँडो नाँच नाँचे । दमाहको तालमा नाँचिने खाँडो नाँच क्रिस इभान्सले सजिलैसंग नाँचे ।
२०४१ सालमा पहिलो पटक जाजरकोट जिल्लामा आईपुगेका क्रिस इभान्सले तीन बर्ष तत्कालिन जिल्ला वन कार्यालयमा स्वयमसेवक भई सेवा गरेका थिए । २०४४ सालदेखि कृषि सम्बन्धी पर्माकल्चर कार्यक्रमका माध्यामबाट जाजरकोट जिल्लाको खलंगा, रिसाङ्ग, पाँचकाटिया, खुर्पा, समाईला, सिल्पाचौर, मुल्साम लगाएतका थुप्रै ठाउँमा प्राङ्गगारिक कृषि पद्धति, पशुचौपाय पालन, जैविक विविधताको संरक्षण, उद्ययमशिलता, खानेपानी, सिंचाई, आधुनिक घट्ट, पेल्टीसेटको माध्यामबाट विद्युतिकरण लगाएतका मल्टि आयोजना निर्माण, घरभित्र, घर बाहिर र वातावरणिय सरसफाई, विद्यालय संचालन लगाएतका क्षेत्रमा क्रिस इभान्सले योगदान गरेका छन् ।
डेमोसेशन, कृषि मेलाको आयोजना गर्नुको साथै हावापानी सुहाउदो बीऊ, विजन आयात गरेर प्राङ्गगारिक कृषि पद्धतिका लागि नयाँ जागरण पैदा गर्दै आएका क्रिस इभान्सले जाजरकोट जिल्लामा थुप्रै मानव सेवाका काम पनि गरेका छन् ।
माओवादी शसस्त्र द्धन्द शुरु भएपछि २०५५ सालमा जाजरकोट छोडेर गएका उनी लामो समय पछि जाजरकोट आएका हुन् । उनले खोलेको हिमाली पर्माकल्चर प्रोग्राम केन्द्रको सहयोगमा गत बर्ष देखि हुम्ला जिल्लाका विभिन्न ठाउँमा योगदान गर्दै आएका क्रिस इभान्सले यो बर्षदेखि जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–१० देउसुले स्थित श्री माध्यामिक विद्यालय सिर्पाचौरमा गाउँका किसानहरुलाई कृषि जेटिए सम्बन्धिको पढाईमा समन्वय गरिरहेका छन् ।
२५ बर्षपछि जाजरकोटमा फर्किएका क्रिस इभान्सले पहिले आफुले कार्यक्रम संचालन गरेका खलंगा, रिसाङ्ग, पाँचकाटिया, खुर्पा लगाएतका ठाउँको अवलोकण गरेका छन् । रामचन्द्र प्राथमिक विद्यालयको आयोजनामा क्रिस इभान्सलाइ पाँचकाटियामा पनि स्वागत गरिएको थियो । पहिले आफुले काम गरेको ठाउँको अवलोकण र पुराना साथिहरुसंगको भेटघाटलाई नविकरण गर्न यसपटक आफु पाँचकाटियादेखि खुर्पासम्म पुगेको बताउदै क्रिस इभान्सले आगामी बर्षहरुमा पहिले आफुले काम गरेका स्थानहरुमा पर्माकल्चरका कार्यक्रमहरुलाई जोड्न सकिने विश्वास दिएका थिए । क्रिस इभान्ससगै हिमाली पर्माकल्चर प्रोग्राम केन्द्रका कार्यकारी निर्देशक भुवन खड्का, संस्थापक सदस्य होममाया गुरुङ्ग लगाएतको टोली खुर्पासम्म पुगेको थियो ।
क्याप्सन ः
