राजेन्द्र कार्की । जाजरकोट
७५ बर्ष भन्दा अगाडीको दशैं कस्तो हुन्थ्यो होला ? धेरैको चासोको विषय हुन सक्छ । अहिलेको दशैं र पहिलेको दशैंमा के फरक छ ? भन्ने विषयमा हामीले ८० बर्ष पुरा गरेका केही अग्रहहरु सँग कुराकानी गरेका छौ । अहिलेको जस्तो दशैंमा तामझाम नभएपनि त्यतिवेलाको दशैं आर्गेनिक थियो । स्थानिय लोकसंस्कृतिहरु, लोकबाजाहरु घन्किन्थे । परिवार र आफन्तमा आत्मिएता प्रगाढ हुन्थ्यो । अग्रजको सम्मान गर्नुपर्छ । दशैमा टीका थापेर अग्रजको आर्शिवाद लिनुपर्छ भन्ने संस्कार थियो । अहिले आधुनिकताको नाममा संस्कृति र सम्मान हराउँदै गएको छ । यस्ता संस्कृतिको संरक्षण गर्नु तपाई हाम्रो कर्तब्य होइन र ?
कर्णबहादुर वली
भेरी नगरपालिका २ तिमिले जाजरकोट
जन्म मिति ः विसं १९७३ साल
सानैमा तिहारको त टिका लगाउँथ्यौ तर दशैमा टिका लगाएको मैले थाह पाईन । अलि ठुलो भएपछि राजाको टिका भनेर दशैमा पनि लगाउन थालियो । राजाका प्रतिनिधी गाँउका मुखियाले लगाएपछि मात्र टिका खुल्थ्यो अरुका लागि । हामी पनि मुखियाको घर जान्थ्यौ टिका थाप्न । त्यतिवेला हाम्रो गाँउघरमा चामल नै पाईदैन्थ्यो त्यही भएर होला दहीमा गहँु मोसेर टीका लगाउँथौ । अहिलेको जस्तो रातो टीका हुदैन्थ्यो । अरु बेला नयाँ कपडा लगाउन पाईदैन्थ्यो । नुन लिन नेपालगञ्ज गएको बेला बा ले ल्याएका कपडा दशैमा लगाउन पाईन्थ्यो । खुव खुसी लाग्थ्यो । नयाँ कपडा लगाउन पाउँदा भुँईमा खुट्टा हुदैनथ्यो । नयाँ कपडा देखाउँन गाँउभरी डुल्थ्यौ । अघाउन्जेल मासु खान दशै कुर्न पथ्यो । अलि पछि तिर मकैका जमरा राख्ने चलन चल्यो त्यसपछि जौ का जमारा राख्ने चलन चलेको हो । मुखियाको घरमा सात दिन सम्म सिंगारु नाच चल्थ्यो हामी हेर्न जान्थ्यौ निकै रमाईलो हुन्थ्यो ।
मायादेवी शर्मा
जाजरकोट भेरी नगरपालिका ४ खलंगा
जन्ममिति ः वि.सं १९८८ साल माघ २ गते
मेरो माईति रुकुम मुसिकोट हो । मेरो ११ बर्षको उमेरमा विवाह भएको हो । त्यतिवेला दहीमा चामल मोसेर सेता टिका लगाउने चलन थियो । २०२०÷०२२ सालतिरबाट मात्र राता टिका लगाउन थालिएको हो । अहिले जस्तो घर घरमा जमरा राख्ने चलन थिएन । ठुलाबडाका घरमा मात्र जमरा राख्ने चलन थियो । राजा, काजी र पुरोहितका घरमा मात्र जौ मा नौ अन्न मिसाएर जमरा राख्ने गरिन्थ्यो । अन्य सर्वसाधारणले पनि त्यही जमरा राख्न लगाउँथे । तत्कालिन जाजरकोटी राजाका पुरोहित हौ हामी । पुरोहितले राजालाई टिका लगाईदिने र त्यसपछि राजाले टिका लगाईदिएपछि मात्र अरु जनताले टिका लगाउन पाउँथे । दरबारमा बन्दुक पड्केपछि मात्र अरु सर्वसाधारणले टिका लगाउन पाउँथे । एक किसिमको वेग्लै संस्कार र रौनक हुन्थ्यो उ वेला ।
दल बहादुर डाँगी
जाजरकोट भेरी नगरपालिका १ कालेगाँउ
जन्ममिति ः १९९९ माघ
रंग नपाएर दहीमा चामल मोसेर टिका लगाउने चलन थियो कसैकसैले बेसार मोसेर पनि टीका लगाउने गर्दथे । दशै आयो भने भात, मासु खान पाईन्छ र नयाँ लुगा लगाउन पाइन्छ भनेर निकै खुसी हुन्थ्यौ । घरका मुली मान्छे गाँउका मुखिया, ठालु, पुरोहितका घरमा टीका थाप्न जाने र आर्शिवाद लिने चलन थियो । स्थानिय बाजागाजा सहित नाचगान निकै चल्थ्यो । जाजरकोट राज्यको पुरानो मुकाम जगतिपुरबाट शक्तिको प्रतिक खडक खलंगा दरबारमा भित्र्याउने चलन थियो । बाजागाजा सहित धुमधामका साथ जाजरकोट दरबार भित्र्याउने र दरबारमा हरेक दिन राँगा र बोकाको बली दिने चलन थियो । गाँउका ठालुहरु राजा सँग टीकाथाप्न जाने चलन थियो । सवै छोरी बहिनी इष्टमित्र जम्मा हुने मिठोमिठो खानेकुरा खाने रमाईलो गर्ने चलन थियो ।
पद्म कुमारी शाह
भेरी नगरपालिका ४ रामजानकीटोल
जन्म मिति वि.सं. २००० बैशाख
तत्कालिन जाजरकोट राज्यका चौतारिया खलकका हौ हामी । दशैंका दिन सव राजदरबारमा टिका थाप्न जानु पथ्र्यो । राजाले टिका लगाईसकेपछि मात्र घरपरिवार र आफन्त विच टिकाटालो हुन्थ्यो । त्यतिवेला अभाव धेरै हुन्थ्यो । अहिलेको जस्तो पैसा हुदैन्थे । नयाँ कपडा लगाउन दशैं नै कुर्नु पथ्र्यो त्यही भएर पनि दशैको महत्व धेरै हुन्थ्यो । गाँउभरी झ्याली मादल घन्किन्थे । नाचगान हुन्थ्यो । छुट्टै रौनक हुन्थ्यो ।