September 25 - 2023, Monday७ आश्विन २०८०, आईतवार

समृद्धिको आधार रारा राजमार्ग

राजेन्द्र कार्की । जाजरकोट

गतिलो सडक नहुँदा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र रारा पुग्न आन्तरिक तथा बाहय पर्यटकले निकै सास्ती खेप्नु पर्ने बाध्यता छ । सुर्खेत–दैलेख–कालिकोट–जुम्ला हुँदै मुगुको रारा पुग्न कर्णाली राजमार्ग बाहेक स्थल मार्गबाट अन्य विकल्प छैन । स्तरोन्नती नहुँदा ‘मृत्यु मार्ग’को नामले चिनिने कर्णाली राजमार्ग हुँदै रारा पुग्ने पर्यटकहरु ढुक्क सँग यात्रा गर्न सक्दैनन् । ठाँउ ठाँउमा पहिरो गएर बाटो अवरुद्ध हुने र दुघर्टना पनि धेरै हुने भएकोले रारा घुम्न जाने पर्यटकहरु हच्किने गरेका छन् । यही कर्णाली राजमार्गको विकल्पको रुपमा त्यो भन्दा सहज, छोटो र स्तरीय बाटो बनाई पर्यटन विकासमा टेवा पुरयाउन रारा राजमार्गको अवधारणा अनुसार यो सडक निर्माण थालिएको हो । सल्यानको थारमारे देखि पश्चिम रुकुमको चौरजहारी हुँदै जाजरकोट खलंगा देखि पाँचकाटिया, ब्याउलीढुङ्गा जुम्लाको डुसिले लेक, टोप्ला, ताम्ती, कुडारी, जुम्ला खलंगा, भुलभुले हुँदै मुगुको ताल्चा भएर रारा जोड्ने दुई सय ६३ किलोमिटरको रारा राजमार्ग (थारमारे–चौरजहारी–जाजरकोट खलंगा–जुम्ला कुडारी– मुगु रारा राजमार्ग) निर्माण थालिएको छ ।

देशको राजधानी काठ्मान्डौ, कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशबाट नजिक पर्ने यो सडक बनेमा कर्णालीका जुम्ला र रारा जान धेरै सहज हुने देखिन्छ । खासमा यो बाटो लुम्बिनी देखि रारा जोडने छोटो सडक मार्ग हो । लुम्बिनी आएका पर्यटकलाई दाङ्ग, सल्यान, पश्चिम रुकुम, जाजरकोट, जुम्ला हुँदै रारा सम्म पुग्न सहज हुन्छ । यो बाटो बनेमा अहिलेको भन्दा झण्डै आधा दुरी र समय घट्ने छ । जाजरकोटलाई जुम्ला सँग जोड्न र रारा सम्म पुग्न सहज त हुने छ नै, पुर्वपश्चिम राजमार्ग अर्थात तराई सम्म जोडिन पनि सजिलो हुनेछ । यो सडक बनेमा कर्णाली प्रदेशको मध्य भागमा रहेको जाजरकोटको पर्यटन, ब्यापार र समृद्धिमा महत्वपुर्ण टेवा पुग्ने कर्णाली प्रदेश सभा सदस्य राजिव विक्रम शाहको भनाई छ । यो राजमार्गलाई सरकारले महत्वका साथ निर्माण गर्नु पर्ने उनको माग छ । उनले भने–‘यस क्षेत्रको पर्यटन विकास र अन्य पुर्वाधार विकासका साथै ब्यापार, ब्यवसाय बृद्धिका लागि रारा राजमार्गलाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय राजमार्गको रुपमा विकास गरिनु पर्छ ।’ यो सडकको केही भाग बाहेक धेरै भुभागमा ट्रयाक खुलिसकेको छ । बाँकी रहेको केही किलोमिटर सडकको ट्रयाक खोलेर स्तरोन्नती गरे केही बर्षमा नै यो सडक प्रयोगमा ल्याउन सकिने अवस्था छ ।

जाजरकोट र जुम्लाको सिमाना ब्याउलीढुङ्गा र डुसिले लेक क्षेत्रमा २० किलोमिटर जति ट्रयाक खोल्न बाँकी छ । जाजरकोट र जुम्ला दुवै तर्फबाट सडक खन्ने काम भैरहेको छ । जुम्ला तर्फ इमिल्चा टोप्ला देखि डुसिले लेक तर्फ पुर्वाधार विकास कार्यालय जुम्लाले सडक निर्माणको काम अघि बढाएको छ भने जाजरकोट तर्फ कुशे देखि ब्याउलीढुङ्गा तर्फ सडक डिभिजन कार्यालय चौरजहारीले सडक निर्माणको काम अघि बढाईरहेको छ । सडक डिभिजन कार्यालय डिभिजन प्रमुख आशुतोष कर्णले रारा राजमार्ग निकै छोटो र सजिलो बाटो छ । उनले भने–‘कर्णाली राजमार्गको तुलनामा यो राजमार्ग निकै छोटो र सजिलो हुन्छ । बाटो बने सँगै आर्थिक गतिविधि बढ्नुका साथै पर्यटकिय दृष्ट्रिकोणले पनि निकै राम्रो हुन्छ । रारा जाने पर्यटकहरुले बाटामा पनि अन्य ठाँउहरुको भ्रमण गर्छन । चहलपहल पढे सँगै ब्यापार बढ्छ । जसका कारण यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खुल्छ ।’

सुर्खेत देखि जुम्ला सम्म कर्णाली राजमार्गको लम्बाई २ सय ३२ किलोमिटर छ । जुम्ला देखि रारा सम्म ९३ किलोमिटर छ । नेपालगञ्ज देखि सुर्खेत एक सय किलोमिटर गरेर नेपालगञ्ज रारा ४ सय ३५ किलोमिटर दुरी छ । जबकि सल्यानको थारमारे देखि रारा सम्म दुई सय ६३ किलोमिटर मात्र छ । दाङ्ग देखि पुर्वबाट रारा पुग्नेका लागि रारा राजमार्ग बनेमा कम्तिमा एक सय किलोमिटर दुरी छोटो हुनेछ र बाटो पनि सरल र सहज हुनेछ । थारमारे देखी चौरजहारी सम्म र जाजरकोट खलंगा देखि पाँचकाटिया सम्म सडकको स्तरोन्नतीको काम भैरहेको छ । पाँचकाटिया देखी ब्याउलीढुङ्गा सम्म स्तरोन्नती तथा नयाँ ट्रयाक खोल्ने काम भैरहेको डिभिजन प्रमुख कर्णले बताए ।

यो राजमार्गमा केही भाग सडकको नयाँ ट्रयाक खोल्ने, पुरानो सडकको स्तरवृद्धि गर्ने, ग्राभेल गर्ने, पुल बनाउने र कालोपत्रे गर्नेलगायतका विभिन्न स्तरवृद्धिको काम गर्नु पर्ने छ ।
६९ किलोमिटर जाजरकोट खण्डको कालोपत्रे र स्तरोन्नतीको काम हेर्ने जिम्मा सडक डिभिजन कार्यालय चौरजहारीको छ । जुम्ला र मुगु खण्डको १ सय ४१ किलोमिटर सडक हेर्ने क्षेत्राधिकार सडक डिभिजन जुम्लाको छ । ३४ किलोमिटर सल्यान खण्ड र १९ किलोमिटर पश्चिम रुकुम खण्ड सडक डिभिजन कार्यालय दाङ्गले हेर्ने क्षेत्राधिकार तोकिएको छ । रारा राजमार्ग आयोजनाको अवधारण अनुरुप विकास नगरिएकोले खण्ड खण्ड गरेर बजेट विनियोजन गरिएको छ । राजमार्ग आयोजनाका रुपमा विकास गरिए मात्र छुट्टै कार्यालय स्थापना भएर पुरै सडकको जिम्मा लिने ब्यवस्था रहेको डिभिजन प्रमुख कर्णले बताए । उनका अनुसार जाजरकोट खण्डमा मात्र चालु आवमा साढे १४ करोड रुपैया विनियोजन भएर काम भैरहेको छ । जाजरकोट खण्डमा पनि साना÷ठुला १० पक्की सडक पुल बनाउनु पर्ने भएको छ । यो राजमार्गको विस्तृत आयोजना प्रतिवेदन नै नभएकाले कति लागत लाग्छ र कहिले सम्म निर्माण सम्पन्न हुन्छ भन्ने एकिन भई नसकेको उनले बताए ।

सडक डिभिजन जुम्लाले टोप्ला– त्रिवेणी र ताल्चा–रारा खण्डमा काम गरिरहेको सब ईन्जिनियर विरेन्द्र रावलले बताए । उनका अनुसार टोप्ला–डुसिले खण्डमा पुर्वाधार कार्यालयले काम गरिरहेको छ । त्यस्तै रारा राजमार्गअन्तर्गत जुम्ला एयरपोर्टदेखि भुलभुलेसम्म तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । बजेट व्यवस्थापनका लागि पुल महाशाखामा पेस भई अर्थ मन्त्रालयले सहमति दिन बाँकी छ । जुम्ला रारा सडक खण्डमा करीब १० वटा पक्की पुल बनाउनु पर्ने छ । ताल्चादेखि रारा खण्डमा हाल ग्राभेल, नाला निर्माण लगायतका काम भइरहेको रावलले बताए । बजेट अभाबले गर्दा सडकले सोचे जति गति लिन नसकेको उनको भनाई छ । सडकको स्तरोन्नती र पुल निर्माणका लागि जुम्ला र मुगु खण्डमा मात्र करीब तीन अर्व बजेट आवश्यक पर्ने सव इन्जिनियर रावलले बताए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले रारा राजमार्गलाई आयोजनाकै अवधारणा अनुसार अगाडी बढाईने बताए । कर्णालीवासीको समृद्धिका लागि यो राजमार्ग कोशेढुङ्गा सावित हुने भएकोले सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ । उनले चुनावी घोषण पत्रमा नै रारा राजमार्गको विकास गरी लुम्बिनी र रारा जोड्ने सवैभन्दा छोटो मार्गको विकास गरि जाजरकोटलाई मुख्य केन्द्रविन्दुमा राखेर विकास तथा समृद्धि गरिने उल्लेख गरेका थिए ।
यो बाटो बनेमा जाजरकोटको दाङ्ग, सल्यान, पश्चिम रुकुम साथै जुम्ला र मुगु सँगको सिधा सम्पर्क कायम हुनेछ । देशकै आर्थिक विकास र समृद्धिमा समेत यो बाटोले महत्वपुर्ण योगदान पुरयाउने छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad