राजेन्द्र कार्की । जाजरकोट
उन्नत जातका बाख्रा पालन मार्फत स्थानियको आयआर्जन बृद्धि गर्ने भन्दै स्थानिय र प्रदेश सरकारबाट लिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । जिल्लाको जुनीचाँदे गाँउपालिकाको मेसुमा रहेको मेसु बाख्रा पालन समुहले गत आर्थिक बर्ष उन्नत जातका बाख्रा वितरण गर्ने भन्दै प्रदेश सरकारको २० लाख र गाँउपालिकाको ६ लाख रुपैया अनुदान लिएको हो ।
तर अनुदान लिदा गरेको सम्झौता विपरित स्थानिय जातका कमजोर र रोगी बाख्रा वितरण गरिएपछि स्थानियले विरोध गरेका छन् । कार्यालय सँगको मिलेमतोमा समितिले सस्तो मुल्यमा बाख्रा खरीद गरि समुदायलाई बाँडेर रकम दुरुपयोग गरेको स्थानियको आरोप छ । मेसुका ६० घरधुरीलाई एक सय ५० बाख्रा र सात ओटा बोका खरीद गरि बितरण गरिएको बाख्रा पालन समुुहका अध्यक्ष हरिबहादुर बस्नेतले दाबी गरे । त्यस मध्य कम्तिमा ५० प्रतिशत बाख्रा उन्नत जातका हुनु पर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तर सुरुमा ६० बाख्रा र ५ बोका मात्र बाडिएको स्थानीयको भनाइ छ। अध्यक्ष बस्नेतले भने ‘सबै भने जस्ता हुँदैनन् । कोही दुब्ला, कोही मोटा त कोही साना ठुला भैहाल्छन् सवैको चित्त बुझाउन सकिदैन । आवको अन्तिममा रकम निकासा भएकोले उन्नत जातका बाख्रा खरीद गर्न टाढा जान सकेनौ । भेरी नगरपालिकाको भुरबाट बाख्रा लिएका हौ । खोजे जस्ता र भने जस्ता परेनन् ।’ स्रोतअनुसार स्थानीयले बिरोध गरेपछी ५७ बाख्रा खरिद गरेर बुधबार बितरण गरिएको छ । कम्तीमा एक घरलाई तीन वटा सम्म बाख्रा बाड्नु पर्नेमा सुरुमा एक र बिरोध पछि थप एक बितरण गरिएको छ । बाख्रा खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । तर पुरै भुक्तानी भैसकेको छ ।
प्रदेश र स्थानिय सरकारले उन्नत जातका बाख्रा खरीद, खोर निर्माण, तालिम, घाँस वितरण लगायतका शिर्षकमा अनुदान दिएको हो । तर उक्त अनुदान रकमबाट न उन्नत जातका बाख्रा खरीद भए न अन्य काम नै । अहिले सम्म कसैले पनि खोर निर्माण गरेका छैनन् । तीन दिन गर्नुपर्ने तालिम आधा दिनमै सकियो । घाँसका विरुवा र विउ अहिले सम्म वितरण भएको छैन एक स्थानियले भने अध्यक्ष र सचिवको पहुँच गाँउपालिका देखि माथि सम्म छ हामीले बोले पनि केही लाग्दैन । रकम हिनामिना भएको छ उनले भने –‘बाख्रा पालन समुहको बदमासीमा केही जनप्रतिनिधी र केही नेताहरुको समेत संलग्नता रहेको छ । त्यही भएर तै चुप मै चुप भएको हो ।’
अहिले वितरण गरिएका बाख्रा आउँदो दशैतिहार सम्म भेटिन मुस्किल पर्छ अनुदान खानैका लागि बजेटको दुरुपयोग भएको हो । दुई ओटा लुते बाख्रा दिएर ब्यवसायिक बाख्रा पालन हुन्छ अर्का स्थानियले भने ।
यस सम्बन्धमा जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख जरबहादुर भक्रीले सवै जिम्मा समुहलाई दिईएको भन्दै यस सम्बन्धमा आफुलाई केही जानकारी नभएको बताए । भनेका जस्ता कहाँ हुन्छ त सवैको चित्त बुझ्दैन । साना ठुला भैहाल्छन् उनले भने ‘के भएको हो स्थलगत अध्ययन गरेर मात्र भन्न सकिन्छ । बदमासी भएको भए कारवाही हुन्छ ।
मेसुमा मात्र होइन ब्यवसाय गर्ने नाममा दिईने यस्ता अनुदानको सदुपयोग भन्दा दुरुपयोग नै बढी भएको पाइन्छ । पहुँच र पावरको भरमा अनुदान पार्ने अनि त्यो ब्यवसाय अलपत्र पारेर अर्को ब्यवसायमा अनुदान लिने क्रम पछिल्लो बर्षहरुमा बढेर गएको छ । कृषि र पशपंक्षी पालनका नाममा दिईने अनुदान रकममा चरम दुरुपयोग हुने गरेको स्थानियको भनाई छ । प्रदेश सरकार र स्थानिय सरकारले वास्तविक किसानलाई ब्यवसायीकरण गर्न अनुदान दिदै आएको भएपछि गैरकिसान र टाठाँबाँठाको हालिमुहाली हुने गरेको पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माको भनाइ छ ।