नौै वर्षदेखि प्रसुति भवन अलपत्र

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट(बड्कुले)

जिल्लाको जुनीचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसुती भवन निर्माण कार्य सुरु भएको नौं वर्ष बितेको छ तर निर्माण कम्पनीको चरम लापरवाही र सरकारी उदासिनताका कारण भवन बन्न सकेको छैन ।

 

भवन नबन्दा स्वास्थ्य सेवा प्रवाह र सुरक्षित सुत्केरी सेवा प्रदान गर्न गाह्रो भैरहेको स्वास्थ्यकर्मीको भनाई छ । निर्माण कम्पनीले पेटी ठेकेदारलाई कामको जिम्मा दिएको तर उसले पनि काम नगर्दा समस्या भएको हो । समयमा भवन नबन्दा भवन भित्र झार र घाँस उम्रिएको छ । स्वास्थ्य चौकी भाडाको घरमा राख्नु परेको बडाध्यक्ष चन्द्रबहादुर शाहीले बताए ।

ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगरेपछि सुरक्षित प्रसुती सेवा लगाएत स्वास्थ्य सेवा दिन सास्ती भएको जुनिचाँदे गाउँपालिका स्वास्थ्य शाखा सह–सयोजक खेमराज बस्नेतले बताए । ठेकेदार कम्पनीले समयमै भवन निर्माणको काम नगर्दा संस्थाबाट हुने सुरक्षित सुत्केरी सेवा र अन्य सेवा प्रभावकारी हुन नसकेको बस्नेतको भनाइ छ । भवनमा राखिएका झ्याल ढोका र पर्खाल जिर्ण अवस्थामा पुगेका छन् ।

 

भवनको बालुवा, गिटी, ढुङ्गा ब्यवस्थापनको जिम्मा पाएका गोरे बुढाले ५ लाख ४० हजार रकम नपाएको गुनासो गरेका छन् । झयाल ढोका बनाउने जिम्मा लिएका अमर बहादुर बुढा र गोबिन्द बुढाले पनि ३ लाख ८० हजार रकम नपाएको गुनासो छ । रकम असुलीका लागि धेरै पहल गर्यौ तर पाइएको छैन पिडित गोरे बुढाले भने ‘ठेकेदारले पेटी ठेकेदार सँग माग्न भन्छ । पेटी ठेकेदारले मुख्य ठेकेदार सँग माग्न भन्छ । दिदैनौ भन्दैनन तर पाईएको छैन । बषौं वितिसक्यो । न काम शुरु हुन्छ । काम शुरु होला र मागौला भन्दा भन्दै नौ बर्ष वितिसकेछ ।’
फ्राइन्डस कन्स्ट्रक्सन प्रा.लि. काठमाडौं ३५ले जिम्मा लिएको भवन अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ । डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी २०६९ बैशाख २१ गते सम्झौता भएको थियो । १ करोड २७ लाख ११ हजार ६ रुपैयाँमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कबिहिन भएपछि भवन निर्माण पुरा हुन नसकेको संघिय आयोजना कार्यान्वयन इकाई सुर्खेतले जनाएको छ । कार्यालयमा भएको सम्झौता अनुसार बित्तियतर्फ १० दशमलब ०६ प्रतिशत र २० प्रतिशत भौतिक कार्य गरेर ठेकेदार कम्पनी फरार रहेको कार्यालयका इन्जिनियर टीकाराम पोखरेलले बताए । पटक पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा समस्या भएको उनको भनाई छ ।

 

फ्राइन्डस कन्स्ट्रक्सन प्रा.लि काठमाडौं ३५का सञ्चालक पुष्प बजगाइले सहायक(पेटी) ठेकेदारका रुपमा छेडागाड नगरपालिका ५ कर्ण बहादुर थापालाई राखेका थिए । आफुले थापालाइ पेस्की रकम २५ लाख ४० हजार दिएर काम अघि बढाउन भने पनि कुनै खर्च नगरी कामदारलाइ पैसा नदिएको र काम पनि अलपत्र पारेको बजगाइको गुनासो छ ।

 

लामो समय देखि निर्माण हुन नसकेको बडकुले स्वास्थ्य संस्था भवन निर्माणको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको छ । बड्कुले स्वास्थ्य चौकी ठेक्का सम्झौता तोड्नका लागि प्रकृया अगाडी बढेकोे इन्जिनियर पोखरेलले बताए । निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने, धरौटी जफत गरि नौ बर्ष सम्म अलपत्र पारे बापतको क्षतिपुर्ती समेत ठेकेदार कम्पनीबाट भराउने गरि कारवाही प्रक्रिया अघि बढेको इन्जिनियर पोखरेलले बताए । उनले आगामी आर्थिक बर्ष नयाँ टेण्डर प्रक्रियाबाट भवनलाई पुर्णता दिईने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad