जाजरकोटमा मुल्य बृद्धि आकासियो

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन र आगामी बर्षको बजेट भाषणका कारण जाजरकोटमा मुल्य बृद्धि आकासिएको छ । उपभोक्ताको भान्सा महँगिएको छ । ब्यापारीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन । तेल, चिनी, दाल, चामल लगाएतका खाद्य बस्तुको खरीद मुल्य नै बढेकोले विक्रि मुल्य पनि बढाउनु परेको ब्यापारीको भनाई छ ।

सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ ३० प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने तेल अहिले २ सय ६० रुपैयाँ पर्ने गरेको भेरी नगरपालिका–४ रानागाउँकी पार्वती विकले बताइन । ‘ तेल, चामल, हरियो तरकारी, दाललगायत वस्तुको भाउ बढ्दा हाम्रो भान्सा पनि महँगियो,’ उनले भनिन्, ‘खाने तेलको भाउ त किन्नै नसक्ने गरी बढेको छ ।’ उनका अनुसार कुखुरा र खसीको मासुको मूल्य पनि अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् ।

५० रुपैयाँ किलो पर्ने हरियो तरकारी ८०, ३ सय ५० रुपैयाँ प्रतिकिलो पाइने कुखुरा मासु ४ सय ५० र ७ सय ५० रुपैयाँमा पाइने खसीको मासु प्रतिकिलो ९ सय रुपैयाँमा किन्नुपरेको स्थानिय कर्ण केसीले बताए । निषेधाज्ञाबाट रोजगारी गुमाएकालाई मूल्य अकासिएपछि दैनिक उपभोग्य सामग्री किन्न समस्या भएको उनले बताए । ‘हरियो तरकारीको खरिद र बिक्री मूल्यमा ठूलो अन्तर देखिन्छ,’ उनले भने, ‘उत्पादकदेखि उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य दोब्बर फरक परिरहेको छ ।’ उनका अनुसार यातायात व्यवसायीले ढुवानी भाडामा मनपरी गर्दा पनि मूल्य चर्को पर्न गएको हो ।

नेपालगन्ज र सुर्खेतको बजारबाट उपभोग्य वस्तुको मुल्य बढेरै आउँदा उपभोक्ता चर्को मूल्यको मारमा परेको व्यवसायी मुकुन्द शर्माले बताए । उनका अनुसार निषेधाज्ञाका कारण मजदुर नपाइँदा वस्तु लोड र अनलोडमा पनि धेरै रकम खर्च हुने गरेको छ । ‘इन्धनको भाउ वढेको भन्दै ढुवानीकर्ताले सामान ढुवानी गर्नै मान्दैनन्,’ उनले भने, ‘महँगोमै आएपछि हामीलाई पनि सामानको मूल्य बढाउनुपर्ने बाध्यता छ ।’

निषेधाज्ञाले बारेकोटको लिम्साबजार, नलगाडको कालीमाटी, छेडागाडको थलह, ढुंगील, कुशेको पाचकाटीयालगायत बजारमा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । नियमित ढुवानी नहुँदा दैनिक उपभोग्य वस्तु पाउन मुस्किल भएको नलगाड २ का पुर्णबहादुर खत्रीले बताए । ‘एक त सामानै पाइँदैन, पाइए पनि महँगोमा किन्नुपर्छ,’ उनले भने, ‘खाद्यान्नको मूल्य दिनप्रतिदिन बढिरहेको छ । ब्यापारीले मनोमानी मुल्य बढाइरहेका छन् । ’ महँगीका कारण विपन्न नागरिकलाई छाक टार्नै मुस्किल भएको उनको भनाइ छ । मुल्य बृद्धि नियन्त्रणमा स्थानिय प्रशासनले चासो नदिएको स्थानियको गुनासो छ ।
सदरमुकाममा सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य पनि अकासिएको छ । निषेधाज्ञाअघिसम्म ८८ रुपैयाँ प्रतिकिलो पर्ने छड १ सय १३ र प्रतिबोरा ७ सय ५० पर्ने सिमेन्ट ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । छड, सिमेन्ट तथा उपभोग्य वस्तुको मूल्य बढ्दा घर निर्माण गर्न समस्या भएको भेरी नगरपालिका–३ ठाटीबजारका पार्वती थापाले बताइन ।

स्थानीय प्रशासनले अनुगमन नगर्दा उपभोक्ता ठगिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । उनका अनुसार सदरमुकाम खलंगाभित्रकै बजारमा कुनै पनि सामानको मूल्यमा एकरूपता छैन । ‘पाँच मिनेटको दूरीका फरक पसलमा पनि प्रतिकिलो वस्तुको मूल्यमा १० देखि २० रुपैयाँसम्मको अन्तर छ,’ उनले भने, ‘बजार भाउ मनोमानी छ, प्रशासनलाई यसको वास्ता नै छैन । खसीको मासुमा त झन डेढ सय सम्मको अन्तर छ ।’

उनले विपन्न नागरिकलाई महँगीले छाक टार्न मुस्किल हुन थालेको बताए । झन्डै डेढ महिनादेखि निषेधाज्ञा गरेको जिल्ला प्रशासन कार्यालयले खाद्यान्नलगायत उपभोग्य वस्तु किनबेचका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म बजार खुला राख्ने अनुमति दिएको छ । बजार अनुगमण गरि अस्वभाविक मुल्य बृृद्धि गर्ने ब्यापारीलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिप्रसाद देवकोटाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad