राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा हाल सम्म सात सय १२ जनाले कोरोना जितेका छन् । जम्मा एक हजार दुई सय ८४ जना संक्रमित मध्य हाल पाँच सय ५९ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमित मध्य जिल्ला अस्पतालमा १४ जनाले आइसोलेशनमा उपचार गराइरहेका बाहेक अन्य सवै होम आइसोलेशनमा रहेका छन् । सोमवार मात्र ६४ जना कोरोनाबाट निको भएका छन् भने ४१ जना नयाँ सक्रमित थपिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदनका अनुसार थप उपचारका लागि हालसम्म १० जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । हालसम्म ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एक जना संक्रमितको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । हालसम्म जिल्लामै कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
जाजरकोटमा आगामी जेठ २२ गते सम्म लकडाउन गरिएको छ । सुस्त गतिमा परिक्षण भैरहेकोले दायरा बढाउन स्थानियले माग गरेका छन् । तर स्वास्थ्य सेवा कार्यालयले किटको अभावमा परिक्षणको दायरा बढाउन नसकिएको जनाएको छ ।