March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

गाँउपालिका अध्यक्ष महेन्द्र शाह बस्तीबस्तीमा संक्रमित खोज्दै

सुरेन्द्र सिंह । बारेकोट

कोरोना संक्रमित खोज्दै हरेक दिन बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाह बस्तीबस्ती पुग्छन् । स्वास्थ्य मापदण्ड पुर्याएर स्वास्थ्यकर्मीहरुको साथमा कोरोनाका बिरामी खोज्दै विभिन्न गाउँबस्तीमा पुग्नु हिजो आज उनको दैनिकी हो ।

कोरोना महामारीको दोस्रो लहरसँगै बारेकोट गाउँपालिका पनि यसबाट अछुतो रहन सकेको छैन । यस गाउँपालिकाकाका वडा नम्बर १, ६, ७, ८ र ९ का विभिन्न टोलमा शंकास्पद बिरामीलाई घरमै पुगेर एन्टिजेन परिक्षण कार्यलाई गाउँपालिकाले तीब्रता दिएको बताए ।
गाउँबस्तीमा कोरोनाको लक्षण देखिए पनि स्थानीयले हेलचक्र्याई गर्ने गरेको अध्यक्ष शाहको बुझाई छ । स्थानीयलाई कोरोना परिक्षण गर्नका लागि उत्प्रेरित गर्नु आफ्नो दायित्व रहेको उनले बताए । बिरामी हुँदा औषधि उपचारभन्दा धामी झाँक्रीको शरणमा पुग्नु यहाँका कतिपय स्थानीयको पुरानो अन्धविश्वास नै हो । पछिल्लो समय कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउने बानीको विकास स्थानीयमा हुदै गएको अध्यक्ष शाहले बताए ।

हाललाई कोरोना परिक्षणका लागि आवश्यक पर्ने एन्टिजेन किट र आवश्यक औषधि पर्याप्त रहेको बताउँदै आइसोलेसन भवन गाउँपालिका, विभिन्न निकाय तथा व्यक्तिहरुको सहायतामा व्यवस्थित गरिसकेको जानकारी दिए ।

शुक्रबारसम्म बारेकोटमा १ सय ९८ जनाको एन्टिजेन किटद्वारा परिक्षण गर्दा ७१ जनालाई कोभिड संक्रमण देखिएको बारेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक बीरराज सिंहले जानकारी दिए । जसमा ३५ जना संस्थागत आइसोलेसन र ३६ जना होम आइसोलेसनमा रही स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार हुदै आएकोमा २७ जना कोभिड संक्रमित सन्चो भएर घर फर्किसकेको स्वास्थ्य संयोजक सिंहले बताए ।

यदि कोही कसैलाई कोरोनाको लक्षण देखापरेको शंका लागेमा प्रत्येक दिन दिउँसो ३ बजे प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कोरोना परिक्षण गर्न सकिने व्यवस्था मिलाईएको अध्यक्ष शाहले जानकारी दिए । कोरोनाबाट बच्नका लागि कुनै पनि प्रकारको लापरवाही नगर्न समेत अध्यक्ष शाहले आग्रह गरे ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad