April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

किट अभावमा परिक्षणको दायरा सुस्त

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा एक हजार दुईसय १९ जनामा एन्टिजेन परिक्षण गर्दा चार सय १७ जनामा कोरोना संक्रमण देखियो । गाँउ गाँउमा कोरोना संक्रमण फैलिएको छ । परिक्षण गरिएका मध्य करीव एक तिहाइमा संक्रमण देखिएपनि सरकारले किट अभावमा परिक्षणको दायरा बढाउन सकेको छैन ।

गत बैशाख ११ यता सात पालिका रहेको जाजरकोटमा एन्टिजेन विधिबाट एक हजार दुई सय १९को मात्र परिक्षण गरिएको हो । भेरी लगायतका केही पालिकाले गत बर्षकै मौज्दात भिटिएमबाट थपलाई पिसिआर गरेका छन् । तर समयमा रिपोर्ट नआउँदा समस्या भएको छ । गत बैशाख २५ मा पठाएको रिपोर्ट अझै आउन सकेको छैन । पिसिआरको रिपोर्ट आउन एक हप्ता बढी लाग्ने भएको र परिक्षण गरिएकाहरु नजिता नआउँदा सम्म घरमै आइसोलेशनमा नबस्दा संक्रमण थप बल्झिने खतरा छ । त्यही भएर तत्काल नतिजा दिने एन्टिजेन विधिबाटै परिक्षण गर्न खोजिएको हो तर किट अभावमा परिक्षणको दायरा बढाउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक टीकाराम जैसीले बताए । उनले शूरुमा नौ सय र पछि थप एक सय ५० किट कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले पठाएको बताए ।

थप किट माग गर्दा निर्देशनालयमै नभएको भन्दै नपठाएपछि कार्यालयकै पहलमा थप किट किन्न खोज्दा काठ्मान्डौमा समेत नपाएपछि समस्या भएको निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक जैसीले बताए । कार्यालयले आफु सँग भएका किट पालिकाहरुलाई समेत वितरण गरेको उनले बताए । केही किट पालिका आफैले पनि ल्याएका छन् । खरीद गर्न तयार भएपनि किट नपाउँदा समस्या भएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । भेरीले पाँच सय ५९ जनाको पिसिआर गरेकोमा तीन सय दुई जनाको रिपोर्ट एक साता विति सक्दा पनि आउन सकेको छैन ।

पिसिआर र एन्टिजेन दुवै विधिबाट गरिएको परिक्षणबाट जिल्लामा सात सय ८ जना संक्रमित भएपनि तीन सयले कोरोना जितेका छन् । हाल जिल्लामा तीन सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा संक्रमितको संख्या अझै धेरै हुन सक्ने स्थानियको आकलन छ । परिक्षण नहुँदा स्थानियहरु आफु खुसी रुघाखोकी र ज्वरोको औषधी खाने गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad