राजेन्द्र कार्की । जाजरकोट
नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएका कोराना महामारी अन्र्तगत जाजरकोटमा मंगलबार सम्म दुई सय ४४ जना कोरोना संक्रमित फेला गरेका छन । जिल्लाका विभिन्न स्थानमा गरिएको कोरोना एन्टिजेन परिक्षण अन्र्तगत मंगलबार थप ३२ जना नयाँ संक्रमित फेला परेपछि कोरोना पोजेटिभ हुनेको संख्या दुई सय ४४ पुगेको हो ।
मंगलवार भेरीमा ३० र कुशेमा दुई संक्रमित फेला परेका हुन् । सात सय ६९ जनामा गरिएको परिक्षणबाट संक्रमित भएका मध्य तीन जनाले कोरोना जितेका छन् । संक्रमित मध्य जटिल अवस्थाका ६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिर्फर गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका महामारी फोकल ब्यक्ति कृष्ण खत्रीले बताए । अधिकांश संक्रमित होम आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् । जाजरकोट अस्पताल आइसोलेसनमा ४ जना, भेरी नगरपालिकाको आइसोलेसनमा ६ जना र नलगाड आइसोलेशनमा एक जना रहेको खत्रीले बताए ।
कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भएपनि स्थानीय तहले प्रतिकार्यमा गंभिरता देखाएका छैनन् । स्थानीय तहले हालसम्म कुनै पनि प्रतिकार्यका योजना सार्वजनिक गरेका छैनन् । ‘संक्रमित बढेपछि गाउँगाउँमा त्रास छ,’ भेरी नगरपालिका २ का विर्खबहादुर कार्कीले भने ‘विरामीको संख्या बढ्दै गए काँहा राखेर उपचार गर्ने ? अक्सिजनको ब्यवस्था कसरी गर्ने केही पनि योजना बनाएका छैनन् ।’
यातायातको असुविधा, विद्युतको अभाव र दक्ष जनशक्तिको अभावमा अक्सिजन सहितको सुविधा सम्पन्न आइसोलेशन बनाउन गाह्रो भएको कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । प्रतिकार्य योजना नहुँदा कोरोना रोकथाम तथा नियन्त्रण भगवान भरोसामा रहेको स्थानियको भनाई छ । देशभर संक्रमण दर र मृत्यु हुनेको दर बढ्दै गएपछि स्थानिय त्रसित बनेका छन् । स्थानिय प्रशासनले लकडाउन सहितको निषेधाज्ञा जारी गरेपनि स्थानिय पुजा पाठ, विवाह, भोजभतेरमा सरिक भैरहेका छन् ।
परिक्षणको दायरा बढाइएको छैन । संक्रमण देखिएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरिएको छैन । परिक्षण गरिएका मध्य करीव एक तिहाइमा संक्रमण देखिएपनि जिल्लामा तयारीको अवस्था हेर्दा निराशाजनक अवस्था देखिएको छ, नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्ष केदारबहादुर शाहले भने–‘स्थानिय तह सँग प्रतिकार्य योजना नै छैन भने जिल्ला अस्पतालमा समेत भेन्टिलेटर सहितको उपचारको ब्यवस्था हुन सकेको छैन । अस्पतालमा रहेका भेन्टिलेटर आवश्यक दक्ष जनशक्तिको अभावमा प्रयोग विहिन भएर थन्किएका छन् । जटिल खालका विरामी देखिए जिल्लामा उपचार हुने संभावना छैन ।’