राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा मानसिक रोगीको संख्या बढ्दै गएको पाईएको छ । भेरी नगरपालिकाले संचालन गरेको मानसिक स्वास्थ्य शिविरमा आएका विरामीको संख्या र अवस्थाको आधारमा जाजरकोटमा मानसिक रोगका विरामीको संख्या धेरै हुन सक्ने चिकित्सकको भनाई छ । भेरी नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र बुरुङ्गेमा संचालन गरिएको शिविरमा एक सय २० जना मानसिक रोगका विरामीको उपचार गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख निशा थापाले जानकारी दिईन ।
जिल्लामा मानसिक रोगीको संख्या धेरै रहेको अनुमान मानसिक रोग बिशेषज्ञ डा. सुमन अर्यालको छ । शिविरमा आएका विरामीको अवस्था हेर्दा घरायसी समस्या र आर्थिक अवस्था कमजोर भएका परिवारमा मानसिक समस्या बढी देखिएको डा. अर्यालको भनाई छ । उनले पुरुष भन्दा महिलामा बढी मानसिक समस्या पाईएको बताए । सामान्य खालका मानसिक समस्या भएको विरामीको संख्या धेरै भएपछि शिविरमा आएका १३ जनामा गंभिर मानसिक समस्या देखिएको डा. अर्यालको भनाई छ । शिविरमा आएका विरामीहरुमा सुस्त मनस्थितिका महिला तथा बालबालिकाहरु धेरै भेटिएका छन् ।
सिएमसी नेपाल थापाथली काठमाडौंको समन्वयमा भेरी नगरपालिकाले मानसिक स्वास्थ्य शिविरमा संचालन गरेको थियो । उक्त शिविरमा सिएमसी नेपाल सुर्खेतमा कार्यरत मनोपरामर्शकर्ता कालीबहादुर नेपाली र भेरी नगरपालिकामा कार्यरत प्रवीण नेपालीले मानसिक रोगीहरुलाई मनोपरामर्श सेवा दिएका थिए ।
मनोपरामर्श सेवा लिन शिविरमा आएका विरामीहरु मध्ये कयौंले आत्माहत्या गर्ने अन्तिम तयारीमा पुगेका विरामीहरु पनि फेला परेको मनोपरामर्श कालीबहादुर नेपालीले बताए । आफुले मनोपरामर्श गरे पश्चात उक्त बिरामीहरुले आत्मबल र आत्म विश्वास बढाएर घर फर्केको नेपालीले जानकारी दिए ।
शरिरका विभिन्न भागहरु दुख्ने, निन्द्र नलाग्ने, खाना मन नलाग्ने, जिउ झमझमाउने, मुटु हल्लिने, मुख सुक्ने, श्वास फेर्न गाह्रो हुने, जिउ गल्ने, चाँडै थाक्ने, बेहोस हुने, मुखबाट फिज फाल्ने, अचेत हुने, बेहोस हुदा शरिरमा पिसाब परेको थाहा नहुने, झुट्टा कुराको बिश्वास गर्ने, अदृष्य तथा अलौकिक शक्तिको बिश्वास गर्ने जस्ता लक्षणहरु मानसिक रोगीहरुमा देखा पर्ने लक्षणहरु भएको डा. रोहित दहालले जानकारी दिए ।