राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका ७० स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाईएको छ । खोप लगाएपछि आत्मबल र आत्मविश्वास बढेको स्वास्थ्यकर्मीको भनाई छ । जाजरकोट अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहित ७० जनालाई खोप लगाईएको निमित्त स्वास्थ्य ब्यवस्थापक डा. सुनिल पुनले बताए ।
खोप अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा जिल्ला स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका डा. अमिन शाहलाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको हो । डा. शाहले खोप लगाएपछि आत्मबल र आत्मविश्वास दुवै बढेको बताए । उनले भने ‘ खोप नआउँदै के हो कस्तो हो । आफ्नै ज्यान जोखिमा राखेर त्रासका विच काम गर्नु पथ्र्यो खोप लगाएपछि भने ढुक्क भएको छ । अव आत्मबल र आत्मविश्वास दुवै बढेको छ । अव ढुक्कले काम गर्न सकिन्छ ।
जाजरकोट अस्पतालका साथै जिल्लाका अन्य तीन ठाँउबाट खोप लगाईने भएको छ । जिल्लाको छेडागाड नगरअस्पताल, जुनीचाँदेको गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्र र बारेकोटको लिम्सा प्राथमिक केन्द्रबाट खोप लगाउने ब्यवस्था मिलाईएको स्वास्थ्य ब्यवस्थापक डा. पुनले बताए ।सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सामुदायिक स्वास्थ्य स्वयसेविका, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी गरी जम्मा ८ सय १० लाई उक्त खोप लगाउने कार्यक्रम रहेको डा. पुनले जानकारी दिए ।
जिल्लामा हाल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १ सय ९२ भाईल आईपुगेको छ डा. पुनका अनुसार एक भाईलमा १० डोज हुन्छ, १ सय ९२ भाईलले १ हजार ९ सय २० जनालाई लगाउन मिल्छ । स्वास्थ्यकर्मीहरुलाई लगाएर बचेको डोज ६०–७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिने योजना छ । उक्त खोप बालबालिकाहरुमा परिक्षण नभएको हुदा १८ बर्षभन्दा मुनीका बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमाहरु र कोभिड–१९ सक्रिय संक्रमित व्यक्तिले लगाउन नमिल्ने डा. पुनले बताए ।
खोप लगाएको व्यक्तिले २८ दिनमा अर्को डोज गरी दुई पटक खोप लगाउनुपर्ने अस्पतालका डा. औसर सिह राठोरले बताए । खोप अभियान संचान गर्नका लागि नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार जिल्लाका सबै नागरिकहरुलाई प्रहिलो, दोस्रो र तेस्रो गरी तीन चरणमा खोप लगाई सक्ने डा. राठौरले जानकारी दिए ।र्