प्रवाह संवाददाता । जाजरकोट
तीन वटा ऐन संशोधन गर्दै भेरी नगरपालिकाको विधायन सभा सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य र विनियोजन ऐन संसोधन गर्नुको साथै महत्वपुर्ण नीति तथा प्रस्ताव पास गदै विधायन सभा सम्पन्न भएको हो ।
विधायन सभाले नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधन, स्वास्थ्य तथा सरसफाई ऐन–२०७४ र बिनियोजन ऐन–२०७७ संशोधन गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । संशोधन गरिएको नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधनमा रिक्त रहेको विद्यालय दरबन्दीको बिज्ञापन अनुमति नगरकार्यपालिकाको कार्यालयले दिने, अस्थायी, करार, राहत तथा अनुदान कोटामा कार्यरत शिक्षक कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कनका आधारमा विद्यालय व्यवस्थापन समितिले ६ महिना नबढाएर म्याद थप गरि नगर कार्यपालिकाको कार्यालयमा जानकारी गराउने लगायतका बुँदाहरु संशोधन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । त्यसैगरी नगर शिक्षा ऐनमा रहेका कतिपय अस्पष्ट शब्द तथा बाक्यहरुको परिभाषालाई परिमार्जन गरिएको छ । विधायन सभाले नगर स्वास्थ्य तथा सरसफाई ऐन–२०७४ मा गरिएको संरचना तथा कमिटीगत प्रणालीलाई संशोधन गरिएको छ । विनियोजन ऐन–२०७७ ले विनियोजन गरेका आयोजना बजेटमा कोभिड–१९ महामारीका कारण कार्यान्वयन हुन नसकेका, आयोजना सम्पन्न गर्न विवाद रहेर मुहान दर्ता हुन नसकेका र कतिपय मुहानहरुमा पानी नभएका खानेपानी आयोजनाहरुको विनियोजन बजेटलाई संशोधन गरिएको अधिकृत घर्तीले जानकारी दिए । उनका अनुसार विनियोजन ऐन–२०७७ पारित भईसकेपछि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आएको करीव २ करोडको बजेटलाई विनियोजन ऐनमा समावेश गरी कार्यान्वयनमा ल्याउन विधायन सभाले बाटो खुल्ला गरेको छ । विनियोजन ऐन–२०७७ मा रहेका १७ वटा आयोजनालाई संशोधन गरिएको छ ।
नगरप्रमुख तथा विधायन सभाका अध्यक्ष चन्द्रप्रकाश घर्तीको सभाध्यक्षतामा भएको विधायन सभाले बिशेष प्रस्तावका रुपमा नगरपालिका भित्र रहेका सुकुमबासीहरुको लगत संकलन गर्ने नीति पास गरेको छ । त्यस्तै विधायन सभाले सुकुमबासीहरुको लगन संकलन गर्ने, घर अभिलेखिकरण गर्ने र जग्गा कित्ता काट सम्बन्धिको नयाँ नीति पास परेको छ । हालसम्म नगरपालिकामा बन्द गरिएको घर अभिलेखिकरणको प्रक्रियालाई खुल्ला गरिएको छ । घर अभिलेखिकरण पश्चात बैंकको ऋण लिएर पेशा व्यवसाय संचालन गर्ने व्यवसायीहरुका लागि नगरपालिकाले सिफारिस गर्न सकिने बताईएको छ । त्यसैगरी २ आना भन्दा कम क्षेत्रफल भएको जग्गाको कित्ता काटमा रोक लगाएको नगरपालिकाको यस विधायन सभाले नेपाल सरकारको प्रचलित कानुन कायम हुनेगरी जग्गाको कित्ता काट गर्न पाउने व्यवस्थालाई खुल्ला गरेको अधिकृत घर्तीले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य भैरबसुन्दर श्रेष्ठ, पुर्व साँसद रत्न प्रसाद शर्मा, नेकपाका नेता ढकवीर राना, राप्रपाका दीपक खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।