राडी बजारमा लगाईएको कफ्यु हटाईयो

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ को राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र ६ (३ क) बमोजिम मंगलवार बेलुकी ५ बजेदेखि चार किल्ला तोकेर लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए ।
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको जनाएको छ । रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ९ राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । काँग्रेस नेता एवं ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, नेपाल विद्यार्थी संघका नेता तेजविक्रम आरसी र काँग्रेस कार्यकर्ता दीपक केसी गंभिर घाईते भएका छन् ।
आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडी बजारमा प्रहरी कार्यालयमै छलफलको क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । बेलुकी ५ बजे राडी बजारमा निषेधाज्ञा जारी गरिएपछि भिड तितरबितर भएको थियो ।
बुधबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल चलिरहेकै समयमा नेकपा (दाहाल–नेपाल) समूहका कार्यकर्ताले आक्रमण गर्दा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही, नेविसंघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी, कांग्रेस क्रियाशिल सदस्य दीपक केसीसहित पाँच जना घाइते भएको कांग्रेसले जनाएको छ ।
दुबै राजनीतिक दलका कार्यकर्ता बिच आठबिसकोटमा खानेपानी, बस काउन्टर लगायतका बिषय विवादका मुख्य विषय भएको स्थानियको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad