March 7 - 2021, Sunday२३ फाल्गुन २०७७, आईतवार

रुकुम घटना ः घाईतेलाई थप उपचारका लागि कोहलपुर पठाइयो काँग्रेस द्धारा घटनाको भत्सर्न

राजेन्द्र कार्की । जाजरकोट

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ९ राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । काँग्रेस नेता एवं ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, नेपाल विद्यार्थी संघका नेता तेजविक्रम आरसी र काँग्रेस कार्यकर्ता दीपक केसीलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो ।

सोमबार बेलुका सुरु भएको झडप मंगलबार दिनभर चलेको थियो । आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडी बजारमा प्रहरी कार्यालयमै छलफलको क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । बेलुकी ५ बजे राडी बजारमा निषेधाज्ञा जारी गरिएपछि भिड तितरबितर भएको थियो ।

इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले निषेधाज्ञा जारी भएपछि राडी र त्यस आसपासको अवस्था सामान्य रहेको बताए । निषेधाज्ञा अझै कायमै छ ।
नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भत्र्सना गरेको छ । कांग्रेसले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तथा घाइतेहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

 

बुधबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल चलिरहेकै समयमा नेकपा (दाहाल–नेपाल) समूहका कार्यकर्ताले आक्रमण गर्दा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही, नेविसंघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी, कांग्रेस क्रियाशिल सदस्य दीपक केसीसहित पाँच जना घाइते भएको कांग्रेसले जनाएको छ ।
नेकपाबाट निर्वाचित वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले प्रहरीको अगाडि नै चक्कु प्रहार गरी घाइते बनाएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटनाहरु पुनः नदोर्होयाउन नेकपालाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।
घाइते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भीर चोट लागेको छ । उनीहरुलाइ बुधबार बिहान थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको र अन्य दुई जनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ जिल्ला प्रहरी प्रमुख धुव्र कुमार श्रेष्ठले बताए ।
यस्तै घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बिक, वडा नम्बर ८ का वडा अध्यक्ष मानबहादुर चनारासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुबै राजनीतिक दलका कार्यकर्ता बिच आठबिसकोटमा खानेपानी, बस काउन्टर लगायतका बिषय विवादका मुख्य विषय भएको स्थानियको भनाई छ ।

Prabaha

faujikira-sambandhi-suchana