प्रवाह संवाददाता । पश्चिम रुकुम
रुकुम पश्चिममा दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले नौ राउण्ड हवाई फायर गरेको छ ।
आठबीसकोट नगरपालिकामा नेकपा (दाहाल–नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको हो । उनलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलमा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताए ।
शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि आक्रोशित नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेका छन् ।
प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । जिल्लाबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि स्थित नियन्त्रणमा आएको उनले बताए । प्रहरीले वडाध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको छ । आठबीसकोटमा खानेपानी, बस काउण्टरलगायतका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक–पटक विवाद र झडप हुँदै आइरहेको छ ।