राजेन्द्र कार्की । जाजरकोट
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले जाजरकोटमा बौद्धिक अध्ययन केन्द्र नामक पुस्तकालय स्थापना गरेको छ । अध्ययन केन्द्रका कर्णाली प्रदेश अध्यक्ष ईलमबहादुर शाही र नेपाली कांग्रेस, जाजरकोटका पूर्व सभापति सनत कुमार कार्कीले सदरमुकाम खलंगामा संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गरेका हुन् । काँग्रेसका शुभचिन्तक तथा शुभेच्छुकहरुबाट चन्दा सहयोग संकलन गरेर पुस्तकालयका स्थापना गरिएको हो ।
प्रमुख अतिथिको रुपमा बोल्दै अध्ययन केन्द्रका कर्णाली प्रदेश अध्यक्ष शाहीले छोटो समयमै पुस्तकालय स्थापना गरेर जाजरकोटले उदाहरणीय कार्य गरेको बताए । विचार विहिन मानिसहरु स्वार्थका पछि लाग्ने भएकोले विचार सहितका कार्यकर्ता उत्पादन गर्न पुस्तकालय र अध्ययन केन्द्र सहयोगी सिद्ध हुने अध्यक्ष शाहीको भनाई छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा बौद्धिक, प्राज्ञिक व्यक्तित्वहरुको संस्था भएको बताउँदै शाहीले भने ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको संरक्षण र सर्बद्धन गर्नु नै संस्थाको मुख्य लक्ष्य र उद्देश्य हो ।’
४४ औं राष्ट्रिय मेलमिलाप दिबसको अबसर पारेर सामाजिक लोकतन्त्र अध्ययन केन्द्र, जाजरकोटले बौद्धिक अध्ययन केन्द्र पुस्तकालय स्थापना गरेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बहसलाई नयाँ उचाईमा उठाउन मद्दत गरेको नेपाली कांग्रेस जाजरकोटका पुर्व सभापति सनत कुमार कार्कीले बताए । बिचार बिना गरिने राजनीतिले जनताको सेवा गर्न नसक्ने बताउदै नेता कार्कीले स्थापना गरिएको पुस्तकालयले राजनैतिक बौद्धिकता प्रदान गर्ने बिश्वास व्यक्त गरे ।
स्थापना गरिएको पुस्तकालयमा ६ सय ७ प्रकारका झण्डै १४ सय पुस्तकहरु रहेको जानकारी दिदै सामाजिक लोकतन्त्र अध्ययन केन्द्र, जाजरकोट अध्यक्ष जनक केसीले पुस्तकालयमा विभिन्न राजनैतिक बिचार तथा सिद्धान्त, कृषि, शिक्षा, स्वास्थ्य, प्रराष्ट्रसंग सम्बन्धित पुस्तकहरु रहेको बताए ।
पुस्तकालय स्थापना गर्न दाताहरुले गरेको जम्मा सहयोग रकम ३ लाख ६३ हजार ५ सय ३२ रुपैयाबाटै २ लाख ९६ हजारको पुस्तकहरु खरिद गरिएको अध्यक्ष केसीले जानकारी दिए । बाँकी रहेको रकमबाट घर भाँडा, कार्यालयका कुर्सी टेवुल लगाएतका काममा खर्च गरिएको अध्यक्ष केसीले बताए । उक्त पुस्तकालयको आजीवन सदस्यता बन्नका लागि ५ हजार शुल्क तिर्नुपर्ने जानकारी दिदै अध्यक्ष केसीले साधारण सदस्यले बार्षिक ५ सय शुल्क तिर्नुपर्ने बताए ।