राजेन्द्र कार्की । जाजरकोट
क्यान्सर पिडित एक बालकको उपचारमा सहयोग जुटाउन जाजरकोट सदरमुकाम खलंगाका युवाहरुले एक कप चिया अभियान चलाएका छन् ।
भेरी नगरपालिका २ निवासी डिलबहादुर पुनका ५ बर्षिय छोरा चन्द्रप्रकाश पुनलाई क्यान्सर लागेर काठ्मान्डौ स्थित कान्तिबाल अस्पतालमा उपचार गराईरहेका छन् । तर आर्थिक अवस्था कमजोर भएका डिलबहादुरले अस्पतालमा लाग्ने खर्च जुटाउन नसकेपछि समस्यामा छन् । उपचारमा ठुलो रकम आवश्यक पर्ने तर खर्च जुटाउन नसकेपछि उनले सहयोगको याचना गरेका छन् । उनलाई काठ्मान्डौमा खान बस्न समेत समस्या परिरहेको छ । छोराका उपचारका लागि ऋण काढेर २५ हजार लिएर आएको थिए । सकिहाल्यो । अव कसरी छोराको उपचार गरुँ उनले दुःख प्रकट गदै भने ‘हे भगवान मेरो छोरालाई जसरी पनि बचाई दिउ । सम्पतिको नाममा दुई रोपणी पाखो जग्गा मात्र छ । घरमा कमाई गर्ने कोही छैन । म ज्याला मजदुरी गरेर परिवारको छाक टार्थे छोरालाई क्यान्सर लागेछ म कसरी उपचार गराउँ ।’

आर्थिक अभावले ति बालकको उपचारमा समस्या परेपछि सामाजिक काममा सक्रिय परिवर्तनका लागि युवा अभियानमा संलग्न युवायुवतिहरुले चन्द्र बहादुर पुन बचाउ अभियान अन्र्तगत एक कप चिया दिएर सहयोग संकलन थालेका हुन् । एक कप चिया दिएर क्यान्सर पिडित चन्द्रबहादुर बचाउनका लागि स्वच्छिक चन्दा संकलन गरिरहेका छौ अभियान्ता अनिशकुमार कार्कीले भने ‘विद्यालय, कलेज, सार्वजनिक चोक, बजार लगायतका क्षेत्रमा चिया दिएर सहयोग मागिरहेका छौ । दुई दिनमा ८५ हजार रकम संकलन भएको छ । अभियान जारी छ । केही दिनमै हामी संकलित रकम पिडितको बुवालाई हस्तान्तरण गछौ ।’ चिया अभियानका साथै सांस्कृतिक सन्सर्ट गरेर पनि सहयोग रकम जुटाउने अर्का अभियान्ता सुचित्र सागर श्रेष्ठले बताए ।
यस अघि परिवर्तनका लागि युवा अभियानले भैरहवाकी १३ महिनाकी वालिका सियोना श्रेष्ठको उपचारका लागि जाजरकोटका युवाहरुले एक लाख ३८ हजार रुपैया सहयोग पठाएका थिए । स्पाइनल मास्कुलर एट्रोफी नामक महारोगले ग्रसीत भएर उपचार गराइरहेकी भैरहवाकी १३ महिनाकी वालिका सियोनाको उपचार खर्च २० करोड बढी खर्च लाग्ने भएको भन्दै परिवर्तनका लागि युवा अभियान जाजरकोटमा आवद्ध युवायुवतीहरुले चन्दा संकलन गरेर जम्मा गरेको एक लाख ३८ हजार ९० रुपैया पठाएका हुन् ।