राजेन्द्र कार्की । जाजरकोट
एउटा कक्षामा बढीमा कति विद्यार्थी राखेर पढाउन सकिएला ? ४०, ५० बढीमा ६० जना सम्म तर होइन एउटै कक्षामा एक सय ६८ जना विद्यार्थी एकै पटक पढ्ने गरेका छन् । पत्याउनै गाह्रो पर्ने गरि त्रिभुवन माध्यामिक विद्यालय जाजरकोट खलंगामा कक्षा ९ को अर्थशास्त्र विषय एकै पटक एक सय ६८ जना विद्यार्थी पढ्न बाध्य छन् । कक्षा कोठामा विद्यार्थी नअटेपछि खुला चौरमा बसालेर पढाउने गरिएको शिक्षक राजेश शर्माले बताए ।
कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम गरेर पठनपाठन गर्ने सरकारी निर्देशन छ तर विद्यार्थीको चाप र दरबन्दी अभावका कारण सो विद्यालयमा यति ठुलो संख्यामा एक जना शिक्षकले एउटै पिरियडमा पढाउनु पर्ने बाध्यता रहेको शिक्षक शर्माको भनाई छ । कक्षा ९ मा दुई सय ८ जना विद्यार्थी छन् । तीन सेक्सनमा विभाजन गरिएको छ । त्यसमध्य ऐच्छिक प्रथम विषय अन्र्तगत ४० जनाले ऐच्छिक गणित र अन्य एक सय ६८ जनाले ऐच्छिक अर्थशास्त्र विषय अध्ययन गर्दछन । तर ऐच्छिक विषयमा प्रत्येक सेक्सनमा पढाई नभएर एकै ठाँउमा राखेर पढाउँदा समस्या भएको हो ।
विद्यार्थी धेरै हुँदा कक्षा कन्ट्रोल गर्न समेत हम्मेहम्मे भएको शिक्षक शर्माको अनुभव छ । शिक्षक शर्माले कक्षा सातमा पनि पढाउँछन् । त्यहाँ पनि एउटै कक्षामा ९६ जना विद्यार्थी एउटै कोठामा राखेर पढाई रहेको छु । यसरी पढाउँदा पढाईको गुणस्तर कसरी कायम होला उनले प्रश्न गदै भने सवै झारा टार्ने काम भैरहेको छ । विद्यार्थीको चाप अत्याधिक छ तर सोही अनुसार विषयगत शिक्षक दरबन्दी नहुँदा यसरी एउटै ठाँउमा राखेर पढाउनु पर्ने बाध्यता भएको निमित्त प्रधानाध्यापक हरिबहादुर बस्नेत बताउँछन् । विद्यालयमा नयाँ विद्यालय ब्यवस्थापन समिति गठन गर्ने प्रक्रियामा छौ । नयाँ ब्यवस्थापन समिति आउने वित्तिकै यो समस्यालाई कसरी समाधान गर्ने छलफल गछौ प्रधानाध्यापक बस्नेतले भने ।
शिक्षा नियमावली अनुसार एउटा कक्षा कोठामा ४० जना सम्म विद्यार्थी राखेर पढाउनु पर्ने कुरा उल्लेख गरिएको छ । विद्यार्थी संख्या धेरै भए सेक्सन विभाजन गर्नुपर्ने प्रावधान राखिएको छ । तर एक सय ६८ जना विद्यार्थी एकै ठाँउमा राखेर पढाउँदा पनि कुनै अभिभावकले चासो राखेका छैनन् । विद्यालय संगै भेरी नगरपालिकाको शिक्षा शाखा जोडिएको भएपनि अनुगमण र नियमणमा कुनै चासो देखाएको छैन ।
कक्षाकोठा र शिक्षक अभावमा एउटै कोठामा ठुलो संख्यामा विद्यार्थी राखेर पढाउँदा कोरोना महामारीको जोखिम पनि उत्तिकै बढिरहेको छ । त्यसतर्फ कसैले चासो र चिन्ता गरेको पाइदैन । यो विद्यालयलाई यसै शैक्षिक बर्ष देखि सरकारले नमुना विद्यालय समेत घोषणा गरिएको छ ।