राजेन्द्र कार्की । जाजरकोट
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीले पाँच महिना देखि तलबभत्ता पाउन सकेका छैनन् । गत साउन देखि तलब खाना नपाए पनि ति स्वास्थ्यकर्मीहरु कोभिड–१९ रोकथाम तथा उपचारमा खटिरहेका छन् ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सामुदायिक नर्स कार्यक्रम अन्तरगत स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले २८ माघ २०७६ मा १४ जना स्वास्थ्यकर्मीलाई करार नियुक्ति दिएको थियो । एक जना स्टाफ नर्स, दुइ जना स्वास्थ्य सहायक र ११ जना अनमी गरी १४ स्वास्थ्यकर्मीको करार नियुक्तिको म्याद गत असार मसान्तमा समाप्त भएपनि पुनः म्याद थप गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले गत भदौं २३ गते म्याद थप गरेको थियो । मन्त्रालयको प्राप्त पत्र र गत भदौ २५ गते स्वास्थ्य सेवा कार्यालयले गरेको निर्णयका आधारमा कोभिड–१९ रोकथाम तथा उपचारमा काम गर्नेगरी कार्यालयले सामुदायिक नर्स कार्यक्रममा करार नियुक्ति लिएका स्वास्थ्यकर्मीहरुको ६ महिनाका लागि म्याद थप गरेको हो ।
गत साउन महिनादेखि तलब साना नपाएका स्वास्थ्यकर्मीहरु हालसम्म नियमित सेवामै खटिरहेका छन् । कामगरेको पारिश्रमिक तथा तलब समयमै नपाएपछि आफुहरुलाई निकै तनाव भएको अनमी चन्द्रा डिसीले जानकारी दिईन् । समयमै तलव नपाएपछि दैनिक खर्च टार्न निकै कठिनाई भएको उनले बताईन् । जिल्ला सदरमुकाम भन्दा बाहिरका स्वास्थ्य संस्थाबाट सेवा दिई रहेका स्वास्थ्यकर्मीलाई झनै कठिनाई भएको छ । उनीहरुले नियमित तलबका साथै कोभिड भत्ता समेत पाउन सकेका छैनन् ।
कोभिड–१९ रोकथाम तथा उपचारको लागि करार म्याद थम गरीएका स्वास्थ्यकर्मीहरुको तलब खुवाउनलाई सामाजिक बिकास मन्त्रालयले कोष नियन्त्रण कार्यालयमा बजेट पठाई सकेको तर, महालेखा परिक्षकको कार्यालयले सप्टवेईरमा ईन्ट्री गरि नसकेको हुदा निकासा रोक्का भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिए । मलेपले रोक्का गरेको निकासालाई फुकुवा गर्न वित्तिकै हामी उहाँहरुलाई तलब खुवाउछौं डा. पुनले भने ।
त्यसैवीच, जाजरकोट अस्पताल विकास समितिबाट करार नियुक्ति गरिएका कर्मचारीहरुले पनि समयमै तलब पाउन नसकेको गुनासो गरेका छन् । अस्पताल विकास समितिले करारमा नियुक्त गरिएका एक जना स्वास्थ्य सहायक, पाँच जना अहेब र ५ जना कार्यालय सहयोगी गरी ११ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले तलबभत्ता पाउन सकेका छैनन् ।