January 18 - 2021, Monday५ माघ २०७७, सोमबार

नमुना विद्यालयमा एउटै कक्षा कोठामा ९४ विद्यार्थी राखेर पठनपाठन

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययरत पुजा विक कयौ दिन उभिएर पढ्न बाध्य छन् । अलिकति ढिला भए उनी मात्र होइन अन्य विद्यार्थी पनि उभिएरै पढ्नु पर्ने बाध्यता छ । धेरै विद्यार्थी हुँदा बस्ने ठाँउ पनि नपाईने र पढाएको पनि बुझ्न गाह्रो भैरहेको उनले गुनासो गरिन ।

विद्यार्थी संख्या धेरै तर बस्ने बेञ्चको संख्या थोरै हुँदा केही विद्यार्थी उभिएरै पढ्नु पर्ने बाध्यता छ । ८० जना विद्यार्थीको क्षमता भएको कक्षाकोठामा ९४ जना विद्यार्थीलाई सगै राखेर पढाउँदा बाँकी विद्यार्थी उभिएर पढन बाध्य भएको शिक्षक रामप्रसाद घर्तीले बताए । विद्यार्थी धेरै भएको र कक्षाकोठामा बस्ने ठाँउ नभएपछि धेरै दिन देखि खुला चौरमा राखेर पढाईरहेको उनले बताए । तर अंग्रेजी, गणित, विज्ञान जस्ता विषय सिकाउन बोर्ड (सेतोपाटी) प्रयोग गर्नुपर्ने भएकोले खुलाचौरमा पढाउन समस्या हुने गरेको छ ।


शिक्षा नियमावली अनुसार एउटा कक्षा कोठामा ४० जना सम्म विद्यार्थी राखेर पढाउनु पर्ने कुरा उल्लेख गरिएको छ । विद्यार्थी संख्या धेरै भए सेक्सन विभाजन गर्नुपर्ने प्रावधान राखिएको छ । तर ९४ जना विद्यार्थी हुँदा पनि भेडावाख्रा हुले झै गरि पढाउने गरिएको विद्यार्थीको गुनासो छ । हामीलाई यतिधेरै विद्यार्थी बसेर पढ्न गाह्रो भयो सेक्सन विभाजन गरेर पढाउनु पर्यो भन्दा सरहरुले नसुनेझै गुर्न हुन्छ कक्षा ७ का अमिर केसीले गुनासो गरे । उनले एउटै कोठामा कोचिएर पढ्दा पढाएको नबुझिने र हल्ला मात्र हुने गरेको बताए ।

९४ जना विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेका छन् । नौ महिना पछि भर्खर खुलेको सो विद्यालयमा ६ कक्षा देखि १० कक्षा सम्म करीव ६ सय बढी विद्यार्थी नियमित आउने गरेका छन् । कक्षा नौ मा तीन ओटा सेक्सन छन् तर ऐच्छिक अर्थशास्त्र विषयमा एक सय ५० विद्यार्थी हुँदा पढाई हुन सकेको छैन । शिक्षक राजेश शर्माले भने डेढ सय विद्यार्थीलाई म एक्लैले एकैपटक कसरी पढाउने ?
कक्षाकोठा र शिक्षक अभावमा एउटै कोठामा ठुलो संख्यामा विद्यार्थी राखेर पढाउँदा कोरोना महामारीको जोखिम पनि उत्तिकै बढिरहेको छ । त्यसतर्फ कसैले चासो र चिन्ता गरेको पाइदैन । केही समय पहिले यहि विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । त्यतिवेला धेरै डेस्क बेञ्च टुटफुट भएका छन् तर अहिले सम्म थप बेन्च डेस्क बनाईएको छैन । भेरी नगरपालिकाले बजेट उपलब्ध गराउने भने पनि हाल सम्म रकम नदिएको विद्यालय प्रशासनले जनाएको छ ।

नगरपालिका नजिकै यो विद्यालय जोडिएको छ । यो विद्यालयलाई यसै शैक्षिक बर्ष देखि सरकारले नमुना विद्यालय समेत घोषणा गरिएको छ । तर पनि विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या भैरहेको त्रिभुवन माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक हरिबहादुर बस्नेतले बताए । विद्यालयमा रकम अभावले निजी स्रोतका शिक्षक भर्ना गर्न नसकिएको र दरबन्दीका शिक्षकले मात्र सेक्सन विभाजन गरेर पढाउन गाह्रो भैरहेको उनले बताए । कक्षा ६ देखि १२ सम्म १६ दरबन्दी छन् तर विद्यार्थी संख्या एक हजार बढी रहेका छन् । गत बर्ष निजीमा नियुक्ति गरिएका पाँच जना शिक्षकलाई तलब खुवाउने पैसा नभएपछि उनीहरुलाई यस बर्ष बोलाउन नसकिएको प्रधानाध्यापक बस्नेतले बताए । नयाँ ब्यवस्थापन समिति गठनको प्रक्रिया अघि बढिरहेको छ के गर्ने कसरी पठनपाठन ब्यवस्थित गर्ने भन्ने कुरा त्यसपछि मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।

Prabaha

faujikira-sambandhi-suchana