राजेन्द्र कार्की । जाजरकोट
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले सरकार पुर्ण रुपमा असफल भएको बताएका छन् । उनले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएकोले उसलाई ठेगान लगाउन कांग्रेस सडकमा उत्रिएको चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसले सोमबार देशब्यापी रुपमा गरेको प्रदर्शनका क्रममा जाजरकोट सदरमुकाम खलंगामा आयोजना गरिएको आमसभामा नेता थानीले यस्तो बताएका हुन् । ‘सरकार बेलगाम भयो, सरकार निरंकुश भयो, सरकार भष्टाचारमा चुलुम्म डुवेको छ, सरकारले सर्वसत्तावाद लागु गर्ने दुश्प्रयास गरेको छ त्यसैले सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा उत्रिएको छ, सरकार ठेगानमा नआउँदासम्म कांग्रेस सडकबाट फर्किँदैन’ थानीले भने । उनले, सवै परिवर्तनको नेतृत्व गरेको काँग्रेसलाई कमजोर नठान्न आग्रह गदै काँग्रेस सँग जोरी खोज्ने शक्ति अन्ततः आफै पतन भएर जाने भन्दै राणा, पञ्च र राजाको हालत हुने चेतावनी दिए । नेता थानीले कम्युनिष्ट सरकार देखि जनता वाक्कदिक्क भएकोले आगामी सरकार काँग्रेसको हुने ठोकुवा गरे । उनले दुई पार्टी मिल्दा काँग्रेस केही खुम्चिएको जस्तो देखिएपनि काँग्रेस कमजोर पार्टी नभएको दावी गरे ।
विरोध सभामा नेपाली काँग्रेस जाजरकोटका सभापति सनतकुमार कार्कीले सरकार भष्टाचारमा चुर्लुम्म डुवेको आरोप लगाए । उनले न्यायालय र अख्तियारमा समेत सरकारले हस्तक्षेप गदै निरंकुता लाद्न खोजेकोले सर्वसत्तावाद र निरंकुशता विरुद्ध काँग्रेस सडकमा उत्रिएको बताए । नेपाली काँग्रेसका युवा नेता वेदराज सिंहले समृद्धिको चाहना राख्दै जनताले नेकपालाई भोट दिएर देशैभर जिताएका थिए तर तीन बर्षमै कम्युनिष्टहरुको असली रुप देख्न पाएको बताए । जाजरकोटबाट प्रदेश र संघिय संसदमा ८ जनाले प्रतिनिधित्व गर्नुहुन्छ तर खै विकास भएको ? हिजो काँग्रेसका पाला छिन्चु जाजरकोट सडक कालोपत्रे भयो । वर्तमान सरकारले तीन बर्षमा ६ किलोमिटर मात्र कालोपत्रे गर्यो । खै काँहा छ विद्युतिकरण ? खै काँहा छ टेलिफोन सेवा विस्तार र टावर निर्माण ? गफ गरेर मात्र समृद्धि हुन्छ ? उनले प्रतिप्रश्न गदै भने सरकारका मन्त्रीहरु कसरी कमाउने भन्ने ध्याउन्नमा छन् । हिजो चप्पल लगाएर हिड्नेहरु अहिले शहरमा महल बनाउँदैछन् । विदेशमा लगानी गदैछन् । गरीव , दलित, जनजाती, महिला अल्पसंख्यक आदिको नाममा यही गर्नका लागि राजनिति थालिएको हो ? नेता सिंहले भने ‘भष्ट दलाल सरकारका प्रतिनिधीहरु, भष्ट कर्मचारीहरु खवरदार तपाईहरुको एक एक हिसाव राखेर काँग्रेस बसेको छ । कुनै दिन बदला लिन नपरोस ।’
नेपाली काँग्रेस जाजरकोटका सभापति दीपकजंग शाहको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति महेन्द्र शाह, महासमिति सदस्य मुक्तिप्रसाद आचार्य, महासमिति सदस्य मैना कार्की, नेपाली काँग्रेसका कोषाध्यक्ष तेजविक्रम शाह, कुशे गाँउपालिका उपाध्यक्ष रामछाया शाही, क्षेत्रिय सचिव छवि पन्त, शिक्षक संघका उपाध्यक्ष जनक सिंह लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए । विद्यार्थी नेता खडक विसीले संचालन गरेको कार्यक्रममा जिल्लाका सवै सात ओटै पालिकाबाट काँग्रेस कार्यकर्ता विरोध कार्यक्रममा सरिक भएका थिए । पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली नाराजुलुस सहित ठाँटी, गैरीखाली, पिपलडाँडा हुँदै ठाँटीबजारमा आएर कोणसभामा परिणत भएको थियो ।