राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा ९३ जना विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेका छन् । नौ महिना पछि भर्खर खुलेको सो विद्यालयमा ६ कक्षा देखि १० कक्षा सम्म करीव ६ सय विद्यार्थी नियमित आउने गरेका छन् । सवै कक्षामा ६० भन्दा बढी विद्यार्थी राखेर पढाउने गरिएको छ ।
तर कक्षाकोठा र शिक्षक अभावमा एउटै कोठामा ठुलो संख्यामा विद्यार्थी राखेर पढाउँदा कोरोना महामारीको जोखिम बढिरहेको छ । कोरोना महामारीकै कारण गत चैत्र देखि बन्द रहेका विद्यालय जाजरकोटका स्थानिय तहले खोल्ने निर्णय गरे सँगै पठनपाठन शुरु गरिएको छ । गत चैत्र देखि कारोना महामारीको त्रासका विच बन्द भएका विद्यालय खुलेपछि रोकिएको पढाई सुचारु भएको भन्दै खुसी भएका विद्यार्थी र अभिभावक कोरोना सर्ने हो कि भन्ने संत्रासमा छन् । अधिकांश विद्यालयमा न मास्क लगाउने ब्यवस्था गरिएको छ न सामाजिक दुरी कायम गरिएको छ । जसका कारण कोरोना महामारी फैलिन सक्ने जोखिम बढ्ने संभावना देखिएको छ ।
त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक हरिबहादुर बस्नेतले सवै विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिईएको बताए । तर केही मात्र मास्क लगाएको र धेरै विद्यार्थी मास्क नलगाएर विद्यालय आउने गरेको त्रिभुवन माविका शिक्षक रामप्रसाद घर्तीले बताए ।
कोरोनाको प्रकोप समुदायका विभिन्न ब्यक्तिहरुमा देखापरिरहेको छ तर परिक्षणको दायरा बढाईएको छैन । संकास्पदले समेत पिसिआर परिक्षण गर्न पाएका छैन ।
जिल्ला अस्पतालका डा. अमिन शाहले २० जनाको परिक्षण गर्दा ५÷६ कोरोना सक्रमण हुने गरेको बताए । उनले भित्र भित्रै समुदायमा संक्रमण फैलिरहेको आशंका गरे । यस्तो बेला विद्यालय खोलिएको र सामाजिक दुरी कायम नगरि मास्क अनिवार्य नगरि पठनपाठन गर्दा संक्रमण फैलने संभावना निकै धेरै हुने डा. शाहको भनाई छ । तर सम्बन्धित निकायले कोरोनाको पिसिआर परिक्षणका लागि कुुनै अग्रसरता देखाएको छैन ।