January 24 - 2021, Sunday११ माघ २०७७, आईतवार

वर्णसंकर सत्ताको कोलाहल

महेश भट्टराई

आआफ्ना मालिकलाई बुझाउन नसक्ने बुद्धिजीवीहरूले विद्वान् हुन खोज्दा के होला ?

 


संसदीय प्रजातन्त्रको जननी मानिने संयुक्त अधिराज्यमा आधारित संस्थाले प्रजातान्त्रिक सूचकांकको विकास गरेको छ। १० पूर्ण अंकमा मापन गरिने यो मानकमा बहुलवाद र निर्वाचन प्रणाली, सरकार सञ्चालन, राजनीतिक सहभागिता, राजनीतिक संस्कृति तथा नागरिक स्वतन्त्रता गरी पाँचवटा समान अंकभार भएका तथ्यहरूको औसतलाई प्रजातान्त्रिक सूचकांक भनी परिभाषित गरिएको छ। यही शासकीय मानकका आधारमा सरकारहरूलाई चार वर्गमा विभाजन गरिएको हुन्छ। औसत आठ अंकभन्दा माथि मापन भएको शासन ‘पूर्ण प्रजातान्त्र’, ६ देखि ८ वा त्योभन्दा कम मापन भएको सरकार सुधार गर्नुपर्ने ‘त्रुटिपूर्ण प्रजातन्त्र’, ४ देखि ६ वा त्योभन्दा कम मापन भएको सरकार ‘वर्णसंकर सत्ता’ तथा चार वा सोभन्दा कम मापन भएको सरकार ‘सर्वसत्तावादी सत्ता’ मा विभक्त गरिएको छ।

उपरोक्त वर्गीकरणअनुसार वर्णसंकर सत्तामा पर्ने नेपाली शासनको सन् २०१८ को मापन ५.१८ सन्तानब्बेऔं स्थान र सन् २०१९ को ५.२८ बयानब्बेऔं स्थान रहेको छ। एक सय ६५ मुलुकमा गरिएको अध्ययनअनुसार नेपाल सन् २०१९ मा अघिल्लो वर्षको दाँजोमा पाँच स्थान माथि उक्लिएको छ। वर्णसंकर सत्तालाई प्रजातन्त्र तथा सर्वसत्तावादको सम्मिश्रण मान्ने गरिएको पनि सोही संस्थाको परिभाषा रहेको छ। त्यसैगरी समावेशी तथा लोकतान्त्रिक परिभाषित गरिएको नेपालको संविधान २०७२ को कार्यान्वयनपछि पनि नेपाल एसियाका मुलुकमध्ये उच्च भ्रष्टाचार हुनेको श्रेणीमा अब्बल देखिएको तथ्य ट्रान्सपेरेन्सी इन्टरनेसनलको प्रतिवेदनले सार्वजनिक गरेको छ। माथिका दुवै तथ्यको नतिजाप्रति जजसको जेसुकै प्रतिक्रिया भए पनि यसमा उपयोग गरिएको विधिलाई प्राज्ञिक समूहले प्रश्न उठाएको कम्तीमा देखिएको छैन। यो आलेखमा उल्लिखित मानक तथा मापनको प्राज्ञिक पक्षबारेमा विवेचना गरिनेछ।

समाज रूपान्तरणका वाहक शिक्षकको क्षमता तथा गुरुत्व विकास र समाज सञ्चालनका सारथि राजनीतिकर्मीको समुचित विकास गर्ने हाम्रो सनातन धर्मले भनेको शिक्षा अनुकरण गर्ने बेला भएन र ?

माथि उल्लिखित प्रजातान्त्रिक सूचकांकको पहिलो सूचक बहुलवाद र निर्वाचन प्रणाली रहेको छ। यी दुवै विषय उदारवाद र प्रजातन्त्रसँग क्रमशः मेल खाने देखिन्छ। सिन्धु नदी किनाराबाट सुरु भएको सनातन हिन्दु दर्शनले फरक मतलाई समेत सम्मान गर्ने गरेको छ। वेदको प्रामाणिकतामा विश्वास गर्ने आस्तिक दर्शन (न्याय, वैशेषिक, सांख्य, योग, पूर्वमीमांसा र वेदान्त) तथा वेदमा विश्वास नगर्ने नास्तिक दर्शन (जैन, बौद्ध र चार्वाक) र त्यसैगरी ईश्वरको अस्तित्वमा विश्वास गर्ने ईश्वरवादी दर्शन (योग, वैशेषिक, न्याय र वेदान्त) तथा ईश्वरको अस्तित्वमा विश्वास नगर्ने अनीश्वरवादी दर्शन (जैन, बौद्ध, चार्वाक, सांख्य र पूर्व मीमांसा) सबै पन्थहरू तथा दर्शनप्रति सनातन हिन्दु मतावलम्बीले प्रेम, सहिष्णुता तथा सम्मान गर्ने गरेको पाइन्छ। फरक मतावलम्बीलाई वसुधैव कुटुम्बकमका दृष्टिले हेर्ने सनातनी शत्रुतामा विश्वास गर्दैनन्। त्यसैले पूर्वीय दर्शन नै आधुनिक उदारवादको प्रणेता तथा शास्त्रीय बहुलवादको सर्जक रहेको पाइन्छ।

ज्ञानयोग, कर्मयोग तथा भक्तियोगमा विश्वास गर्ने सनातनीहरू ज्ञानका लागि ज्ञान होइन कि मोक्षका लागि ज्ञान आवश्यक भएकोमा विश्वास गर्छन्। त्यसैले सम्यक साधनका माध्यमबाट सम्यक साध्य प्राप्त गर्नुपर्नेमा यिनीहरू जोड दिन्छन्। ज्ञान (बुद्धम् शरणम् गच्छामि), समाज ज्ञान (संघम् शरणम् गच्छामि) तथा धर्मज्ञान (धम्मम् शरणम् गच्छामि) को शरणमा जानका लागि उत्प्रेरित गर्ने बौद्ध पन्थका त्रिरत्न मानिने मान्यता बहुलवाद वा उदारवाद तथा प्रजातन्त्रका आधार रहेका छन्। त्यसैले विवेकपूर्ण मतका आधारमा राज्य व्यवस्था छानिने प्रणाली पूर्वीय दर्शनले वैदिक कालमै अवलम्बन गरेको पाइन्छ। विवेकको स्वतन्त्र प्रयोग गरी बालिग मताधिकारका आधारमा सत्ता तथा सरकार चयन गर्ने प्रणाली प्रजातन्त्र हो भने माथि उल्लेख गरिएको नतिजा भने सत्तामा रहने पात्रको चरित्रमा आधारित तथ्य हुन्।

माथि उल्लेख गरिएको विवेकसम्मत ज्ञान तथा यसको जीवनको लक्षप्रतिको सदुपयोगबारेमा पूर्वीय दर्शनमा मात्र होइन, पाश्चात्य दर्शनमा पनि यसको विवरण पाइन्छ। पाश्चात्य विद्वान्हरू प्राज्ञिक निकायको सम्यकता, सञ्चार जगत्को तथ्यपरकता तथा न्याय जगत्को तटस्थताका आधारमा मुलुकको सामाजिक स्तर मापन गर्नुपर्नेमा जोड दिन्छन्। यी तीन निकाय जुन मुलुकमा अब्बल छन्, तिनै मुलुकलाई अब्बल मान्ने गरिएको छ। यहाँ पत्रकारिता तथा न्यायपालिकाका बारेमा चर्चा नगरी प्राज्ञिक निकायका बारेमा मात्र चर्चा गरिन्छ।

तथ्य, ज्ञान तथा सत्य एउटै सूचनाको फरक अवस्थामा गरिएको विश्लेषण मात्र हो। निश्चित आयामबाट बढेर सम्पूर्ण आयाममा गरिने विश्लेषण नै सत्य हो। अझ स्पष्ट शब्दमा भन्ने हो भने हरेक समाज, स्थान तथा समयमा एकै अर्थ लाग्ने तथ्य तथा ज्ञान नै सत्य हो। यही सत्यलाई विधिसम्मत ढंगबाट उजागर गर्ने काम प्राज्ञिक संस्थाको हो। प्राज्ञिक संस्था एक काल्पनिक संरचना भएकाले यसको भौतिक अस्तित्व प्राज्ञहरूबाट प्रतिनिधित्व हुन्छ। त्यसैले प्राज्ञहरूको तथ्यपरकता समाजको वर्तमानको सामथ्र्य तथा भविष्यको सुनिश्चित मार्गदर्शन हुने गर्छ।

नेपालमा यो वर्गको प्रतिनिधित्व शिक्षक तथा पेसागत व्यवसायीले गर्ने भए पनि व्यवसायीहरूलाई प्राज्ञको कोटीमा स्विकार्न अझै पनि सत्तालाई गाह्रो परेको छ। यसको मुख्य कारण विश्वविद्यालयले चिनेको प्रमाणपत्र मात्र ज्ञान हो र समाजलाई परिपालन गर्ने कौशल केही होइन भन्ने सामाजिक मनोविज्ञान नै हो। कौशलको बहसलाई थाँती राखेर हेर्ने हो भने शिक्षकहरू मात्र समाजको उत्थान तथा अग्रगमनका पात्रहरू हुन्। के नेपालका शिक्षकमा यो आत्मविश्वास छ ?

हाम्रो प्राज्ञिक वर्ग अध्ययनको गुरुत्वले भन्दा पनि व्यवसायको गुरुत्वले थिचिएको छ। तथ्य तथा सत्य के हुन् ? भनेर विवेचना तथा पक्षपोषण गर्ने काम प्राज्ञिक वर्ग अथवा विद्वान्को भए पनि नाफाघाटा तथा तत्कालीन रुचिका आधारमा विचार प्रकट गर्नेहरू विद्वान् नभई बुद्धिजीवी हुने गर्छन्। हामीकहाँ विद्वान्को खडेरी तथा बुद्धिजीवीको बाढी नै आएको छ। बजारमा प्रजातान्त्रिक बुद्धिजीवी, वामपन्थी बुद्धिजीवी, मधेसी बुद्धिजीवी, पहाडे बुद्धिजीवी, पूर्वेली बुद्धिजीवी, पश्चिमे बुद्धिजीवी, उत्तरी बुद्धिजीवी, दक्षिणे बुद्धिजीवी इत्यादिको बिगबिगी छ।

चर्च तथा बाइबलका माध्यमबाट सञ्चालित सत्ताको विपक्षमा गरिएका तर्कसंगत तथा विज्ञानमा आधारित मनोक्रान्तिहरूलाई प्रगतिशील, पुनर्जागरण तथा अग्रगामी भनिए पनि यिनै स्वनामधन्य बुद्धिजीवीले कसैलाई के त कसैलाई के भनी नामाकरण गरेको पाइन्छ। अर्कातर्फ विदेशी मुद्रा आर्जनका लागि उनीहरूकै अदृश्य मुद्दाका पक्षमा वकालत गर्नेहरू नै अधिकारकर्मी बुद्धिजीवी भएका उदाहरण पनि प्रशस्तै छन्। यिनै बुद्धिजीवीले २०३६ सालमा पञ्चायतमा भोट हाल्न जनतालाई प्रेरित गरे अनि २०४६ मा पञ्चायत फाल्न। त्यसैगरी २०६२ मा संविधान र राजा फाल्न भने अहिले आएर अन्यथा कुरा गरिरहेका छन्। के विद्वान्हरूले प्रवाह गर्ने सार्वभौमिक र साश्वत सन्देश तथा कार्य यस्तै हुन्छन् ?

हाम्रो देशको भूमण्डलीय अवस्थिति तथा भीमकाय दक्षिणी र उत्तरी अर्थतन्त्रबीच थिचिएको सानो बामे सर्न इच्छा मात्र गरेको अर्थतन्त्र के सरकारी नियन्त्रणमा मात्र अथवा बजारमा मात्र छाडा रहन सक्ने अवस्थामा छ ? यति सरल र सहज विषयमा आआफ्ना मालिकलाई बुझाउन नसक्ने बुद्धिजीवीहरूले विद्वान् हुन खोज्दा के होला ? चम्चमाउँदो प्रमाणपत्र तथा शक्तिकेन्द्रकहाँ निरन्तर हाजिरी दर्ज गर्ने नै वास्तविक विद्वान्का परिचायक भएका छन् भन्न लाज मान्नुनपर्ने स्थिति पो देखिने हो कि ?

विभिन्न कालखण्डमा उदाएका साम्राज्यबाट सुरक्षित रहेको यो सानो सुन्दर मुलुकलाई पहिचानका नाममा सामाजिक तथा साम्प्रदायिक तहतप्कामा विभक्त गर्नु नै एउटा ठूलो विडम्बना भएको छ। २०४७ सालपछिको राजनीतिक परिवर्तन भूमण्डलीय तथा सामरिक दृष्टिले उत्तम रहे पनि यही परनिर्भर बुद्धिजीवी तथा अति क्रान्तिकारिताको उहापोहमा परी अन्ततः एकता तथा सामञ्जस्यमा रहेका सर्वसाधारण जनता तथा समाजलाई विभिन्न पहिचान समूहमा विभाजन गर्ने आत्मघाती सामाजिक इन्जिनियरिङमा अवतरण हुन पुग्यो। यही सामाजिक अभियान्त्रिकीकरणको विषवृक्ष नै अहिले ठूलो समस्याका रूपमा देखिएको छ।

पाश्तात्य दार्शनिक हेगेलको चेतनाको लौकिक तथा परलौकिक सर्वोच्च सत्ता, कार्ल माक्र्सको लौकिक सर्वोच्च सत्ता र सनातन वैदिक धर्मको परमात्मामा आधारित दुवै लोकको सर्वोच्च सत्ता सबैले प्रज्ञालाई नै सर्वोच्च मानेका छन्। नेतृत्वमा विद्यमान पात्रमा पात्रता र सत्चरित्रता कस्तो हुनुपर्छ भन्नेबारेमा त शिक्षा मात्र होइन; इतिहास तथा विभिन्न मिथकले प्रसिद्धि गरेका छन्। त्यसैले नेतृत्वमा हुनेले शासन–प्रशासनका ज्ञान, समाज विकासका मनोविज्ञान तथा समाजका आर्थिक अवस्थाबारेमा ज्ञान हासिल गरेको हुनुपर्छ। यस्तो प्रकारको नेतृत्व मात्र विवेकी, तटस्थ तथा न्यायप्रेमी हुन सक्छ। यसको सर्वथा अभाव छ भने पनि यसमा प्राज्ञहरूका माध्यमबाट सहज पहुँच हुनुपर्छ। यसको अभावमा गरिने शासन–प्रशासन विस्मयकारी मात्र होइन; माथि भनिए झैं सर्वसत्तावादी पनि हुन सक्छ।

खास मापदण्ड तथा प्रक्रियाका आधारमा वर्णसंकर सत्ता भनी माथि गरिएको विश्लेषण तथा प्रशासनतन्त्रको भ्रष्टीकरणको स्तरीकरण अर्थोपार्जनका लागि मात्र गरिएको विश्लेषण हो भने सत्ताले यसमा संलग्न बुद्धिजीवीहरूको पहिचान गरी प्रशासनिक निराकरण मात्र होइन; न्यायिक निरूपण नै गर्नुपर्छ। होइन यो व्याख्या विद्वान्हरूबाट गरिएको सही विश्लेषण हो भने हाम्रो प्राज्ञिक क्षमता अभिवृद्धि गर्ने बेला भएन र ? हाम्रो शैक्षिक विषयवस्तु, समाज रूपान्तरणका वाहक शिक्षकको क्षमता तथा गुरुत्व विकास र समाज सञ्चालनका सारथि राजनीतिकर्मीको समुचित विकास गर्ने हाम्रो सनातन धर्मले भनेको शिक्षा अनुकरण गर्ने बेला भएन र ? देशदेशावरभर प्रचारप्रसार भइसकेको यस्तो गम्भीर विषय सत्ताका अनुयायीले देशीविदेशी प्रतिक्रिया तथा सत्तासीनले हाम्रो सफलताबाट तर्सिएकाहरूको बर्बराहट मात्र भनेर पुग्ला र ? कि नयाँ कलेबरमा यसलाई ‘प्राज्ञिक कोलाहल’ भनेर एकै शब्दमा आरोपित गरी सबै समस्याको एकमुष्ट जर्बदस्त समाधान खोज्दै जिम्मेवारीबाट पन्छिने ?

Prabaha

faujikira-sambandhi-suchana