पेटभरी खान पाए हाम्रो लागि त्यही दशैं !
राजेन्द्र कार्की । जाजरकोट
गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चार जना सदस्य गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पिडाले अहिले पनि पछ्याईरहेको छ । १८ बर्षका कृष्ण बेलाबेला सुतेको बेला झस्कन्छ । परिवारै गुमाउनु पर्दाको पिडा त छँदैछ । भावी जीवन कसरी विताउने चिन्ता छ उनलाई । दुःखजिलो गरेर जेनतेन रमाइरहेको थियो सार्की परिवार तर गत असार २५ गते मध्यरातमा आएको पहिरोले उनीहरुको सवै खुसी खोस्यो । परिवारका चार सदस्य चुडेर लग्यो । आफन्तको घर गएर बाँचेका कृष्णबहादुर कसरी जीन्दगीको नयाँ अध्याय थालनी गर्ने भन्ने अझै टुङ्गोमा पुगिसकेका छैनन् । बस्ने घर र खाने गास खोसिएपछि उनी छिमेकी काकीको घरमा शरण लिएर बसेका छन् । हुनेखानेका घरमा दशै आएपनि उनलाई दशैको कुनै रौनक छैन । पेटभर खान पाएका छैनन् । घरगृहष्थी कसरी बसाउने भन्ने चिन्तामा छन् । आर्थिक अवस्था निकै कमजोर भएका उनलाई दशैले गिज्याईरहेको अनुभुति हुने गरेको छ । पेटभरी खान पाए हाम्रो लागि त्यही दशै हुन्थ्यो उनले भने ।
‘दिनमा घामले पोल्छ । रातमा चिसोले सताउँछ । खाने अन्न छैन । भएको घर पहिरोले बगाएर लग्यो । विकल्प केही नभएपछि यही त्रिपालमुनी गुजरा चलाईरहेका छौ’ जिल्लाको बारेकोट गाँउपालिका ४ गोठगाँउ तलगाँउकी गोरी नेपालीले यी पिडा सुनाईरहँदा उनको गला अवरुद्ध भयो । आँखा रसाए ।
गत असार २५ को मध्यरातमा आएको पहिरोले घर बगाएपछि उनको ६ जनाको परिवार विस्थापित भएर नजिकैको जंगलमा त्रिपाल टाँगेर बसेको छ । गाँउपालिका र अन्य संघसंस्थाले राहत स्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो । भएको पाखोबारी सवै पहिरोले लग्यो । ‘घरमा कमाई गर्ने कोई नाई । अव के खाएर बाँच्ने हो । पेट भरी खान पाएका छैनौ, हामी त साह्रै समस्यामा परयौ हजुर गोरीले भनिन ‘पहिले घरभएको ठाँउ फर्कन सक्ने अवस्था छैन । कहिले सम्म यसरी त्रिपालमै बस्नु पर्ने हो कुनै टुङ्गो छैन ।’
उनी जस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन विताईरहेका छन् । पहिरोले केही घर बगाएको र केही बस्नै नमिल्ने गरि चर्किएपछि उनीहरु त्रिपालको साहारा लिन बाध्य भएका हुन् । केही समय विद्यालयमा बसेका उनीहरु अहिले जंगलमा बसेका छन् । विद्यालयमा पढाई शूरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् । विस्तारै चिसो बढ्दै छ । चिसोले केटाकेटी विरामी पर्न थालेका छन् । दशै दैलोमै आईसक्यो । यसपालि उनीहरुको दशै त्रिपालमुनी नै वित्ने भएको छ । त्यही त्रिपालमै जमारा राखेका छौ विस्थापित नैनबहादुर नेपालीले भने ‘मिठो मसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दशै मनाउने त सपना भैसक्यो । त्रिपालमै भएपनि पेटभरी खान पाए हाम्रो लागि त्यही दशै हुने थियो ।’
बारेकोटमा गएको पहिरोमा परि १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । बर्षात रोकिएपछि अन्य परिवार घर फर्किएपनि तलगाँउका १४ दलित परिवार घर फर्कन सकेका छैनन् । उनीहरुले सरकार सँग गास र बासको माग गरेका छन् । हाम्रो बस्ने ठाँउ पहिरोले सवै बगाएर लग्यो । हामीलाई पुर्नवासको ब्यवस्था गरिदिनु परयो विस्थापित गोपाल कामीले भने ‘हाम्रो समस्या भनेकै गास र बासको हो ।’ चिसोले जेष्ठनागरिक र बालबालिकालाई सताउन थालेको छ । पोषणयुक्त आहारको अभावमा बालबालिकामा कुपोषणको समस्या देखिनन थालेको छ ।
विस्थापित परिवारलाई पुर्नस्थापनाका लागि गाँउपालिका सँग स्रोत साधनको अभाव भएकोले प्रदेश र संघिय सरकारलाई अनुरोध गरिएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।