तीन लाख नगद, तीन तोला सुन र १३ वटा खसी चोरी
राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका २ दारनेटाका भीमबहादुर खड्काको घरमा बाँधिएको खसी सोमवार राती चोरी भयो । त्यस्तै सोही ठाँउका प्रेमबहादुर वलीको खसी पनि घरबाटै चोरी भयो । उनीहरुले चालै पाएनन् । उनीहरुको मात्र होइन सोही रात दारनेटा र रिसाङ्ग गाँउबाट १३ ओटा खसी चोरी भए ।
खसी चोरी भएको भोलिपल्ट भेरी नगरपालिका–२ बाहुनथानाका गणेशबहादुर खड्काको घरबाट ५५ हजार र २ तोला सुन चोरी भयो । सोही ठाउँका मिलन खड्का र हर्कबहादुर ताउलेको घरबाट पनि ३५÷३५ हजार चोरी भयो । सोही दिन रिसाङकी प्रेमकला शर्माको घरबाट आधा तोला सुन र ४ हजार चोरी भएको प्रहरीले जनाएको छ । तर हाल सम्म चोर पत्ता लाग्न सकेका छैनन् ।
दसैंलगायत चाडपर्व नजिकिएसँगै सदरमुकाम खलंगा नजिकैका गाउँमा चोरीका घटना बढेका छन् । भेरी नगरपालिका–२ बाहुनथानामा एकै रातमा झण्डै एक दर्जन चोरीका घटना भएका छन् । स्थानियले तत्काल प्रहरीलाई खवर गरेपनि प्रहरीको अनुसन्धान प्रभावकारी हुन सकेको छैनन । जसका कारण प्रहरीले अहिले सम्म चोरीमा संलग्नको पहिचान गर्न सकेको छैन ।
गएका एक सातामा भेरी नगरपालिका–२ का १६ बढी घरबाट ३ लाख नगद, ३ तोला सुन र १३ वटा खसी चोरी भएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।
चोरी बढ्दै गएपछि गाउँगाउँमा त्रास छाएको छ । चोरले खसी, सुन, नगद रुपैयाका साथै खुद्रा पसलमा रहेका चाउचाउ, साबुन, चिनी, तेल तथा मेडिकलको औषधिसमेत चोरी गरेका छन् । एकपछि अर्को चोरीका घटना हुन थालेपछि कसरी जिउधन जोगाउने भन्ने चिन्ता छाएको स्थानिय टीकाराम खड्काले बताए । उनले भने, ‘चोरलाई समात्न गाउँलेहरु आफै रातभर जाग्राम बसे पनि प्रयास सफल भएन ।’
सदरमुकाम खलंगा नजिकैका रिसाङ, दारनेटा, बाहुनथाना, पोखरालगायत गाउँमा चोरी बढिरहेको स्थानियको भनाई छ । चोरीका घटना दिनप्रतिदिन बढ्दै गएपछि भरपर्दो सुरक्षा ब्यवस्था हुन नसकेको स्थानिय विर्खबहादुर कार्कीले बताए ।
चोरीका घटना बढेपछि गाउँगाउँमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको डीएसपी श्रेष्ठले बताए । चोरी गर्नेहरुको खोजी भइरहेको उनले बताए ।