April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

कुशेमा जोर विजोर कक्षा अनुसार पठनपाठन

राजेन्द्र कार्की । जाजरकोट

कोरोना महामारीका कारण देशभरका विद्यालय बन्द रहेको बेला जिल्लाको कुशे गाँउपालिकाले जोर विजोर कक्षा अनुसार पठनपाठन शुरु गरेको छ । एक दिन जोर अंक आउने कक्षाको पठनपाठन हुने र अर्को दिन विजोर अंक आउने कक्षाहरुको पठनपाठन गर्ने गरिएको कुशे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए ।

गाँउपालिकामा कोरोना संक्रमणको जोखिम नभएपछि पठनपाठन शुरु गरिएको हो । कुशे गाँउपालिकामा अहिले सम्म एक जनालाई पनि कोरोना संक्रमण देखिएको छैन । शुन्य संक्रमणदर भएपछि विद्यार्थी र अभिभावकको आग्रहमा प्रत्यक्ष रुपमा विद्यालय खोलेर पठनपाठन संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए । गाँउपालिकामा शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार बैकल्पिक पठनपाठनका माध्याम तथा साधन नभएका कारण विद्यालय खोलेरै पठनपाठन थालिएको उनले बताए ।

गत असोज ११ गते देखि कुशेका सवै विद्यालयमा पठनपाठन हुन थालेको छ । लामो समय देखि रोकिएको पठनपाठन सुचारु भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । जनता मावि पैकमा कक्षा १० मा अध्ययरत आस्था सिंहले लामो समय पछि पठनपाठन हुन थालेकोमा खुसी लागेको बताईन । आधुनिक संचारका साधन नभएको गाँउमा सरहरुको गाइड विना घरमा एक्लै पढ्न निकै गाह्रो भैरहेको थियो उनले भनिन्–‘प्रत्यक्ष रुपमा पठनपाठन हुन थालेपछि हामी जस्ता दुर्गमका विद्यार्थीका लागि निकै फलदायी भएको छ ।’ उनी जस्तै पढाई हुन थालेपछि सवै विद्यार्थी खुसी भएका छन् ।

दुई कायम गरेर पढाउनु पर्ने भएकोले जोर विजोर प्रणाली लागु गरेको जनता मावि पैकका प्रधानाध्यापक पार्वती थापाले बताईन । हाल सम्म कुशे गाँउपालिका कोरानो संक्रमणको दृष्ट्रिकोणले सुरक्षित भएकोले विद्यार्थी र अभिभावकको आग्रह बमोजिम पठनपाठन शुरु गर्न प्रधानाध्यापक बैठकले स्थानिय सरकारलाई अनुरोध गरेपछि ११ असोज देखि नियमित पठनपाठन शूरु भएको उनले बताईन । लामो समय सम्म विद्यालय आउन नपाएका विद्यार्थी विद्यालय खुलेपछि निकै उत्साहित भएर पठनपाठनमा अग्रसरता देखाउन थालेको उनको अनुभुति छ । कुशेमा प्राथमिक देखि माध्यामिक तह सम्मका जम्मा ५३ सामुदायिक विद्यालयमा दश हजार बढी विद्यार्थी अध्ययनरत छन् । दुरी कायम गर्न एउटा बेच्नमा दुई जना मात्र राखेर पढाउने गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad