प्रवाह संवाददाता । जाजरकोट
नेपाली कांग्रेसका नेता राजिवविक्रम शाहले जाजरकोटको जूनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोलामा भएको जीप दुर्घटना परि ६ जनाको मृत्यु र एक जना बेपत्ता भएको खरबले स्तब्ध भएको बताउनु भएको छ ।
कार्यकर्ता भेटघाटका क्रममा जाजरकोटको शिवालय गाउँपालिका ५ थालारैकरमा रहनु भएका नेता शाहले दुर्घटनामा ज्यान गुमाउने वडा अध्यक्ष अम्मर बहादुर शाही सहित सबैप्रति श्रदाञ्जली अर्पण गर्नुका साथै परिवारजनामा गहिरो समवेदना प्रकट गर्नुभएको छ । नेता शाहले घाईतेको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । पूर्व सभासद समेत रहनुभएका नेता शाहले जीप दुर्घटनाले जाजरकोटलाई गहिरो क्षती पुगेको बताउदैं खोज तथा उद्धारमा लाग्न स्थानीय नेता कार्यकतालाई आग्रह गर्नुभएको छ ।
जीप दुर्घटना हुँदा बडाध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । एक जना गंभिर घाईते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । एक जना मजकोट खोलामा बेपत्ता भएका छन् । वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको उपचारका लागि सुर्खेत पठाईएको छ । औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल रहेको मजकोट खोलमा परेको थियो ।