राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदेमा बुधवार जीप दुर्घटना हुँदा बडाध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । एक जना गंभिर घाईते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । एक जना मजकोट खोलामा बेपत्ता भएका छन् ।
वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याईदैछ । औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल रहेको मजकोट खोलमा परेको थियो । अहिले गाडी खोलामै छ । वडाध्यक्ष शाहीको सव मात्र निकालिएको छ । अन्यको सव पानी भित्रै खोलामा रहेको र निकाल्न पहल भैरहेको डिएस्पी श्रेष्ठले बताए । गाडी चालक गोरख बस्नेत फरार रहेका छन् । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिम पर्दछ ।