प्रवाह संवाददाता । जाजरकोट
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निरज आचार्यको पहलमा जाजरकोटका चार ओटा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिएको छ । जिल्लाका शिवशंकर मावि जगतिपुर, दिपेन्द्र मावि भुर, भगवति मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटर सहितको ल्याव स्थापना गरिएको हो ।
विगत चार बर्ष देखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यामबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गदै आएका सामाजिक अभियान्ता डा.ओम दाहालको सहयोगमा ति विद्यालयमा कम्प्युटर ल्यावको स्थापना गरिएको नेता आचार्यले बताए । प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टर सहित बाहुनथानामा १५ तथा जगतिपुर, भुर र कुदुमा २० ओटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यार्थीलाई कम्प्युटर सम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्यावले सहयोग पुरयाउने नेता आचार्यको भनाई छ ।

कम्प्युटर ल्याव स्थापनामा पहल गर्ने नेता आचार्य र सहयोग कर्ता डा.दाहाललाई विद्यालयले धन्यवाद दिएका छन् । कम्प्युटर ल्याव स्थापना पछि विद्यालयमा इन्टरनेट सेवा संचालनमा ल्याउन शैक्षिक गतिविधिलाई सुचनाप्रविधिमा जोड्न मद्दत पुग्ने शिवशंकर मावि जगतिपुरका अध्यक्ष कालु हमालले बताए ।