राजेन्द्र कार्की । जाजरकोट
महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोक विरुद्ध सहायता अभियान अन्र्तगत दोस्रो चरणको राहत वितरण शुरु भएको छ । सकारात्मक सोच तथा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको पहलमा विभिन्न दाताहरुको सहयोगमा संकलित खाद्यान्न वितरण थालिएको हो ।
जाजरकोटको भेरी नगरपालिकाका विभिन्न वडामा वितरण गरिने खाद्यान्न मंगलवार भेरी नगरपालिका वडा नम्बर ४ मा शुरु गरिएको हो । छनौटमा परेका वडाका विपन्न परिवारलाई वडाध्यक्ष खम्बजंग शाह र लायन्स क्लब इन्टरनेशनलका जोन चियर पर्सन शारदा शेर्पाले खाद्यान्न हस्तान्तरण गरेका हुन् । प्रति परिवार २५ केजी चामल र ५ केजी दाल प्रदान गरिएको हो । भेरीका अन्य वडा र अन्य पालिकामा क्रमश खाद्यान्न सहयोग गदै जाने कार्यक्रम रहेको विपद सरोकार समिति जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले बताए ।
अभियान अन्र्तगत पहिलो चरणमा जाजरकोटका शिवालय गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाका एक सय विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको थियो । पहिलो चरणमा शिवालय गाँउपालिकामा ३०, छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाँउपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ ।
सहायता अभियानका लागि डिस होम प्रालि., लाइन्स क्लब, हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपण सेवा संस्था, संगम पब्लिकेशन, वि सर्भ, रिड मोर पब्लिकेशन लगायतका संघसंस्था र ब्यक्तिगतहरुले सहयोग गरिरहेको अभियान्ता नरबहादुर कार्कीले बताए । उनले सहयोगी हातहरुलाई धन्यवाद दिदै कर्णालीका महामारी र प्रकोप पिडित समुदायका लागि भोक विरुद्धको अभियानमा सहयोग गरिदिन अन्य दाताहरुलाई पनि अपील गरेका छन् ।