January 18 - 2021, Monday५ माघ २०७७, सोमबार

विश्व खाद्य कार्यक्रम द्धारा ७७४ विपन्न परिवारलाई खाद्यान्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जाजरकोट बारेकोटका बाढीपहिरो प्रभावित सात सय ७४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । चरम खाद्य संकट ब्यहोरिरहेका बारेकोटवासीलाई संकट टार्न विश्व खाद्यले निशुल्क रुपमा खाद्यान्न वितरण गरेको हो ।

गत असार २५ गते जिल्लाको बारेकोट गाँउपालिकाका विभिन्न बस्तीमा गएको बाढीपहिरोका कारण घरबारविहिन भएका र दैनिक हातमुख जोर्न समस्या परेका सात सय ७४ परिवारलाई विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गरेको हो । पाँच तारा युवा संरक्षक मन्चको समन्वय र बारेकोट गाँउपालिकाको सहकार्यमा उक्त राहत सामग्री वितरण थालिएको हो ।

प्रतिपरिवार ३० केजी चामल, नौ केजी दाल, अढाई लिटर खानेतेल र एक केजी नुन वितरण गरेको विश्व खाद्य कार्यक्रमका जाजरकोट प्रतिनिधी कृष्ण थापाले बताए । त्यस्तै गर्भवति, सुत्केरी र ६ देखी २३ महिना भित्रका बालबालिकालाई ६ केजी पोषिलो पिठो समेत प्रदान गरिएको उनले जानकारी दिए । थापाले भने –‘कुपोषणबाट जोगाउन गर्भवति, सुत्केरी र बालबालिकालाई सवै किसिमका भिटामिन, मिनरल्स र पौष्टिक तत्व मिलाएर बनाईएको सर्वोतम पिठो प्रदान गरिएको हो ।’

विश्व खाद्य कार्यक्रमको साझेदार संस्था पाँच तारा युवा संरक्षक मञ्चका निर्देशक छवि पन्तका अनुसार बारेकोटका वडा नम्बर १ मा ६८, वडा नम्बर २ मा ३५ र वडा नम्बर ३ मा सात परिवारलाई खाद्यन्न वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ४ मा तीन सय ३३, वडा नम्बर ५ मा दुई सय ६० परिवार , वडा नम्वर ६ मा ३३ र वडा नम्बर ७ मा ३८ परिवार गरी सात सय ७४ परिवारका चार हजार एक सय जनालाई राहत वितरण गरिएको हो । गर्भवति, सुत्केरी र बालबालिका भएका चार सय ८४ परिवारलाई थप पौष्टिक आहार प्रदान गरिएको निर्देशक पन्तले बताए । उनले छिटै दोस्रो चरणको राहत कार्यक्रम संचालन गरिने बताए । ‘हामी दोस्रो चरणमा क्यास फर असिष्ट (राहतमा नगद सहयोग) लिएर पिडितलाई जीवन निर्वाहमा सघाउँछौ’उनले भने

बर्षेनी खाद्य संकट पर्ने बारेकोटमा यस बर्ष बाढीपहिरोका कारण धेरै परिवार भोकभोकै परेपछि विश्व खाद्यले सहयोग गरेको हो । बाढी पहिरोमा परि बारेकोटमा ११ जनाको ज्यान गएको, तीन बेपत्ता भएको र एक हजार बढी परिवार विस्थापित भएका थिए । विस्थापित परिवार सँग खानेकुरा सकिएर भोकमरीको अवस्था सिर्जना भएको अवस्थामा विश्व खाद्य कार्यक्रमले प्रदान गरेको सहयोगले पिडितलाई ठुलो राहत भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । राहत पाएपछि विस्थापित परिवार निकै खुसी भएका छन् ।

Prabaha

faujikira-sambandhi-suchana