राजेन्द्र कार्की । जाजरकोट
नामै परिवर्तनका लागि युवा अभियान । साँचिकै नाम अनुसारको काम गर्न कस्सिएका छन् जाजरकोट सदरमुकामका केही गरौ भन्ने सकारात्मक सोच भएका युवायुवतीहरु । हालै मात्र गठन भएको परिवर्तनका लागि युवा अभियानले जिल्लाका केही विकृति विसंगति विरुद्ध आवाज उठाउन थालेको छ ।
परिवर्तनका लागि युवा अभियानले बुधवार स्थानिय प्रशासनलाई चार ओटा समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ । युवा अभियानकि संयोजक विजया खत्री नेतृत्वमा गएको युवाहरुको समुहले जिल्लामा अस्वभाविक मुल्य बृद्धि भैरहेको, बजार मुल्यमा एकरुपता नभएको, ब्यापारीले मुल्य सुची नराखेको र लामो समय देखि बजार अनुगमण नभएको तर्फ ध्यानाकर्षण गराएको छ । त्यस्तै यातायातका साधनले जाजरकोट सदरमुकामबाट नेपालगञ्ज र सुर्खेत जाँदा चर्को भाडा लिने गरेको, जिल्लाका अधिकांश युवायुवतिहरु कुलतमा फस्दै गइरहेको, जिल्लामा सुशासन कायम हुन नसकेको र भष्टाचार बढ्दै गएको तर्फ पनि ध्यानाकर्षण गराईएको अभियानकर्ता अनिशकुमार कार्कीले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले युवाहरुले महत्वपुर्ण सवाल उठाएको बताउँदै स्थानिय प्रशासनको तर्फबाट यस कुरालाई गंभिर रुपमा लिएर आवश्यक कदम चालिने आश्वासन दिएका छन् । जिल्लाका विभिन्न निकायमा भष्टाचार बढ्दै गईरहेको छ । कालोबजारी, मुल्यबृद्धि र अस्वभाविक यातायात भाडा लिने कार्य भैरहेको भएपनि स्थानिय प्रशासन मौन छ । बजार अनुगमण नभएको बर्ष दिन पुग्न लागि सकेको छ । युवा लगायत विभिन्न निकायले ध्यानाकर्षण गराईरहेका छन् तर पनि प्रशासन आँखामा पट्टी बाँधेर बसेको नागरिकले अनुभुति गरिरहेका छन् नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने ‘कानुन छ र राज्य छ भन्ने अनुभुति गराउनु पर्छ स्थानिय प्रशासनले ।’
जिल्लाका विकृति विसंगति विरुद्ध आवाज उठाउने र केही परिवर्तन गराउनका लागि अभियान थालिएको संयोजक खत्रीको भनाई छ । उनले जिल्लाको उन्नती र प्रगतिका लागि सरोकारवाला सँग हालेमालो गरेर अघि बढ्ने जानकारी दिईन ।