April 20 - 2024, Saturday७ बैशाख २०८१, शुक्रबार

कविता–‘खोई मान्छे ?’–गोविन्द रिजाल

आज शहर सुनसान छ
र म भौतारि रहेको छु
मान्छेहरूको खोजिमा ।
त्यहि चोकको चिया पसल हो
बिहान सयौं मान्छे जमघट हुने
देशको गफ हुन्थ्यो
विदेशको गफ हुन्थ्यो
राजधानी र सिंहदरबारको गफ हुन्थ्यो
खोई त आज
न चिया पसले छ
न कुनै मान्छे नै छन चोकमा
सुनसान सुनसान छ शहर पनि
सबै सबै तिर शुन्य राखेर
कता गएछन शहरका मान्छेहरू ?
गल्लि गल्लि खोजे
चोक चोक भौतारिए
पसलमा गए
क्लबमा गए
पार्टी प्यालेसमा गए
अफिसमा गए
कोहि भेटदिन जहाँ गए पनि
सबै खाली खाली छ
खोक्रो, शुन्य, खण्डहर
खालि शहर मात्र देख्छु
एक्लै हिडिरहेछु म
किन नामो निशान छैन मान्छेहरूको ?
पर क्षितिजसम्म हेर्छु
डाँडा देखिन्छ
निलो आकाश देखिन्छ
पहाड देखिन्छन
तर मान्छे देखिदैनन
हिजो सम्म त सबै यहि थिए
आज एक्कासि के भएछ ?
एकजना सम्म मान्छे देख्दिन
जाँउ पनि नभनेर
जान्छु पनि नभनेर
मलाई एक्लै छाडि
सबका सब हुल बाँधेर
हैन कता हराए शहरका मान्छेहरू ?
म आफेै मरे कि भनेर
आफेैलाई जाँच्छु
मुटुको धडकन ठिक छ
नाडीको चाल ठिक छ
दिमाग चलेकै छ
यसो हातमा चिमोट्छु
च्वास्स दुख्छ
मरेछु पनि कसरी भन्नु ?
आँखा फुट्यो कि भनौ
पर पर सम्म
कमिला हिडेको पनि देख्छन
यिनै नाङ्गो आँखाले
तर एक जना पनि मान्छे देख्दैनन
एक्कासि शहरबाटै हराउनुपर्ने
खै के भयो शहरका मान्छेहरूलाई ?
के आपतमा परे त मान्छेहरू,
हुरी चल्यो भन्यौ
बगैचाको फुल सग्लै छ
आगो लाग्यो भनौ
न धुँवा छ, न डडेलो देखिन्छ
वाढी आयो भनौ
वगर छैन, पानिको निशाना छैन
घर ढल्यो भन्यौ
ठिङ्ग उभिएको छ
कालभैरवको मुर्तिजस्तै
महामारी भनौ
न टाउको दुख्छ, न पेट दुख्छ
तै पनि के भयो ?
सारा शहर नै रित्तो पारेर
कहाँ गए त शहरका मान्छेहरू ?
केही मान्छेहरू भेला पारेर
भावि योजना सुनाउनु थियो
केही सपना सुनाउनु थियो
उनिहरुका कुरा सुन्नु थियो
विकास र देशभक्तिको
बहस चलाउनु थियो
खुसि बाँड्नु थियो
दु:ख साट्नु थियो
खै कसलाई सुनाउनु ?
न सुन्ने छन
न सुनाउने छन
रित्तो रित्तो छन हलमा कुर्सिहरू
आज किन आएनन होला त
सधै शहरमा भेटिरहने मान्छेहरू ?
के छ भनेर
सोध्ने नि कोही छैन
बस, म आँउछु नि कोही भन्दैन
क्षितिज हेरेर, आकाश हेरेर
जुन हेरेर, तारा गनेर
म शहर सम्हालि रहेछु
भोलि मान्छेहरू फर्कने आशामा
तैपनि एउटा प्रश्न दिमागमा आईरहन्छ
मलाई एक्लै एक्लै छोडेर
हैन यी मान्छेहरू कहाँ गए त ?

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad