जाजरकोट भेरी नगरपालिका वडा नम्वर ३ स्याँला निवासी पिता जयबहादुर खत्री र माता चन्द्रकला खत्रीको कोखबाट
२०४२ माघ ३ गते जन्मिनु भएका जनक केसी शिक्षण र पत्रकारीता पेशामा आवद्ध हुनुहुन्छ । समाजसेवाका साथै राजनितिमा समेत निकै रुची राख्ने केसी २०५३ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर काँग्रेस राजनीतिमा चासो लिन थाल्नु भएको हो । २०५४ सालमा नेविसंघको त्रिभुवन माध्यमिक विद्यालय इकाइको अध्यक्ष, २०५५ सालमा नेविसंघकै क्षेत्र नम्वर १ को क्षेत्रिय सदस्य, २०५६ मा जिल्ला सदस्य र २०५९ सालमा जिल्ला उपाध्यक्ष, २०६२ मा नेविसंघको तर्फवाट भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्ववियु सभापति निर्वाचित , २०७० सालमा नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष र हाल सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको जिल्ला संयोजक हुनुहुन्छ । उहाँ सँग समसामयिक विषयमा प्रवाह डटकम अनलाईनका लागि सम्पादक राजेन्द्र कार्कीले गरेको कुराकानीको सारसंक्षेप ः
१) तपाई हिजो आज के गदै हुनुहुन्छ ?
अहिले पत्रकारीता र शिक्षण पेसामा आवद्ध छु । शिक्षणमा आवद्ध हुनु भन्दा पहिले पत्रकारीता सुरु गरेको हुनाले दुवै क्षेत्रमा समान रुपले आवद्ध हुदै आएको छु । यी दुवै क्षेत्र मेरा रुचिका क्षेत्र हुन । यसका साथै राजनीतिमा पनि सानै उमेर देखि चासो रहेको हुनाले भविस्यमा सक्रिय राजनीति गर्ने चहाना भएकोले यसलाइ वुझने क्रममा पनि छु । शिक्षण र पत्रकारीता दुवैलाइ कुनै असर नपर्ने गरि राजनीति प्रतिको चिन्ता र चासोलाइ पनि संगै लिने गरेको छु ।
२) तपाई हालै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको संयोजक मनोनित हुनु भएको छ ? खास यस संस्थाको काम के हो ?
हो मलाइ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको जिल्ला संयोजकमा मनोनयन गरिएको छ । यो खास गरि लोकतन्त्रवादी वौद्धिक व्यक्तिहरुको सँस्था हो । राजनैतिक हिसावले यसलाइ नेपाली काँग्रेसको शुभेच्छुक सँस्था हो भनेर वुज्दा फरक पर्दैन । वकिल, डाक्टर, प्राध्यापक इन्जिनियर लगाएतका वौद्धिक व्यक्तिहरुको यस प्राज्ञिक सँस्थाले खास गरि लोकतान्त्रिक समाजवादका चरित्रहरु र विशेषताहरुको वारेमा वहस छलफल गर्ने, लोकतन्त्र समाजवाद तथा लोकतान्त्रिक मुल्य मान्यता र आदर्शका वारेमा अध्ययन अध्यापन गराउने अवसर प्रदान गर्ने काम गर्छ । जिल्लामा यिनै काम गर्नका लागि मलाइ जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ । मलाइ आफुले प्राप्त गरेको जिम्मेवारी पुरा गर्न सक्छु भन्ने विस्वास छ ।
३) तपाई शिक्षण र पत्रकारीता पेशामा आवद्ध मान्छे काँग्रेस निकट संस्थामा लाग्नुको कारण के हो ?
यसको वारेमा अघिल्लो प्रश्नको उत्तर दिने क्रममा पनि भनिसकेको छु । खास गरि म सानै देखि राजनितीमा निकै चासो राख्ने भएको कारणले आज भन्दा २३ वर्ष अघि नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर आफनो चासो र रुचिलाइ आधिकारीकता दिने काम गरेको थिएँ । त्यसैले मैले सामाजिक सेवा र राजनीति प्रति देखाएको चासो र मेरो भविस्यको सम्भावनाका कारण म यस सँस्थामा आवद्ध हुन पुगेको छु । म पत्रकारीतामा हुदा पनि प्रेस युनियनको जिल्ला अध्यक्ष भएँ जुन काँग्रेस निकट पत्रकारहरुको सँस्था हो यसै गरि शिक्षक हुदा पनि म शिक्षक संघको सदस्य तथा भेरी नगरपालिकाको श्रोत व्यक्ति भएर काम गरिरहेको छु यो पनि काँग्रेस निकट शिक्षकहरुको सँस्था हो । यसै कारण मलाइ विस्वास गरेर यो सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जिल्ला संयोजकको जिम्मेवारी दिइएको होला । यसका साथै मेरो राजनैतिक चासो र रुचिका कारण म यो सस्थामा आवद्ध भएको हुँ । यो मेरो राजनैतिक प्लेटफम पनि हो ।
४) तपाई अव सक्रिय राजनितिमा लाग्न थाल्नु भएको हो ?
मेरो जीवनको सवै भन्दो ठुलो रुचि नै राजनीति हो । त्यसैले मैले अहिले सम्म स्थायी नोकरीको लागि एक पटक मात्र परीक्षा दिएको छु । त्यस पछि कतै कुनै स्थायी जागिरको लागि लिइने परीक्षामा सहभागि भएको छैन । स्थायी नोकरी भए राजनीतिमा सजिलै आउन मुस्किल पर्छ भनेर नै मैले त्यस्तो पहल गरेको छैन । समय र परिस्थितिले सामाजिक क्षेत्र र राजनीतिमा सक्रिय हुने अवसर र आवस्यकता तयार पार्छ भने म जति वेला पनि तयार छु । यसको मतलव म सक्रिय राजनीतिमा आउन लागेको भनेर वुज्दा पनि फरक पर्दैन तर कति वेला आउछु भनेर अहिले नै नभनौं यसको लागि समय आउदैछ । सवैको साथ सहयोग र विस्वास छ भने म मेरो रुचि अनुसार अघि वढ्न जति वेला पनि तयार छु ।
५) काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा जिल्ला देखि केन्द्र सम्म कस्तो नेतृत्व देख्न चाहनुहुन्छ ?
वास्तवमा अहिले सम्म हामीले देखेको राजनीति र प्रायजसो नेतृत्वहरु निकै आलोचित भएको देखिन्छ । चुनाव जित्नुलाइ मात्र राजनैतिक सफलता मान्ने, हुल पछि लगाउनेलाइ लोकप्रिय नेता मान्ने चलन व्यापक छ । राजनैतिक नेतृत्वले वितेको चुनाव र आउने चुनावका लागि के गरे भन्ने भन्दा पनि आउने पुस्ता र गएका पुस्ताका लागि के दिए के गरे भन्ने कुरा मुख्य कुरा हो । पुर्खाको कमाइ भजाएर राजनीति गर्ने चलनको अन्त्य गर्ने नेतृत्व आवस्यक छ । पद र चुनावको भन्दा वढी नीति र विचारको सफलताको लागि राजनीति गर्ने नेतृत्वको जरुरी छ । यसका लागि अघिल्लो र पछिल्लो पुस्ताको विचमा समझदारीपुर्ण एकताको माध्यमवाट नयाँ सोच, विचार र उत्साह भएकाहरुले नेतृत्व गर्नु पर्छ भन्ने लाग्छ । पद र चुनावको लोभले राजनीतिमा विकृति थुपार्ने चलनका आगो ओकल्न सक्ने व्यक्तिहरु अवको पार्टी नेतृत्वमा आउनु पर्छ । विगतका वैचारिक र कार्यनैतिक कमजोरी र असफलताहरुको विवेकपुर्ण समीक्षा गरेर अघि वढ्न सक्ने र आम जनताको स्वार्थ अनुसार आफुलाइ चलाउन सक्ने नेतृत्वको टड्कारो आवस्यकता छ ।
६) तपाई पत्रकारीताको माध्यम र ब्यक्तिगत सम्पर्क जोडेर विभिन्न किसिमका सहयोग जुटाउँदै सामाजिक कार्यमा लागिरहुनु भएको छ ? यसो गर्नुको कारण आफु राजनितिमा स्थापित हुनका लागि हो ?
यसलाइ त्यसरी वुज्दा अलि नमिल्ला कि । यो मेरो आफनो व्यक्तिगत शैली र स्वभाव हो । म स्वभावैले अरुको दुख र अप्ठेरोमा साथ दिने मन भएको व्यक्ति हुँ । आज मैले जसरी सेवाको भाव राखिरहेको छु त्यो मेरो व्यक्तिगत स्वभाव हो । म जुन क्षेत्रमा भएपनि मैले देखाउने स्वभाव र शैली हो यो । आज यो स्थानमा हुदा विपन्न गरिव र सर्वहाराको चिन्ता गर्छु भोलि म जहाँ जुन क्षेत्रमा भए पनि यहि सोच, यहि विचार, यहि भावना र यहि मन म भित्र जिवितै भइरहने छ भन्ने हिसावले वुझिदिन सवैसंग आग्रह गर्दछु । राजनीति व्यापार र जागिर होइन जहाँ व्यक्तिगत फाइदा र कमाइको हरदिन चिन्ता हुन्छ यो त त्याग र समर्पणको स्वयमसेवी क्षेत्र हो । यो आफना लागि जिउने या कमाउने भन्दा पनि अरुका लागि आफनो जीवन समर्पण गर्छु भन्ने क्षेत्र हो भन्ने मेरो वुझाइ छ । त्यसैले म अहिलेको अवस्थावाट यहाँले अपेक्षा गरेको क्षेत्रमा गएँ भने अरुको सेवा, साथ र हितमा समर्पित हुन्छु । यो मेरो मौलिक स्वभाव हो । कसैको देखाशिखी होइन ।
७) तपाई काँग्रेसको जिल्ला अधिवेशनमा कुन टिमबाट कुन पदमा लड्ने विचार गर्नु भएको छ ?
यो प्रश्नको म संग वस्तुगत उत्तर त छैन तर सवैको साथ र सल्लाहले प्राप्त हुने कुनै पनि जिम्मोवरी लिन म तयार हुने छु । हामी सचेत युवाहरुले टीम र गुट भन्दा पनि समग्रमा सवैको विचार भावनालाइ प्रतिनिधित्व गर्ने सोच राख्नु पर्छ । विपि कोइरालाले प्रतिपादन गरेको विचार, सिद्धान्त र लोकतान्त्रिक समाजवाद प्रति मेरो प्रतिवद्धता छ यसै अनुसार म अघि वढ्छु । व्यक्तिगत भन्दा सामुहिक हित र सामाजिक कल्याणको सोच राखेर अघि वढ्ने हो, यसो गर्दा न्यायपुर्ण भुमिका शैली हुन्छ भन्ने लाग्छ । विकृत राजनीति भन्दा पनि सुसँस्कृत राजनीतिको सँस्कार तिर हामी युवाहरुले घनीभुत चिन्ता गर्नु पर्छ भन्ने मलाइ लाग्छ ।
८) आगामी चुनावमा भेरी नगरपालिकाको मेयर दावी गर्नुभएको छ । टिकट पाउनु होला ? टिकट पाए जित्ने आधार के छ ?
हो मेरो दावी छ । टिकट त पाउने या नपाउने भन्ने कुरा मेरो भुमिका र जिम्मेवारीवोध र पार्टी नेतृत्वको मुल्यांकनमा भर पर्छ । अहिलेको विकृत राजनीतिमा आम मानिसहरुले सोचेको जस्तो योग्यता र क्षमता त ममा नहुन सक्छ तर मैले जुन राजनैतिक र सामाजिक समृद्धिको परिकल्पना गरेको छु । त्यसले मलाइ आफनो लक्षमा पुग्न सघाउछ जस्तो लाग्छ । जनता र कार्यकर्ताको मन मस्तिष्क जसरी वुझेको छु , त्यहि अनुसार मैले निर्वाह गर्ने भुमिका, सोच ,विचार र शैली नै मैले प्राप्त गर्ने अवसरहरुको आधार हो । अहिले नै चुनाव जित हारको कुरा नगरौं मैदानमा नगएरै यो कुरा गर्नु सान्दर्भिक नहोला । समय धेरै वाँकी छ यो वारेमा समय आएपछि कुरा गरौंला । नीतिगत र सैद्धान्तिक रुपले सँस्कार वदल्न सक्नु नै राजनैतिक विजय हो । त्यसैले चुनाव जित्नु मात्र पनि सफल राजनीति होइन । जनताको मतको सम्मान र जनादेशको सहि ढंगले पालना गरेर हामी अघि वढ्न सकेनौं भने आफु सम्पुर्ण हिसावले सुन्य हुन्छौं जति नै ठुलो अवसर पाए पनि । सुझवुझपुर्ण तरीकाले हामीले निर्वाह गर्ने भुमिका र संघर्षले त्यो तपाइले भनेको जिम्मेवारी प्राप्त गर्न सकिन्छ भन्ने मलाइ लाग्छ ।
९) राजनितिमा धैर्यता चाहिन्छ तर तपाई सँग त्यो क्षमता छैन भन्छन् आलोचकहरु । यस सम्बन्धमा तपाईको भनाई के छ ?
गाली गर्नेहरु र ताली ठोक्नेहरुका पछि दगुर्ने मेरो स्वभाव छैन । सवै भन्दा पहिले मैले आफुलाइ वुझेको छु । म सधैं आफुले पाएको जिम्मेवारी समयमै पुरा गर्नुपर्छ भन्ने सोच राख्छु अनि समयको गतिमा हिड्नु पर्छ भन्छु यसैलाइ धैर्यता नभएको भनेर आलोचना गरिन्छ । यो मेरो होइन आलोचना गर्नेहरुको कमजोरी हो , यसमा मेरो कुनै गुनासो छैन । समय र जिम्मेवारकिो रफतारमा हिडुनु मेरो स्वभाव र विशेषता हो यसलाइ अधैर्यता भन्ने कि सक्रियता आफै वुज्नुहोस् । फेरि आलोचना पनि एउटा शिक्षा हो जहाँवाट धेरै कुरा सिक्न सकिन्छ त्यसैले मेरो स्वभाव शैलीका प्रति हुने आलोचनालाइ म सहर्ष स्वीकार गर्छु । सकारात्मक रुपले ग्रहण गर्छु ।
१०) अन्त्यमा केही भन्न छुटेका र भन्नै पर्ने कुराहरु राख्न सक्नुहुन्छ ?
भन्ने कुरा त मैले सवै माथि नै भनिसकेँ । म यदि राजनीतिमा आउनै पर्ने भयो भने अहिलेका नेता कार्यकर्ताहरुको जस्तो शैली, सोच र व्यवहार अपनाएर आउदिन । राजनीतिमा आउने वित्तिकै या पद पाउने वित्तिकै आफनो जीवन शैली उच्च स्तरको तडकभडक युक्त हुनु पर्छ भन्ने सोच राख्नु नै सवै भन्दा गलत छ । राजनीतिमा लाग्ने भनेको व्यक्तिगत जीवनका धेरै कुराहरु त्याग्नु हो,अरुका निम्ति समर्पण गर्नु हो त्यसैले यो कुरालाइ मैले वुझेको छु । यहि सोचका साथ राजनीतिमा आउछु होला भन्ने लाग्छ । यो तपाइको मिडिया मार्फत मलाइ मेरा विचार र धारणाहरु व्यक्त गर्ने अवसर दिनु भयो यसका लागि प्रवाह डटकम विशेष गरि राजेन्द्र कार्की सरलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु ।