पहिलो पटक निषेधाज्ञा जारी, समुदायमै फैलिएको आशंका
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगामा कार्यरत कर्मचारी र स्थानिय गरी १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । भेरी नगरपालिकाले गत ३ भदौमा स्वाव संकलन गरेका १३ जना मध्य सवैको कोरोना रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै जिल्ला अस्पताल जाजरकोटले गत ४ भदौमा संकलन गरेका सात मध्य ६ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाव पश्चिम रुकुमको चौरजहारी स्थित मिसन अस्पताल (कोरोना अस्पताल) मा परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
भेरी नगरपालिकाले संकलन गरेका १३ मध्य बाहुनथाना स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मी, एक जना बैकका स्टाफ र दुई जना भेरी नगरपालिकाका कर्मचारी रहेका छन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयको एक पोजेक्टका दुई जना कर्मचारी, प्रहरी दुई जना, दुई जना नेपाली सेना र दुई जना स्थानिय ब्यक्ति रहेको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्रीले बताए ।
स्थानिय, सुरक्षाकर्मी, बैकका कर्मचारी, नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी लगायत सवै क्षेत्रका मानिसमा कोरोना देखिएकोले धेरै मानिसहरुलाई संक्रमण भएको आशंका गरिएको छ । ति मानिसहरु सँग सम्पर्कमा आएका सवैको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा पिसिआर परिक्षण गर्न पहल भैरहेको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए ।
स्थानिय प्रशासनले सोमवार राती १२ बजे देखि लागु हुने गरि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । स्थानिय प्रशासनले भेरी नगरपालिकामा कोरोना संक्रमण देखिएपछि भेरीका वडा नम्बर ३ र ४ मा निषेधाज्ञा कफ्र्यू जारी गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए ।