जोखिमपुर्ण बस्ती स्थानान्तरण प्रक्रिया अलपत्र

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

पुर्वी जाजरकोटको नलगाड नगरपालिका १२ औलगुर्तामा २०६९ सालमा गएको पहिरोमा परि ६ जनाको ज्यान गयो । ६ घर बगायो । पहिरोले ६० घरधुरी रहेको बस्ती नै जोखिममा पर्यो । गाँउ नै पहिरोको उच्च जोखिममा परेपछि स्थानिय तह देखि जिल्ला दैवी प्रकोप ब्यवस्थापन समिति हुँदै केन्द्रिय दैवी प्रकोप ब्यवस्थापन समितिले बस्ती स्थानान्तरणका लागि सरकारलाई सिफारिस गरे । तर उक्त सिफारिस कार्यान्वयन हुन सकेन । मानिसहरु अहिले पनि जोखिम मोलेरै सोही बस्तीमा बस्न बाध्य छन् ।

जाजरकोट क्षेत्र नं.१ (क) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य गणेश प्रसाद सिंह पहिरो प्रभावित जिल्लाको बारेकोटको बस्ती स्थानान्तरणको योजना लिएर संघिय राजधानी काठ्मान्डौ गएका छन् । गत असार २५ गते र त्यसपछि गएको पहिरोमा बारेकोट गाँउपालिकामा ठुलो जनधनको क्षति भयो । पहिरोको त्रासले धेरै परिवार विस्थापित भएका छन् । पहिरोमा परि १४ जनाको ज्यान गयो । ५६ घर पहिरोले बगायो । एक हजार बढी परिवार विस्थापित भए । बारेकोट गाँउपालिकाका सवै गाँउहरु प्रभावित भएपनि विशेषगरी बडा नम्बर ४ र ५ का बासिन्दा धेरै प्रभावित भएका छन् । पहिरोले जमिन नै भासिएको, चिराचिरा परेको र जतिखेर पनि पहिरो खस्न सक्ने भन्दै बषौं देखि बस्दै आएका स्थानिय घर छोडेर स्थानिय विद्यालय र खुला चौरमा त्रिपालको साहारामा बसिरहेका छन् ।

बस्ती अत्यान्त जोखिममा रहेको र बस्न नमिल्ने भन्दै बारेकोट पहिरो प्रभावितलाई स्थान्तरणका लागि बारेकोट गाँउपालिकाले कर्णाली प्रदेश सरकार र संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले पनि उक्त निर्णय कार्यान्वयनका लागि संघिय सरकारलाई सिफारिस गरिसकेको छ । ‘बस्ती स्थानान्तरण गर्न आवश्यक पहलका लागि स्थानिय र प्रदेश सरकारका निर्णय बोकेर संघिय राजधानी आईपुगेको छु’ प्रदेश सभा सदस्य सिंहले भने ‘बारेकोटको बस्ती भासिएको छ । फाटेको छ । त्यहाँबाट बस्ती सारिएन भने अझै ठुलो क्षति हुन्छ । त्यसैले सरकारले तत्काल भुगर्भविद र विपद विज्ञलाई जोखिमयुक्त बारेकोट लगेर अध्ययन गराउनु पर्छ र बस्ती स्थान्तरणको योजना बनाउनु पर्छ ।’

बारेकोट ५ तोल्खानामा २०११ सालमा ठुलोे पहिरो गएर धेरै जनधनको क्षति भएको थियो । अहिले फेरी त्यही गाँउ पहिरोले पुरै छियाछिया पारेको छ । धजा फाटेको छ । चिराचिरा भएको छ । मानिसहरु घर छोडेर विद्यालय र जंगलको खाली चौरमा त्रिपाल हालेर बसेका छन् । बारेकोटका धेरै बस्तीहरु असार देखि असोज सम्म बस्नै नमिल्ने भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । ‘त्यही भएर बस्ती स्थानान्तरणका लागि प्रदेश र संघिय सरकार सँग माग गरेका हौ’ अध्यक्ष शाहले भने ।

कर्णालीका जाजरकोट, कालिकोट, पश्चिम रुकम लगायतका जिल्ला भु बनौटको हिसावले र पहिरोको जोखिमको हिसावले निकै संवेदनशील जिल्लाको रुपमा पर्दछन् । पहिरोको समस्या पहाडी जिल्लाहरुका मानिसहरुले बषौं देखि भोग्दै आएका छन् । गरीवीका कारण जोखिमयुक्त भिरालो पहरोमा बस्ती बसाउँदा पनि जोखिम बढेको हो । अहिले डोजरे विकासले झन जोखिम निम्त्याएको छ । गाँउ गाँउमा मोटरबाटो पुरयाउने जनप्रतिनिधीको होडवाजीले यस क्षेत्रमा जोखिम झनै बढेको छ । तर जोखिमयुक्त बस्तीको पहिचान गरि पहिरो रोकथामका उपाय अपनाउन र बस्ती स्थानान्तरणको योजना बनाउन तीनै तहका सरकार चुकेका छन् । बर्षातको समय र विपदको बेला महत्वकाँक्षी योजना अघि सार्ने तर काम गर्ने बेला विर्सिने प्रबृत्तिले गर्दा सधै समस्या बल्झिरहने विपद् ब्यवस्थापनमा लामो समय देखि काम गदै आएका नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad