राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएराती पहिरो गएर दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार विहिवार राती अविरल बर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा उक्त घटना भएको हो । पहिरोमा पाहुना आएका सहित हराएका १२ मध्य एक जनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । अन्य ११ जना पहिरोमै पुरिएको आशंका गरिएको छ । अहिले सम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन ।
पहिरोमा परि ५२ बषिय गोपाल सार्की सहित उनकी श्रीमति ५० बर्षिया पुष्पा सार्की, १३ बर्षिय छोरी लक्ष्मी सार्की र ११ बर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन् । उनको घर समेत पहिरोले पुरेको छ । त्यस्तै ३८ बर्षिया कलु सार्की सहित उनकी छोरीहरु १४ बर्षकि तिर्खा र ११ बर्षिया कमला तथा ६ बर्षका छोरा सुभास वेपत्ता भएको प्रमुख प्रशासकिय अधिकृत सिंहले बताए । त्यस्तै कलु सार्की अर्थात दिदिको घरमा पाहुना आएका कुशे ९ चौताराका २० बर्षिया डिल्ली सार्की, १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की र १८ बर्षका विरेन्द्र सार्की बेपत्ता भएको उनले बताए । उनले उद्धारमा निकै समस्या भएको सुनाए । अहिले सम्म उद्धारका लागी कसैले आवश्यक पहल नगरेको बताए ।
जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थल तर्फ विहानै खटिएको बताए । तर सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खवर आउन नससकेको उनको भनाई छ ।
बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले पहिरोले ठुलो मानवीय क्षति पुगेकोमा दुख्ख प्रकट गदै सवैलाई धर्यधारण गर्न र बेपत्ताको खोजी कार्यमा सघाउन आग्रह गरेका छन् ।