राजेन्द्र कार्की । जाजरकोट
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागी जाजरकोट सदरमुकाम खलंगामा तीन सय वेड क्षमताको क्वारेन्टाईन बनाउने तयारी थालिएको छ । संक्रमित जिल्ला र भारतबाट आएकालाई राख्नको लागी क्वारेन्टाइन बनाउन लागिएको हो ।
जिल्लाका सातवटै पालिकाले जिल्ला सदरमुकाम खलंगामा तीन सय वेडको संयुक्त क्वारेन्टाईन निर्माण गर्न थालिएको हो । जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्य लगायतका सरोकारवाला निकायको बैठकले तत्काल सदरमुकाम स्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा तीन सय जना बस्न मिल्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए ।
बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न भारत र अन्य जिल्लाबाट आएका तथा ल्याउनुपर्ने नागरिकहरुको स्वाव परिक्षण गरेर मात्र घर पठाउने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थापना गरिने तीन सय वेडको क्वारेन्टाईन संचालन तथा व्यवस्थापन गर्न अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वमा प्रत्येक पालिकाले आ–आफ्ना पालिकाका प्रभावित नागरिकको जिम्मेवारी लिनेगरी एक–एक जना स्वास्थ्यकर्मी र एक–एक जना सम्पर्क व्यक्ति परिचालन गर्ने निर्णय गरिएको संयोजक रावलले बताए ।
सदरमुकाममा स्थापना गरिने क्वारेन्टाइनको क्षमता भन्दा बढि भारत तथा अन्य जिल्लाबाट आउने नागरिकहरुको संख्या भएमा सम्बन्धित पालिकाको केन्द्रमा यथासम्भव क्वारेन्टाईन निर्माण गरि राख्ने निर्णय समेत गरिएको छ ।
क्वारेन्टाईनमा राखिएका व्यक्तिहरुको स्वास्थ्य परिक्षणमा अपुग भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा (पीपीइ सेट) सामाग्री लगाएतका अन्य स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालयको परामर्शमा सम्बन्धित पालिकाले खरिद तथा व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
स्थानियले सदरमुकाममा जिल्लाभरका मानिस राख्ने कुराको विरोध गरेका छन् । कोरोनाको जोखिम बढ्ने भन्दै स्थानियले सम्बन्धित पालिकामा नै क्वारेन्टाइनको ब्यवस्था गर्न आग्रह गरेका छन् । भेरी नगरपालिका ३ का निमबहादुर डाँगीले सदरमुकाममा जिल्लाभरका मानिसलाई राख्दा कोरोनाको संक्रमण फैलने भन्दै निर्णयको विरोध गरे । उनले सम्बन्धित स्थानिय तहमा नै क्वारेन्टाइनको ब्यवस्था गरि स्वाव संकलन गर्ने प्रवन्ध मिलाउनु पर्ने बताए । भेरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लिलाबहादुर शाहले थाप्लेचौरमा मात्र क्वारेनटाइन बनाउने निर्णय गलत भएको बताए । निर्णय नसच्याएर क्वारेन्टाइन निर्माणमा अवरोध गर्ने चेतावनी दिए ।