प्रविण नेपाली । जाजरकोट ( हाल दोलखा )
म अहिले दोलखामा छु । बारेकोट ६ ताँसी निवासी अविनास विक सँग मेरी बहिनी जेनिसा नेपाली को २०७२ मंसिर मा विवाह भएको थियो । मेरी बहिनी यस संसारबाट सदाका लागी विदा भैसकेकी छ । बहिनीको घटना भएको आज छैटौ दिन । आज जेठ १ गते । बहिनीको स्वभाविक तथा कालगतिले मृत्यू नभई हत्या गरिएको आशंका भैरहेको छ । पछिल्ला घटनाक्रम हेर्दा । म टाढा भएपनि प्राण भन्दा प्यारी बहिनीको ज्यान गएको घटना प्रति सुक्ष्म ढंगले नियाली रहेको छु । मेरी बहिनीको पेटमा ५ महिनाको गर्भ पनि थियो । यस अघि दुई सन्तान खेर गएका थिए ।
घटना बारे मैले फेसबुक मार्फत केही कुराहरु अवगत गराईसकेको थिए । तर विस्तृत विवरण यो आलेख मार्फत तपाईहरु समक्ष बाँड्न चाहन्छु किनभने यो वा त्यो बाहानामा घटनालाई ढाकछोप गर्ने प्रपञ्च भैरहेको आभास मैले पाएको छु । सत्यतथ्य छानवीन होस न्याय नमरोस । दोषी नउम्किउन । घटना बारे सवैलाई सत्यतथ्य फेहरिस्त जानकारी गराउने यही मेरो लेखको आसय हो ।
२०७७ बैशाख २७ गते
हामी दुई दाजुभाई तर दुबै जना कामको सिलसिलामा घर बाहिर । म जान सक्ने स्थिति थिएन । भाई नेपाल प्रहरीमा जुम्ला विमान स्थलमा कार्यरत छ । मैले भाईलाई फोन गरेर बैहिनीको बारेमा खबर गरे । म आउन नसक्ने पनि जानकारी गराए । मलाई बहिनीले २५ गते फोन गरेको र फोनमा बहिनीले आफुलाई घरका परिवारले तेरा माईति पनि तँलाई वास्ता नगर्ने रहेछन, भाईहरुसँग पनि तेरो सम्बन्ध राम्रो छैन जस्तो छ, तँ लाई केही भई हाल्यो भने पनि तेरा माइति आउने वाला छैनन यस्तै यस्तै दुखेसो पोख्तै तपाई जसरी भएपनि एकपटक हाम्रो घरमा आउनु दाई हाम्रो घरपरिवारलाई सम्झाईदिनु भनेर भनेको कुरा भाईलाई भने र कान्छीले मलाई अस्ति मात्र यसो भनेकी थिई आज विती भन्छन । बिरामी भएको खबर समेत नपाई बहिनीको मृत्यू कसरी भयो । एक छिन अलमलमा प¥यौ । हैना मृन्यू शंकास्पद छ तपाई आउन नसक्ने भए म जसरी पनि आउछु । भाईले भन्यो । लेकमा त हिउँ धेरै छ भन्छन, कसरी आउछस मैले भने म जसरी पनि आउँछु उसले भन्यो । त्यतिबेला सम्म मेरो बहिनीको लाश नजालाई दिनु भन्नु र तपाई पनि पुलिसलाई खबर गर्नु । म पनि खबर गर्छु । बहिनी कालले हैन जालले मरेको हुन सक्छ । यही निष्कर्ष पछि भाई आफनो बिदाको प्रक्रियातिर लाग्यो घटनाका बारेमा पनि सम्बन्धित निकायमा जानकारी गरायो । यता मैले पनि बारेकोट गाउँपालिकाका अध्यक्ष लगायत चिनजानका व्यक्तिहरुसँग सम्पर्क गरे र बहिनीको मृत्यू कालगतिले नभई हत्या भएको हुन सक्ने जानकारीका साथ घटना स्थलमा पुलिस पठाई दिन अनुरोध गरे । घटना भएकै दिन घटना स्थलमा पुलिस पुगिसकेको खबर मैले पाए ।
उता घरतिरबाट आमा, दीदी, काकी, ठुलो बुवाको छोरा दाई भतिज लगायत १५ जना करिब १ बजे तिर हिडे । हिडेको साँझा बहिनीको लाश भएको ठाउँ पुग्न सकेनन र वीचबाटो मै बसे भोली पल्ट विहान करिब साढे ७ बजे घटना स्थलमा पुगे ।
बैशाख २८ गते
माइतीघरबाट गएको टोली घटना स्थलमा पुगे पनि भाईले आफु नआउन्जेल बहिनीको लाश नचलाईदिनु भनेको कुरा मैले फोन मार्फत अवगत गराए र सबै जना भाईको पर्खाइमा बसे । त्यहाँ पुगेर बसेका र अघिल्लो दिन देखि लाश कुरिरहेका व्यक्तिहरुको अवस्था कस्तो थियो थाहा छैन तर म भने नियमित फोन गर्ने के भईरहेको छ खबर लिने गर्थे । फोनमा भएको कुराकानी राम्रो सँग सुन्नका लागि पनि फोनको नेटवर्कले काम नगर्दा मन खिन्न भएर आउथ्यो । घरी घरी आफन्त र साथीभाईहरुले खास के भएको रहेछ भनेर सोध्ने गर्थे तर मसँग जवाफ थिएन । खै हजुर मैले पनि राम्रोसँग बुझन पाएको छैन भन्थे । यतिकैमा यताबाट गएका मध्ये एक जनाको फोन आयो । के कस्तो छ भनेर मैले सोधेः लाश त घर भित्र छ हामीले हेरेका छैनौ । दाई आएपछि हेर्ने भनेका छौ । अहिले हामी सबै यतै छौ अघि एकजना अन्दाजी सात आठ वर्षको वच्चीले मलाई पछ्यायो । मैले उसलाई सोधपुछ गर्दा आन्टीलाई हानेर मारेका हुन । आफै मरेको होइनन भन्यो । उसँग कुरा गर्दै थिए घरका परिवार आएर उसलाई मबाट लिएर गए । त्यसपछि हामीले उसलाई पछ्यायौ तर घरपरिवारले छाड्दै छाडेनन भनेर एक जनाले मलाई बताए । मैले उसो भए यो कुरा पुलिसलाई भन्यौ भनेर सोधे उनीहरुले छैनो भने । उसो भए इन्सपेक्टर साबलाई यो कुरा तुरुन्त भन भने । यो कुराले मलाई थप सशंकित बनायो र हत्या नै हो भन्ने लाग्यो । उता के गरे पुलिसलाई भनेकी भनेन भनेर फोन गरे धेरै बेर प्रयास गरेपछि फोन लाग्यो । के ग¥र्यौ भन्यौ त भनेर सोधे, उताबाट अँ हामीले भन्यो भने । के भन्नु भयो त भनेर सोधे त्यस्तो चिन्ता नलिनु हामी पनि यतै छौ । त्यस्तो केही भएको भए पोष्टर्माटमको रिर्पोटमा आईहाल्छ । बच्चीलाई सोध्ने भएपनि एक छिन पछि सोध्नुहोला । भन्नु भयो भने ।
उता जुम्लाबाट भाई विहानै चार बजे हिड्यो । हिडदाँ खेरी फोन गरेर भने म नेटवर्कले काम गर्ने ठाउँबाट सम्पर्क गर्छु चिन्ता नलिनु । उसँग एनटीसीको नम्बर थियो । बाटोमा स्काई बाहेक अरु फोन लाग्थेन । यता भाईको पर्खाइमा बहिनीको लाश र त्यहाँ उपस्थित भएका मानिसहरु थिए । बेला बेलामा मलाई फोन गरेर भाईको खबर बुझि रहन्थे म आउँदै छ भनेर जवाफ दिन्थे तर कहाँ पुगेको हो मलाई पनि थाहा थिएन र विहानै हिडेको यहाँसम्मा पुग्यो होला भन्थे । गाउँपालिकाका अध्यक्षसँग विचविचमा सम्पर्क भइरहन्थ्यो । उहाँले मलाई त्यस्तो हैन होला तिम्रो मामाले मलाई हैना जस्तो छ भन्नु भएको छ । भन्नु भयो मैले हिजोको दिनमा घरपरिवारबाट बहिनीलाई हुने गरेको व्यवहारहरु बारे गाउँपालिका अध्यक्ष ज्यूलाई अवगत गराए । उहाँले ठिक छ आफुलाई शंका छ भने कानुनी प्रक्रियामा जाउ भन्नु भयो । साँझको करिब ७ बजे तिर भाईले मलाई फोन ग¥यो । दाई हामी मुलशाम पुग्यौ । भन्यो मैले ल ल रातीसम्म पुग है भने । यता पनि भाई यहाँ आईपुगेको भनेर जानकारी गराए । त्यसपछि राती प्रत्येक घण्टामा फोन गरिरहे कृपया तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही क्षण पछि पुन प्रयास गुर्नुहोला भनी रहयो ।
बैशाख २९ गते
विहान भयो न भाईको फोन आउँछ न त बहिनीको लाश भएको ठाउँमा कसैको फोन लाग्छ । विहानाको साढे आठ बजेतिर भाईको फोन आयो । म पुगेको छैन अब एक घण्टा लाग्छ होला । हिजो राती पानी परेर हिडन नै सकिएन । रुमशिला मा बसे भन्यो ए लल ठिक छ भने र फेरी उता फोन गरेर भाई यहाँ पुग्यो भनेर जानकारी गराए । त्यो दिन पनि फोनको नेटवर्क राम्रो थिएन बेला बेलामा सम्पर्क हुन्थ्यो । करिब ९ बजेतिर भाई पुग्यो । उसले घटनाका बारेमा बुझ्यो होला । त्यहाँ रहेका पुलिस टोलीसँग छलफल भएको बतायो । आफुले किटानी जाहेरी दिएर मात्र बहिनीको लाश उठाउने बताएको र पुलिसले अहिले एउटा निवेदन दिन र पछि जिल्लामा गएर किटानी जाहेरी दिन मिल्ने सुझाएको बतायो । कच्ची बाटो, लकडाउनका कारण गाडी पनि बन्द रहेको अवस्थमा गाडी भए करिब ८ घण्टा र हिडेर २ दिन लाग्ने बाटो । त्यतीबेला सम्म लाश सडेर खतम हुने स्थिति एकातिर थियो । यस परिस्थितिलाई आकलन गरेर किटानी जाहेरी लाशको पोष्टमार्टम गरिसकेपछि जिल्लामा दिने सहमतिमा पोष्टमार्टमा प्रक्रिया अगाडी बढाउने कुरा भएछ तर त्यसका लागि निवेदन दिनुपर्ने निवदेनमा हाललाई कसैमाथि शंका नभएको र पोष्टमार्टमको रिर्पोटको प्रमाणका आधारमा किटानी जाहेरी दिने गरी निवदेन लेख्न प्रहरी टोलीबाट सुझाव आएको मलाई फोन गरेर जानकारी गरियो । मैले यो हुन सक्तैन शंका भएकै कारण बहिनीको लाशलाई षडाएर भए पनि हामी न्याय खोजिरहेका छौ । व्यक्ति किटान नगरेपनि परिवारका सदस्यमाथि हामीलाई बहिनीको हत्या गरेको शंका छ र सोही अनुसार निवेदन दिने सहमति भएपछि । लाश हेर्ने कुरा भयो ।
बहिनीको लाश हेरीसकेपछि भाईले मलाई पुन फोनमा घटनाको जानकारी गरायो । उसको जानकारी यस्तो थियोः ‘बहिनीको नाक र मुख बाट रगत बगेको छ, अहिले पनि रगतका घेल्का आउँछन । निधार, नाककको डाँडा, देब्रे आँखा, देब्रे कानमा निलो दाग छ र सुन्निएको छ । त्यहाँ पुरै चोट लागेको जस्तो छ । दाँया पाखुरामा कोतरिएको छ । देब्रे घुँडामा घाँउ छ । यो मारेको हुनुपर्छ । तर लासको पोष्टमार्टम पछि गरिएको घटना मुचुल्कामा अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षकले यी कुराहरु उल्लेख गरिदिनोस भन्दा पनि गरिदिनु भएन । लास सामान्य अवस्था छ । घाउ चोटपटक कुनै छैन भनेर जर्वजस्ती मुचुल्का गराए । मेरो केही जोड चलेन ।’ भनेर भाईले भनेको यस कुराले मलाई थप सशंकित बनायो । यतिकैमा आजको दिनको करिब पौने पाँच बजेतिर पोष्टमार्टमका लागि बहिनीको लाशलाई लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । फोनले काम नगरेका कारण कति बजे पुगे र के भयो थाहा भएन ।
बैशाख ३० गते
विहान सवा सात बजेतिर फोन सम्पर्क भयो तर आवाज स्पष्ट थिएन । के भयो भनेर मैले सोधे उताबाट हिजो साँझ राती भयो भनेर डाक्टर साबले पोष्टमार्टम गर्नु भएन अहिले आठ बजे गर्ने भन्नु भएको छ भन्नेर खबर आयो । प्राथमिक स्वास्थ्यक केन्द्र, र गाउँपालिकाको कार्यालय एकै ठाउँमा भएकोले त्यहाँ नेटको सुविधा थियो मैले वाईफाई चल्छ भने मलाई फोटो पठाईदिनु भने र मेरो म्यासेन्जरमा एक जनाले फोटो पठाईदिए । जब म्यासेन्जरमा बहिनीको फोटो देखे मन थाम्न नै सकिएन आँखा रसाई हाले माईली बहिनी र मेरो श्रीमती झन डाको छोडेर रुन थाले । घरभन्दा बाहिर आफु नै उनीहरुको अभिभावक भएकोले जसो तसो मनलाई बलियो बनाएर बहिनी र बुढीलाई नरोउ जे हुनु भैहाल्यो भनेर सम्झाए । फोटो हेर्दा भाईले अघिल्लो दिन दिएको जानकारी सँग ठ्याकै मेल खायो । फोटो जुम गरी गरी हेरे । झन पिडा थपियो । यो समयमा के के गरियो सबै बताउन न त सक्दिन तर केही मुख्य कुरा उल्लेख गर्न चाहान्छु । पिडा कम गर्नलाई भए पनि बहिनीको फोटोलाई फेसबुकमा अपलोड गरे । त्यो फोटो हेर्दा जसले पनि सहजै अनुमान गर्न सक्थेकी पेट दुखेर मरेको विरामी हो या हत्यागरिएको । फेसबुक, फोन, म्यासेन्जर मार्फत आफन्त र शुभचिन्तकहरुबाट सहानुभुति र बहिनीको न्यायका लागि लडन तयार भएका प्रतिबद्धताहरु आई रहे । यही वीचमा जाजरकोट जिल्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सापलाई फोन गरे । म फलानो सर घटना के भएको छ, उता के भई रहेको छ मेरो बहिनीको हत्या नै हो सर । फोटो हेर्नु भयो भने हजुरलाई पनि थाहा हुन्छ भने । उहाँले घटना स्थलमा इन्सपेक्टर सावको टोली छ मैले फोन गरेर बुझि रहेको छु । तपाईको भाइ पनि हाम्रो स्टाफ । स्टाफकी बैनी मेरी पनि बहिनी एउटै चिन्ता नलिनुस भनेर ढाडस दिनु भयो अलि मन पनि शान्त भयो तर उहाँको एउटा कुराले मन भने झसँग भयो । त्यो कुरा यस्तो थियो मैले इन्सपेक्टर सापसँग कुरा गरिरहेको छु तर उहाँले त्यस्तो चोट पटक केही छैन भन्नु भएको छ । मैले यताबाट भने त्यसो भने डिएसपी साप म हजुलाई फोटो पठाईदिनुन्छु हजुर पनि हेर्नुहोला र अनि के हो भन्ने थाहा पाउनुहुनेछ भने । फेसबुकमा डीएसपी सापको नाम सर्च गरे, उहाँसँग मेरो चिजान पनि थिएन र भेट पनि भएको थिएन । आज नै उहाँसगको पहिलो फोन कुराकानीथियो । मैले फेसबुकमा उहाँलाई भेटाउन सकिन र District police office jajarkot भएको फेसबुक पेज भेटियो त्यसैमा फोटो पठाएर पुन फोन गरे मैले हजुरको व्यक्तिगत फेसबुक भेटाउन सकिन र अफिसियल पेजको म्यासेन्जरमा पठाएको छु सर हेर्नुहोला भने । उहाँले हुन्छ म एकछिन पछि हेर्छु भन्नु भयो ।
मलाई भने इन्सपेकटर सावले त्यसो किन भन्नु भयो भनेर खुल्दुली लागी रहेको थियो । फेरी पोष्टमार्टम स्थलमा फोन लगाए र इन्सवपेक्टर सावलाई देउ भने । हलो सर मैले भर्खर डिएसपी साव सँग कुरा गरे हजुरले त यसो भनेर खबर गर्नु भएको रैछ । भनेर अवगत गराए । उहाँले मलाई यसरी जवाफ दिनु भयो । हामी घटना भएको पहिलो दिनमा नै त्यहाँ पुगेका होउ । पहिलो दिनमा यस्तो घाउ चोटपटक केही पनि थिएन । यो हिजो २९ गते तेस्रो दिन हेर्दा त्यस्तो देखियो । मैले सोही अनुसार सरलाई जानकारी दिएको हुँ। मैले भने उसो भए तेस्रो दिनको जानकारी किन दिनुभएन । पहिलो दिनको फोटो छ भने मलाई पठाईदिनु । उहाँले एकजना भाईलाई पहिलो दिनको फोटो दिनु भएछ र उसले मलाई पठाईदियो । त्यो फोटो मेरो म्यासेन्जरमा आयो मैले हेर । बहिनीको श्रीमानले बनिीलाई काखमा राखेर सेल्फी खिचेको रहेछ । त्यसपछि दुबै फोटोहरुलाई हेरेर मैले विश्लेषण गरे ।
पहिलो कुरा पहिले खिचिएको सेल्फिीमा निलो रंगको नयाँ चोली लगाइएको छ । बहिनीलाई कोरीबाटी गरेर निधारभरी सिन्दुर दलिएको छ । गाउँघरमा प्राय मान्छे नयाँ लुगा सधैभरी लगाउदैन । मेरो बहिनीले पनि म मर्छु भनेर नयाँ कपडा लगाएको पक्कै पनि हैन होला । मैले फोन गरेर बहिनीलाई केही नचलाईदिनु भनेर भनेको अवस्थामा किन त्यसरी कोरीबाटी गरेर नयाँ कपडा लगाईयो । त्यो सेल्फी खिचीसकेपछि बहिनीको लाश कुर्ता शुरुवाल लगाएर राखिएको छ । किन यसरी बहिनी मरी सकेपछि कपडा फेर्ने काम भयो । छाती र शरिरमा किन तेल बेसार दलियो । मेरो माईला मामाले भन्नु भएको छ मलाई मरिसकेपछि खबर आयो म गएको बेला भान्जी मरिसकेकी थिईन । भान्जीको लाश भित्र अँधेरो कोठामा थियो र बाहिरको कोठा पोत्दै थिए । त्यसै गरी अर्को एकजनाले अहिले विहाना भर्खर मैले धारामा देखेको थिए एक्कसी कसरी वितिन ।
यी कुराहरुले मन साह्रै खिन्न भयो र पुनः इन्सपेक्टर सावलाई फोन गरेर भने सर हजुरबाट प्राप्त भएको फोटोले मलाई झन सशंकित बनायो । अब हजुरले बहिनीले मर्ने बेलमा आफुले लगाएको पुरानो लुगा कहाँ थियो । किन नयाँ कपडा लगाईयो र किन फेरि अर्को कपडा फेरियो । मलाई बहिनीको सबै कपडाको विवरण चाहिन्छ भनेर जानकारी गराए । फोन काटियो नेटवर्कले काम गरेन ।
त्यो वीचमा फोन नेटवर्क ले काम गरेन र केही समय पछि फोन लाग्यो र सोधे के के भयो । हामी हिडिसक्यौ । पोष्टमार्टम भयो । पोष्टमार्टम गर्नु अघि शरिर हेरेपछि डाक्टर सावले चोट छैन भनेर म भन्न सक्दिन । बाहरी चोट भन्दा पनि भित्री चोट हुन सक्छ । बाँकी रिर्पोटमा आउँछ भन्नु भएको छ । बहिनीको बच्चा रहेछ ठुलै थियो । छोरा थियो । अहिले दाहसंस्कार गर्ने काम भईरहेको छ । हामी किटानी जाहेरी दिनका लागि हिड्यौ । त्यसपछि फोन लागेन ।
बैशाख ३१ गते
विहाना ९ बजेतिर फोन आयो । हामी कालीमाटी पुग्यौ । खलंगा पुगेपछि फोन गर्छौ भनेर भने । दिउँसो करिब १ बजेतिर खलंगा पुगे र वकिललाई भेटेर किटानी जाहेरी लेखिसकेपछि करिब ६ बजेतिर जि.प्र.का गएर जाहेरी दिने काम भएको छ दर्ता भएको छैन भन्ने खबर आएको छ । कार्यालय समय सकिएकोले हुनुपर्छ । आज दर्ता हुन्छ होला ।
जेठ १ गते
यो आलेख तयार गर्दा सम्म जोहेरी दर्ता भएको छैन । माथि उल्लेखित विवरणहरु घटनाको अनुसन्धान र छानविनमा सहयोग पुगोस भनेर लेखेको छु । घटना स्थलको विस्तृत विवरण सहित प्रहरीको मुचुल्कामा र अनुसान्धानमा पनि आउँला ।
आफनो बहिनीको मृत्यूमा यसरी मुद्या लडने रहर कसलाई हुन्छ होला र ? यो मेरो पनि थिएन । बहिनीलाई घरपरिवारले ज्यूउँदो छदा सम्म गरेको हिँसा र मेरो कानमा पुगेको यो घटना विवरणले गर्दा यसो गर्न विवश छु । बहिनी हिजो देखि पेट दुखेर मरी भन्नु विरामी भएको समयमा मलाई एक पटक पनि फोन नगर्नु एकै चोटी मृत्यू भएको खवर गर्नु र बहिनीले मर्नु भन्दा दूईदिन अघि मलाई घरपरिवारले गाली गर्छन हेप्छन भन्नेर मलाई जानकारी दिनुले बहिनीको हत्या भएको होइन भनेर म कसरी भन्न सक्छु ।
त्यसपछि दीदीलाई फोन गरेर चिन्ता नगर्नु आमा बुवालाई सम्झाउनु भने । दीदी पनि घटना स्थलमा गएको हुँदा कस्तो रहेछ घरपरिवारले के भने भनेर सोधे ? सधै जंगलतिर दाउरा घास लिन जान्थि, एक दिन केले धकेल्यो भन्थी । त्यही खोलाको भुतले खाइदियो । के लाग्नेकै छल हो भन्थे । भन्नु भयो रुदै भन्नु भयो पल्लो घरको बुहारीको ज्यान सानो भए पनि ठुलो भारी बोक्थिन हाम्री बुहारीको ज्यान ठुलो भए पनि सानो भारी ल्याउथि । काम गर्ने आङला त खासै थिएनन । त्यही पनि मरिगई अब के भनु भनेर सासुले भनी मेरो बहिनीलाई मरेपछि पनि यसका कविलाले सुख नदिने भए भन्नु भयो । यस पछिमा धेरै कुरा गर्न सकिन र फोन राखिदिए ।
बहिनीको मृत्यू हुदाँ देश काल र परिस्थितिका कारण घर जान नपाए पनि धित मरुन्जेल रुन सम्म पाएको छैन । मेरो एक बहिनीको ज्यान गए पनि लाखौ बहिनीहरुको न्यायका लागि लडने प्रण गरे । हामी पढेलेखेका, सुचना र संचारको पहुँचमा भएका व्यक्तिहरुको वहिनीको हालत त यस्तो छ भने गाउँ घरमा ती तमाम अनपढ र निरक्षर बहिनीहरुले यस्ता कयौ पिडा सहेको होला र कयौको ज्यान गएको होला कसले बोली दिने । सुन्दैछु एकपक्ष मरीमेटी हाम्रो विपक्षमा लागिरहेको छ रे । तिनीहरुलाइ भन्न चाहान्छु । म न्यायको लागि लडीरहेको छु । तपाईहरु न्याय र सत्यलाई दबाउन लागि पर्नुभएको छ । जीत तपाईहरुकै भए पनि सत्य मर्ने छैन र सत्यले हार्ने छैन । जो विपक्षमा लागिरहनु भएको छ तपाईहरुका पनि बहिनी होलान, छोरी चेली होलान तिनीहरुको मेरो बहिनीको जस्तै हालत भयो भने एक दिन तपाईले पनि न्यायको लागि लड्ने परिस्थिति नआओस ।