राजेन्द्र कार्की । जाजरकोट
लामो लकडाउनका कारण समस्यमा परेका मजदुर तथा विपन्नलाई बारेकोट गाँउपालिकाले चामलको साटो स्थानिय स्तरमै उत्पादित मकै राहत वितरण गरेको छ । अति दुर्गम बारेकोटमा चामल पाउन मुस्किल भएपछि गाँउपालिकाले मकै राहत दिएको हो ।
गाँउमै रहेको मकै किनेर प्रतिब्यक्ति पाँच पाथीका दरले मकै राहत उपलब्ध गराएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । सम्बन्धित वडाले आफ्नै वडा वा अर्को वडाबाट मकै किनेर विपन्न तथा मजदुरको पहिचान प्रतिब्यक्ति पाँच पाथी मकै, प्रतिपरिवार एक पोका तेल र एक केजी नुन उपलब्ध गराइएको छ । कम्तिमा एक महिनाका लागी पुग्ने एक हजार ८५ परिवारलाई खाद्यन्न वितरण गरिएको अध्यक्ष शाहले बताए ।
‘त्यसको लागी पहिलो चरणमा करीव ६ सय क्वीन्टल मकै आवश्यक पर्छ । जुन गाँउपालिकामै मौज्दात रहेको छ’ उनले भने ‘लकडाउन लम्बिदै गयो र मकैले पुगेन भने मात्र चामल वितरण गछौ ।’ ढिलै भएपनि राहत पाएपछि विपन्न परिवार खुसी भएका छन् । आफुहरु यतिवेला खाद्य संकटले थलिएको बताउने बारेकोट १ बयालाका प्रेमबहादुर विकले गाँउपालिकाले दिएको राहतले आफ्नो परिवारलाई ठुलो राहत मिलेको बताए उनको सात जनाको परिवार छ । दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने त्यो परिवार लकडाउनका कारण काममा निस्कन पाएको छैन । उनले भने ‘धेरै दिन देखी आधा पेट खाएर बाँचेका थियौ अव बल्ल भोकको स्वास फेर्न पाईने भो ।’ उनी जस्तै विपन्न तथा मजदुरले गाँउपालिकाको राहतले आफुहरुलाई ठुलो सहयोग पुगेको बताए ।
बारेकोटमा धान उत्पादन निकै कम हुने गर्दछ । किन्ने चामल पनि पाईदैन । खाद्य तथा ब्यापार कम्पनी लिमिटेडको बारेकोट डिपोमा चामल मौज्दात छैन । पुग्ने वित्तिकै हारालुछ हुन्छ । गहँु र जौ पाकेका छैनन् । मकै प्रसस्त उत्पादन हुन्छ तर मकै पशुलाई खुवाउन र जाँड रक्सी बनाउन प्रयोग गर्ने गरिन्छ । स्थानिय रुपमा उत्पादिन अन्न अन्य प्रयोजनमा खेर जाने तर खाद्य संस्थान र तराईको चामलमा भरपर्ने कुरालाई निरुत्साहित गर्न गाँउमै उत्पादिन मकै राहत दिने निर्णय गरिएको अध्यक्ष शाहले बताए । स्थानिय उत्पादनमा जोड दिईरहेको गाँउपालिकाले कृषि उत्पादनमा जोड दिन विशेष अनुदान दिने कार्यक्रम अघि सार्ने तयारी गरेको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिंहले बताए । बर्षेनी खाद्य संकटको समाचार आउने बारेकोटमा खाद्य संकट नभएर भात(चामल) संकट भएको सिंहले बताए । भाते बानीमा सुधार गरि स्थानिय अन्न उपयोगमा जोड दिने गाँउपालिकाको निति रहेको उनले बताए । उनले ब्यवसायिक कृषि उत्पादनमा लाग्ने किसानलाई अनुदान समेत प्रदान गरिने बताए ।