कसको कसरी वितिरहेको छ एकान्तबास ?

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कोरोनाको त्रासले देश पुर्ण रुपमा लकडाउनमा छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी सरकारले घोषणा गरेको लकडाउनलाई पालना गदै २० दिन देखि मानिसहरु अत्यावश्यक काम बाहेक घर बाहिर निस्केका छैनन् । यस अवधीमा कसको दैनिकी कसरी वितिरहेको छ भनेर प्रवाह डटकमले केही प्रतिनिधीमुलक मानिसहरुको लकडाउन अनुभुति प्रकाशन गर्ने जमर्को गरेको छ । चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस(कोभिड—१९) अहिले विश्वभर महामरीको रुपमा फैलिरहेको छ । अहिले सम्म एक लाख बढीको मृत्यु भैसकेको छ भने करीव १८ लाख संक्रमित भएका छन् । नेपालमा भने हाल सम्म १२ जनामा संक्रमण देखिएको छ । अझै पनि कोरोना भाईरसको औषधी पत्ता लागेको छैन । कोरोना विरुद्धको लडाई लड्ने एक मात्र उपाय भनेको सामाजिक दुरी कायम गर्ने र घर भित्रै बस्ने । आफु सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउने माध्यम भनेकै लकडाउन हो । यस अवधीमा कसको दैनिकी कसरी वितिरहेको छ । उहाँहरुको आफ्नै शब्दमा ।

निरज आचार्य, केन्द्रिय सदस्य नेपाल कम्नियुष्ट पार्टी

म विहान ट वजे उठ्छु । सामान्य योगा संगै रेडियो समाचार सुन्छु । ठ देखि ९ वजे ब्याडमिन्टन खेल्छु छोरा , श्रीमित र छिमेकि संग । नित्यकर्मा पछि सोसल मिडिया का समाचार सवै हेर्छु । खाना पछि पढ्छु । अहिले चैतन्नय मिश्र को पुजींवाद र नेपाल पढिरहेको छु । केही फिलीम हरु हेर्छु । पार्टी कार्यकर्ता संग फोन सम्पर्क गर्छु । जनसमुदायका काममा फोन वाटै समन्य गर्छु । मेरो लकडाउन दैनिकि यसरी नै वितिरहेको छ । बेलुकि पनि सोसल मिडिया हेर्छु । टेलिभिजनका समाचार हेरछु । खाना पछि केही फिलिमहरु हेरछु । केही समय पढ्छु र ११ वजे सुत्छु ।

महेन्द्र शाह, अध्यक्ष बारेकोट गाँउपालिका

लकडाउनको अवधीमा मेरा दैनिकीहरु कोरोना रोकथाम र नियन्त्रणमै वितिरहेका छन् । सामाजिक दुरी काम गदै बारेकोट बासीको सुरक्षाका लागी निति तथा योजना बनाउने, आवश्यक समाग्रीको ब्यवस्थापन गर्ने, कर्मचारी परिचालन गर्ने लगायतकै काममा सक्रिय छु । आबश्यकता अनुसार प्रदेश सरकार, संघिय सरकार, जिल्ला समन्वय समिति, अन्य स्थानियतह, संचारकर्मि, सामाजिक व्यक्तित्व, राजनितिक पार्टीका पालिका स्तर देखि जिल्ला केन्द्र सम्मका नेताहरू संग कार्यालय तथा घरमै बसेर मोबाइल फोन, फेसबुक लाइभ मार्फत समन्वय सम्पर्क अनुभव आदान प्रदान । कम्तिमा दिन को एक पटक वडा अध्यक्ष , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , हेल्थ हेल्प डेस्कमा रहेका सुरक्षाकर्मि, स्वास्थ्यकर्मी संग नियमित सम्पर्क र अवस्थाको प्रतिवेदन लिने गरेको छु । वडा कार्यालयमा रहेका कर्मचारि हरू समेत नियमित सम्पर्कमा हुनुहुन्छ । दैनिक ज्यालादारीमा काम गरि जिविकापार्जन गर्ने कामदारहरूको तथ्यांक संकलन र बिश्लेषणमा छु । सोहि अनुसार राहत बितरणको योजना समेत बनाउदै छु ।

ललित विक्रम सिंह, उपसचिब

बिहान ५ बजे उठ्छु, एक घण्टा योगा गर्छु । ६ बजे चिया पिउछु । ७ बजेसम्म बिभिन्न समाचार सुन्छु र पढ्छु । ८ बजेदेखि १० बजेसम्म पुस्तकहरु पढ्छु । १० देखी ११ बजेसम्म खाना खान्छु । ११ बजेदेखी १ बजेसम्म सामाजिक सन्जालमा अपडेट हुन्छु, साथि भाइसग हाइहेलो गर्छु । १ बजेबाट बेलुका ४ बजेसम्म पुस्तक पढ्ने र लेख्ने काम गर्छु । साढे ४ बजे खाजा खान्छु । ५ बजेसम्म कोठामै यताउता टहलिन्छु । ५ बजेबाट ७ बजेसम्म फेरी समाचार हेर्ने, लेखपढ गर्ने गर्छु । ८ बजे बेलुकाको खाना पछि समाचार सुन्ने र दिनभरका गतिविधिमा अपडेट हुन्छु । र बि बि सि समाचार सुनेपछि केही आधुनिक गीत सुनेर निदाउछु ।

 

इलमबहादुर शाही, अध्यक्ष नेपाल शिक्षक संघ कर्णाली प्रदेश

साँचिकै नजर बन्द जस्तै भएको छ लक डाउन। पालना नगरी पनि भा छैन।कोरोनाबाट बच्नको लागि यो भन्दा राम्रो अर्काे उपाय नै के छ र ? अहिले ? पट्यार लाग्दो छ लकडाउन । यो अबधिभरि दैनिक केही सिमित कामहरु गर्दैमा बितिरहेका छन् दिनहरु । सानो करेसावारी छ । प्रत्येक बिहान उठ्यो, बारीमा तरकारीका पातहरु ओल्टाइपल्टाई हेर्याे ,किराहरु मार्याे, चिया पियो फ्रेस भयो, टि भि मा कोरोनाको संक्रमित र मृतकहरुको समाचार अपडेट गर्याे अनि बस्यो । छोराहरुसँग परिवारसँग फेसबुक समाचारहरु वारे जानकारी लियो अनि साथीहरुको फोन रिसिभ गर्ने गफिएर बस्ने । त्यतिन्जेल बिहानको खाना पनि तयार हुन्छ। खाना खाएर आराम गर्ने , केही पुस्तकहरु पढ्ने र ज्ञरद्द घण्टा निदाएपछि फेरि ३ बजेतिर नास्ता खाएर कोठा सरसफाइ गर्ने वा करेसा बारिमा गोडमेल गरेर फुलहरु मा पानी चारुन्जेल साझ पनि पर्छ । खाना बनाएर खाने र टि भि समाचार र खेलकुद क्लब फुटबल हेर्ने अनि निदाउने यसरी नै दैनिकी चलीरहेको छ । कामहरु ठप्प हुदा , साथीहरुरबिध्यालयका स्टाप तथा बिध्यार्थीहरसँग प्रत्यक्ष भेट नहुदा र विभिन्न दुखमा परेकाहरुको समाचार सुनेर उनीरहुलाई चाहेर पनि सहयोग गर्न नपाउदा भने दुख लागेर आउछ ।
अहिले केही महत्वपुर्ण र उपलब्ध पुस्तकहरु पढिरेको छु । प्रयोगशाला, जीवन काँडा कि फूल, नेपाल भारत चीन मैत्री सन्धिहरु, त्रिभुजीय शिक्षा रुक्माङ्गद कटुवालको जिबनी र विवेक प्रताप शाहको मैले देखेको दरबार दाहोर्याएर पढे ।

 

खम्बजंग शाह वडाध्यक्ष भेरी नगरपालिका वडा नम्बर ४

विहान ५ बजे देखि नै फोन आउन थाल्छ । दैनिक मजदुरी गरेर मात्र जिविका चलाउने लाई ठुलो समस्या परेको गुनासो आउने गर्दछ । मेरो जवाफ जान्छ , लगत तयार गदैछु । एक दुई दिन भित्र लगत पेश हुन्छ मेरो वडावासीहरुको मात्र छैन अन्यत्र वडा बाट पनि यसै बारेमा दिनको २०,२५ कल आउँछन् । यो त एक प्रकारको नजरबन्द जस्तै छ । जनगुनासो पनि किन नआओस समस्या छ । मैले त पुर्ण रुपमा लकडाउन पालना गरेको छु । कार्यक्रममा जानै परे सामाजिक दुरी कायम गर्छु । तर धेरैले लकडाउन पालन नगरेको पाएको छु । प्रहरीलाई नटेर्ने भए सेना लगाउनु पर्ने देखेको छु । यसरी २४ सै घण्टा नजरबन्दमा बस्नु पर्दा एक प्रकारको मनोबैज्ञानिक असर समेत पर्ने देखेको छु । अर्को कुरा लकडाउन गरेको सरकारले नै बुझेको छैन् । बुझेको भए लकडाउनकै अवधीमा सरकारले नै सयौ यात्रु बसमा बोकेर किन जाजरकोट पुरयायो ? यता सडकमा पनि मानिस हिडेको हिड्यै छन् । दिक्क लाग्छ । साथी भाई सँग भिडियो कुराकानी हुन्छ । खान खायो, खाजा खायो, फेसबुक हेरयो,यसरी नै समय वितिरहेको छ ।


विर्खबहादुर कार्की अध्यक्ष नेपाल टे«ड युनियन काँग्रेस जाजरकोट

म बिहान ५ बजे उठ्छु । एकछिन फेसबुक खोल्छु अनि कुखुरालाई दानापानी दिन्छु । ६ बजे हातमुख धोईसकेर चिया नास्ता गरेर फेरी एकछिन फेसबुक खोल्छु अनि नियमित कामकाजमा लाग्छु । लकडाउनको कारण कहिलेकाही मात्र पसल खोल्छु । पसलमा नगएको समयमा कुखराको खोर बनाउने ढुङ्गा फुटाल्छु । खाना खाएर एकछिन आराम गरेर कुखुरा चराउँछु । निन्द्रा लागे सुत्छु नत्र फेसबुकमै समय बिताउँछु । त्यसपछि पुनः साढे २ बजे तिर फेरी काममा जान्छु । साँझ खाना खाई बिबिसि सुन्दा सम्म बस्छु । डिस बिग्रेर टिभी हेर्न नपाएको धेरै भयो । दिउँसो कहिले काँही सहकारीको बाख्रा फारामतिर गएर कामकाज हेर्छु ।

 


अर्जुन अधिकारी, स्वास्थ्यकर्मी

मेरो दैनिकीमा खासै फरक आएको छैन किन भने म स्वास्थ्यकर्मी भएको हुनले यतिवेला घर भित्रै बस्नु मेरो नैतिकताले दिदैन । मेरो छेडागाडको थलहमा निजी मेडिकल छ । अरु सवै कोरोनाको डरले मेडिकल बन्द गरेर गैसके । मैले भने निरन्तर बन्द नगरेर मेडिकल खोलेर सेवा दिईरहेको छु । ब्यवसाय मात्र नभएर मेरो कर्तब्य पनि हो । गाँउ घरमा खासै लकडाउन छैन । ब्यक्तिगत सुरक्षाको ख्याल गदै विरामीको उपचारमा सक्रिय छु ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad