आवश्यक सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी नै असुरक्षित

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
कोरोना महामारीको त्रास विश्वभर फैलिरहेको बेला जाजरकोट अस्पतालमा भने विरामीको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने ब्यक्तिगत सुरक्षाका आवश्यक उपकरण नभएको गुनासो गरेका छन् । कोरोना संक्रमित विरामीलाई स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीले लगाउनु पर्ने गाउन, ग्लोब्स्, क्याप, मास्क, चस्मा, बुट, हेन्ड सेनिटाईजर लगायतका ब्यक्तिगत सुरक्षा सामग्रीहरु अस्पतालमा नहुँदा समस्या भएको अस्पतालका मेडिकल अधिकृत डा. अमिन शाहले बताए ।
ज्वरो नाप्ने थर्मोमिटर, एन ९५ मास्क लगायतका सामग्री नहुँदा कोरोनाबाट संक्रमितहरु चेकजाँचका लागी अस्पताल आए समस्या पर्ने डा. शाहको भनाई छ । पुर्व तयारी केही नभएको र स्वास्थ्यकर्मीका लागी सुरक्षा सामग्री नहुँदा नसिङ्ग स्टाफ र कार्यालय सहयोगी सवैभन्दा बढी जोखिममा रहेको उनले बताए । स्वास्थ्यकर्मीका लागी आवश्यक सामग्री, मास्क, थर्मोमिटर लगायतका अत्यावश्यक समान तत्काल आपुर्ती गर्न स्वास्थ्य सेवा कार्यालय र अस्पताल विकास समितिलाई आग्रह गरेको भएपनि सुनुवाई नभएको डा. शाहले गुनासो गरे ।
यो जिल्लाबाट मजदुरीका लागी धेरै मानिसहरु कालापार(भारत) जाने गर्दछन् । ति फर्केर आउँदा कोरोनाको संक्रमण बोकेर ल्याउने जोखिम निकै भएकोले सजगता अपनाउनु पर्ने भएपनि सरोकारवालाले त्यति चासो नदेखाएको अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. औसरसिंह राठौरले बताए । उनले भने—‘पुर्वतयारी छैन केही भैहाल्यो भने हामी आफै जोखिममा रहेर कसरी काम गर्ने ?’।
यसैवीच स्थानिय प्रशासनको पहलमा मंगलवार जाजरकोट सदरमुकाम खलंगामा बसेको सरोकारवालाको बैठकले जिल्ला भित्रिने नाका छेडाचौर र सदरमुकाम स्थित बसपार्कमा कोरोना सम्बन्धि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी विहिवार देखि संचालन हुने एसईई परीक्षा केन्द्रमा पनि हेल्प डेस्क राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । जिल्लाका २१ ओटै परीक्षा केन्द्रमा हेल्प डेस्क गर्ने र कोरोना सम्बन्धि जिल्लाभर सचेतनामुलक कार्यक्रम गर्ने , आमसञ्चारका माध्यामबाट प्रचारप्रसार गर्ने र जिल्ला अस्पतालमा छुट्टै आईसोलेसन कक्षको स्थापना गर्ने निर्णय गरिएको प्रजिअ पन्तले बताए । जिल्लामा कोरोना सम्बन्धि सचेतनामुलक कार्यक्रम र पुर्वतयारी नभएको गुनासो ब्यापक बढेपछि पहिलो पटक स्थानिय प्रशासनले सरोकारवालाको बैठक बोलाई यस्तो निर्णय गरेको हो ।
विरामी विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार
जाजरकोटको भेरी नगरपालिका ७ पुन्मा स्थित सरस्वती माध्यमिक विद्यालयमा परीक्षा दिदादिदै सोमवार विरामी भएका विद्यार्थीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ । दुई दिनमा एक सय भन्दा बढी विद्यार्थीमा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो र टाउको दुख्ने समस्या देखिए पछि कोरोनाको आशंकामा अभिभावक, विद्यार्थी र शिक्षक आत्तिएका थिए । एकै पटक धेरै विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख निशा थापाको नेतृत्वमा उपचारका लागी औषधी सहितको स्वास्थ्यकर्मीको टोली तत्काल खटाएको थियो । स्वास्थ्यकर्मीको टोलीले एक सय ३९ जना विरामी विद्यार्थीको को चेक जाँच गरेर उपचार गरेको थियो । ‘कोरोनाको आशंकामा त्रसित बनेका स्थानिय बासिन्दालाई सामान्य खालको रुघाखोकी हो आत्तिनु पदैन भनेर सम्झायौ । उपचार गर्यौ,’नगर स्वास्थ्य शाखा प्रमुख निशा थापा केसीले भनिन ‘औषधी उपचार पछि विद्यार्थीहरुको स्वास्थ्यमा सुधार आएको छ । मंगलवार पनि स्वास्थ्यकर्मीको टोलीले विद्यालयमै गएर विरामी विद्यार्थीको निगरानी गरेको थियो ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad