प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगा स्थित बजार क्षेत्रका मुख्य सडकमै यातायातका साधन पार्किङ्ग गर्दा आवागमनमा समस्या देखिएको छ । पैदल यात्रु र अन्य सवारी साधन आवागमन समेत अवरुद्ध हुने गरी मुल सडकमै गाडी, मोटरसाईकल पार्किङ्ग गर्दा समेत प्रहरी प्रशासन मुकदर्शक बनेको स्थानियको गुनासो छ । पैदल हिड्न समेत नमिल्ने गरी विचबाटोमै यातायतका साधन राखिएको हुन्छ नेपाल प्रेस युनियनका अध्यक्ष बालकुमार शर्माले भने ‘तर नियमनकारी निकाय थाह नपाएर जस्तै गरेको देखिन्छ । एक त सदरमुकाम भित्रका सडक साँघुरा छन् । त्यसमा यातायातका साधन पार्किङ्ग गर्दा आवागमनमा समेत समस्या परेको छ ।’
बुधवार विश्व खाद्य कार्यक्रमको ६६—१—००४४ नम्बरको गाडी ठाँटी क्षेत्रको न्युरोडको विच सडकमै पार्किङ्ग गरेको प्रवाह डट कमले फेला पारेको थियो ( हेर्नुहोस तस्वीर ) । यो गाडी लगायत दर्जनौ मोटर साईकल सडकमै पार्किङ्ग गरिएको थियो । आवागमनमा समेत समस्या परिरहेको थियो । त्यस्तै शान्तिचौतारा, थाप्ले, सिटिजन बैक नजिक, गैरीखाली लगायतका स्थानमा सडकमै सवारी पार्किङ्ग गरिएको पाइन्छ ।