जाजरकोट अस्पताल को यो विजोग

lagu ausadhi biruddha abhiyan jajarkot

 स्वास्थ्यकर्मी,औषधी, उपकरण र पुर्वाधारको अभाव

राजेन्द्र कार्की । जाजरकोट

स्वास्थ्यकर्मीहरु समायोजन भएर जाने तर आउने नभएपछि जाजरकोट अस्पताल स्वास्थ्यकर्मी विहिन हुन थालेको छ । ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा हाल २३ जना मात्र स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । ४२ जना स्वास्थ्यकर्मीको पद रिक्त भएपछि उपचार सेवा ठप्प जस्तै भएको छ ।

सात जना विशेषज्ञ सहितका चिकित्सकको दरबन्दीको ब्यवस्था गरेर ५० शैयाको अस्पताल बनाईएपनि अस्पतालमा करारका केही चिकित्सक बाहेक दरबन्दीका स्वास्थ्यकर्मी छैनन् । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी, औषधी, आवश्यक पुर्वाधार र उपकरणको अभावमा सामान्य उपचारका लागी पनि विरामीहरु जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ । केही दिन अघि प्रदेश सरकारले कर्णालीमा काम गर्ने स्वास्थ्यकर्मीलाई १३५ प्रतिशत सम्म थप प्रोप्साहन रकम दिने निर्णय गरेपनि अस्पतालमा तत्काल स्वास्थ्यकर्मी आउने छाँटकाँट देखिदैन ।

अस्पतालमा कार्यरत डा. औसरसिंह राठौर अस्पतालको अवस्था देख्दा दिक्क लागेर आउने बताउँछन् । उनी भन्छन् ‘न दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छन् । न आवश्यक उपकरण र औषधी नै छ । यस्तो अवस्थामा कसरी काम गर्ने ?’ । विरामीलाई भरपर्दो उपचार सेवा दिन नसकिएको उनी स्वीकार गर्छन । अस्पतालमा एक जना एमडी गरेका सर्जन मात्र हुँदा पनि सानो खालका अप्रेशनहरु गर्न सकिन्छ । तर भर्खर एमविविएस गरेर इन्टर्नसीप गर्न आएका चिकित्सकबाट उपचारको कति अपेक्षा गर्ने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भनिन ‘अस्पतालको पुर्वाधार विकास र जनशक्तिको आपुर्तीको लागी बारम्बार पहल गरेपनि सुनुवाई हुन सकेको छैन ।’

तत्कालीन सरकारले २०७२ सालमा १५ सैयावाट ५० सैयामा स्तरोन्नति गरेको जाजरकोट अस्पताल जनशक्ति र उपकरणको अभावले आफै विरामी जस्तै भएको छ । अस्पताल आफै विरामी जस्तै छ । रोगी जनताको उपचार कसरी हुन्छ ? स्थानिय दीपक खनालले भने स्वास्थ्य चौकीले दिने सेवा जति पनि अस्पतालमा पाईदैन । अस्पतालमा कार्यरत अति न्युन संख्याका स्वास्थ्यकर्मीहरु पनि उपकरण पुर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य चेकजाँच गरेर औषधी दिने र रेफर गर्ने बाहेक अन्य सेवा प्रवाह हुन नसकेको खनालको गुनासो छ । उनले अस्पतालमा औषधीको पनि अभाव भएको र स्वास्थ्यकर्मी पनि नहुँदा उपचार सेवा प्रभावित भएको बताए । जाजरकोट अस्पतालमा उपचार गर्न विरामी लिनुभन्दा भरपर्दो उपचारका लागी सुरुमै जिल्ला वाहिर जानु नै ठीक भएका भेरी नगरपालिका २ का तारालाल रोकायले बताए । ठुलो तामझामका साथ ५० सैया वनाइएको अस्पतालको यो सेवाको अवस्था देख्दा निकै दुख लाग्ने गरेको रोकायको भनाई छ ।

जाजरकोट अस्पतालका मेडिकल अधिकृत डा. भुपेन्द्रप्रकाश मल्ल अस्पताल व्यवस्थापनको जिम्मा लिएकाहरुको चरम लापरवाहि र कमजोरीका कारण अस्पतालको अवस्था नाजुक वन्दै गएको वताए । काम गर्ने स्वास्थ्यकर्मीलाइ समयमै तलव दिने, ओभरटाइम भत्ता दिने तथा अन्य व्यवस्थापकीय कामहरु अस्पताल व्यवस्थापनले गर्न नसकेका कारण हाल उपलव्ध जनशक्तिको पनि सहि प्रयोग हुन नसकेको वताए । अस्पतालमा स्वास्थ्य विमाको औषधी सकिएको, अन्य औषधीको पनि उचित रुपमा आपुर्ति नभएको तथा फारमेसीको औषधी विक्रिवितरणको उचित व्यवस्थापन पनि नभएको भएपनि यस तर्फ व्यवस्थापनले ध्यान नदिएको उनको गुनासो छ ।

कर्णाली प्रदेश सरकारले केहि समय अघि तीनवटा कार्यालयहरु जनस्वास्थ्य, जिल्ला अस्पताल र जिल्ला आयुर्वेदिक औषधालयलाइ एउटै कार्यालय वनाएपछि झन अस्पतालको व्यवस्थापनमा समस्या परेको स्वास्थ्यकर्मीहरु वताउछन् ।अस्पतालको स्तरोन्नति गरेपछि सरकारले आवस्यक उपकरण, विशेषज्ञ डाक्टरको व्यवस्था र पुर्वाधारको निर्माण तथा प्राविधिक जनशक्तिको पुर्ति तर्फ कुनै पहल नगरेपछि जाजरकोट अस्पताल नाम मात्रको अस्पताल भएको छ ।

सुरुमा संघीय सरकार र अहिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा आएको यो अस्पतालमा सवै प्रमुख पदहरु, जरुरी प्राविधिक पदहरु खाली नै रहेको अस्पताल विकास समितिका अध्यक्ष वस्नेतले वताइन् । उनले ५० सैया वनेदेखि ९ जना विशेषज्ञ डाक्टरहरु पुरै खाली भएको तर कहिले काहि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना विशेषज्ञलाइ काजमा खटाएर सेवा दिने गरेको वताइन् । स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिले जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा ब्यवस्थापक, बालरोग, स्त्रीरोग, वेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात जना विशेषज्ञ, तीन जना मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ । त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स ८ मध्य ७ रिक्त छन् । पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिष्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.रविन भुषालले बताए । उनले दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक, स्वास्थ्कर्मी, औषधी, उपकरण र पुर्वाधार अभावमा सेवा प्रवाहमा समस्या भएको बताए । ‘जसले गर्दा नागरिकले अपेक्षा गरे अनुसारको सेवा प्रवाह गर्न सकेका छैनौ’ उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad